काठमाडौं। खोटाङको हलेसी बजारमा भएको आगलागीबाट झण्डै साढे ७ करोडको क्षति भएको छ । ग्यास लिक हुँदा सुरू भएको आगोले ७ करोड ३० लाख बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति सुरू भएको आगोले चार वटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको हो ।
आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेका तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चालित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालयलगायत सामग्री जलेर नष्ट हुँदा करिब चार करोड बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईका अनुसार स्थानीय आइराख राईको न्यू–कल्याण होटल, चारतले पक्की घर र घरको पछाडिपट्टि दुई तले काठको घर गरी दुई करोड ५० लाख बराबरको क्षति भएको छ । आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामको ट्रसले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख बराबरको क्षति भएको जनाइएको छ ।
यस्तै आइराख राईको घरसँगै जोडिएको भरणशेर राईको पारूहाङ होटल, चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी ५० लाख बराबरको भएको छ ।
आगलागीमा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनसम्पत्ति तथा भौतिक सामग्री जलेर नष्ट भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।
आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नं वाहिनी हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीयलगायत गरी करिब ५ सय जना खटिएका थिए ।