काठमाडौं। पछिल्लो केही वर्षदेखि जहाजमा प्रयोग हुने इञ्जिन र पार्टपुर्जा पाउनै मुस्किल हुन थालेको छ। विश्व बजारमा हवाई जहाजमा प्रयोग हुने इञ्जिन र पार्टपुर्जा अभाव भइरहेका बेला त्यसको प्रभाव नेपालमा पनि परेको हो।
खासगरी कोभिड-१९ पछि जहाजको इञ्जिन र पार्टपुर्जा उत्पादन एवं बिक्री वितरण गर्दै आएको क्यानडाको प्राट एण्ड हिटनीले विश्वभर नै आवश्यक इञ्जिन र पार्टपुर्जा दिन सकेको छैन। इञ्जिन समयमै दिन नसकेकाले केही महिनाअघि भारतमा एक निजी एयरलाइन्स कम्पनी बन्द भएको थियो।
नेपालमा पनि सोही कम्पनीमार्फत इञ्जिन आउने गरेको छ। हुन त यहाँ आउने इञ्जिन ब्राण्ड नयाँ भने हुँदैन। ओभरल वा सट्टामा आउने इञ्जिनसमेत आउनका लागि अहिले ३ देखि ६ महिनासम्म कुर्नुपर्ने अवस्था आएको वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिए। समयमै इञ्जिन र पार्टपुर्जा नआउँदा धेरै एयरलाइन्स समस्यामा पर्न थालेको उनले बताए।
‘एकातिर इञ्जिन समयमा नपाउने, पार्टपुर्जा अभाव हुने र पाए पनि अत्याधिक महंगो हुन थालेको छ,’ अध्यक्ष कार्कीले भने, ‘३ सय गुनासम्म सामानको मूल्य बढेको छ। जसको कारणले कम्पनी सञ्चालनका लागि निकै समस्या छ।’
समिट एयरका अकाउन्टेबल म्यानेजरसमेत रहेका कार्कीले जसोतसो जहाज सञ्चालन भइरहेको बताउँदै सरकारी सहयोग नहुने र सहुलियत नपाउने स्थिति आए धेरै जहाज कम्पनी बन्द हुने अवस्थामा पुगेको बताए।
पैसा भुक्तानी गरेको ६ महिनासम्म इञ्जिन नआएकाले यति एयरलाइन्सको एउटा जहाज ग्राउण्डेड भएको छ। एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले इञ्जिन समयमा नआउँदा जहाज ग्राउण्डेड भएको बताए।
‘इञ्जिन मात्र हैन अन्य पार्टपुर्जासमेत पाउन मुस्किल भएको छ,’ प्रवक्ता बर्तौलाले भने, ‘कोभिडपछि सबैभन्दा बढी समस्यामा एयरलाइन्स परेको छ। दोहोरो करको मारमा परेको छ। अर्कोतर्फ डलरको मूल्य बढेर झनै समस्यामा परिरहेका छौँ।’
सरकारले गत वर्षदेखि जहाजको पार्टपुर्जामा समेत भ्याट लगाउँदै आएको छ। यसअघि लागू नभएको पार्टपुर्जा खरिदमा भ्याट लगाएपछि थप समस्या हुँदै आएको एयरलाइन्स सञ्चालकको भनाइ छ। लाखौँको संख्यामा पार्टपुर्जा ल्याउनुपर्ने भएकाले सरकारले यसअघि शून्य प्रतिशतमा सामान ल्याउन दिने गरेको थियो।
गत वर्षदेखि अन्य पार्टपुर्जाकै तुलनामा भ्याट लगाएपछि एयरलाइन्स कम्पनी समस्यामा पर्दै आएका छन्। अर्थ मन्त्रालयबाट भ्याट हटाउने आश्वासन दिए पनि हालसम्म कार्यन्वयनमा नआएको सञ्चालकहरुको गुनासो छ।
बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले इञ्जिन र ल्याडिङ गेयर पाउन मुस्किल हुँदा एयरलाइन्स कम्पनी समस्यामा परिरहेको बताए। ‘कोभिडअघि १ अर्डर गरेको १५ देखि ३० दिनभित्रमा आइपुग्थ्यो,’ प्रवक्ता जोशीले भने, ‘अहिले ५ देखि ७ महिनासम्ममा पनि आउँदैन।’
समयमै सामान नआउँदा भएका जहाज आलो-पालो उडान गर्दा जहाज डिले हुने गरेको उनले बताए। ‘प्राविधिक विषय सर्वसाधारणलाई थाहाँ हुँदैन,’ श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले भने, ‘विश्वव्यापी अभावको समस्या हामीले भोगिरहेका छौँ। यात्रुको गाली पनि खाइरहेका छौँ।’