काठमाडौं। गएको माघ २३ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले डिजिटल वालेटहरुको आधिकारीक कर्मचारी हुँ भन्दै ठगि गर्ने सुभम साहलाई पक्राउ गर्यो। रौतहट घर भई भक्तपुरमा बस्दै आएका २१ वर्षिय साहलाई सीआईबीको टोलीले भक्तपुरबाट पक्राउ गरेको थियो। उनी २०८० मंसिरमा अनलाइन ठगि कसुरमै १० महिना कैद भुक्तान गरी छुटेका व्यक्ति थिए। त्यसपछि पनि उनी चार वटा अनलाइन ठगि मुद्दामा फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
त्यसअघि, माघ १८ गते सीआईबीले गैर–कानूनी अभौतिक मुद्राको संगठित रुपमा कारोबार तथा ठगि गर्ने गिरोहमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गर्यो। माइकल डंगौरा, अनिल विश्वकर्मा, पियुष श्रेष्ठ, आश्विन चौलागाईं, सत्यम कुमार सहनी, रोशन कुमार, मुन्ना कुमारलाई अभौतिक मुद्राको संगठित रुपमा कारोबार तथा अनलाईन स्क्याम गरेको आरोपमा सीआईबीले पक्राउ गरेको थियो जसमा अधिकांश २० देखि ३० उमेर समूहका थिए।
पुस २२ मा त झन् सीआईबीले अवैध कल सेन्टर सञ्चालनमा संलग्न दुई भारतीय नागरिकसहित ५३ जनालाई पक्राउ गरेको थियो। प्रो लिंक टेक सोलुनस प्रालि नामक संस्था दर्ता गरी उनीहरुले कल सेन्टरबाट विभिन्न लटरी (चिट्ठा), ग्ल्याम्बिङ एप्समार्फत् कुराकानी गरी ह्वाट्सएपबाट विभिन्न डिजिटल वालेटको रकम जम्मा गर्न लगाउँने र ठगि गर्ने कार्यमा उनीहरु संलग्न थिए। हुन त, यी केही प्रतिनिधि घटना मात्रै हुन्।

सीआईबीले अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरेको सूची भन्दा अपराधको सञ्जाल पत्ता लगाउन नसकेको जालो ठूलो छ। विभिन्न सामाजिक सञ्जालको माध्यमबाट, उपहारको लोभ देखाएर, वालेट कम्पनीको आधिकारीक व्यक्ति हुँ भन्दै कोड नम्बर मागेर नागरिकको बैंक तथा वालेट खाता खाली गराएका घटना धेरै छन्। दिनहुँ धेरै नागरिक आफू ठगिएको भन्दै गुनासो लिएर प्रहरीकहाँ पुग्ने गर्दछन्।
आफ्नो ठगिएको पैसा फिर्ता गराउन निवेदन दिएको महिनौं बित्दा पनि प्रहरीबाट कुनै खबर नआएको भन्दै गुनासो गर्ने जमात पनि सानो छैन। अपराध संख्या ठुलो भएको र धेरै तहमा ठगि कार्य हुने भएकाले ठगिएको पैसा फिर्ता ल्याउनु तथा सो आपराधिक कार्यमा संलग्न व्यक्ति पक्रनु प्रहरीका लागि पनि निकै कठिन विषय हो। सीआईबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता सुधिरराज शाही डिजिटल अपराध धेरै तहगतरुप (लेयर)मा हुने भएकाले अपराधी पत्ता लगाउन कठिन हुने बताउँछन्।
‘ठगिएको मानिसको पैसा गएको बैंक खाता हेर्दै जाँदा एउटा मानिसको ५० हजार ठगि भएको आधा घण्टामै ७ देखि ८ तहमा पुगिसकेको देखिन्छ। यसरी तहगत ढंगमा हुने भएकाले अपराध पत्ता लगाउन कठिन छ,’ प्रवक्ता शाही भन्छन्, ‘यस कार्यको बीचमा जोडिएका व्यक्तिलाई कस्तो पैसा हो भन्ने थाहासम्म हुँदैन। यस्ता मानिसलाई पक्राउ पर्दामात्रै आपराधिक सञ्जालमा जोडिएको थाहा हुन्छ।’
उनले विभिन्न व्यक्तिले हामीमा लोभ देखाएर, पुरस्कार परेको छ भन्दै त्यो प्राप्त गर्न कर तिर्ने पैसा पठाउन लगाएर ठगि भइरहेको बताए। सानोसानो हिस्सा गर्दै पटकपटक रकम पठाउन लगाएर ठुलो रकम लग्ने गरेको उनको भनाइ छ। यस्तै, साथीले महँगो उपहार पठाएको भन्दै भन्सारबाट सामान छुटाउन पैसा तिर्नुपर्ने देखाउँदै पैसा माग्ने काम पनि धेरै हुने गरेको छ।
कस्ता व्यक्ति बढी ठगिन्छन् ?
पछिल्लो समय नेपालमा मात्रै नभएर विश्वभर नै अनलाइन स्क्याम, बेटिङ तथा अपराधहरु बढेर गएका छन्। खासगरी, कोरोना महामारीपछि हाम्रो नगद कारोबार घट्दै गयो र क्यासलेस कारोबारतर्फ मानिस आकर्षित हुँदै गए। डिजिटल कारोबारमा जाँदा केही सहजता पनि मिल्यो। त्यो बेला नगद चलाउन नपाउँदा डिजिटल कारोबार गर्नुपर्ने बाध्यता पनि मानिसमा थियो।
डिजिटल कारोबारमा अभ्यस्त नभएपनि कोरोना महामारीपछि नेपाल यसतर्फ अगाडि बढ्यो। अन्य मुलुकको तुलनामा छोटो समयमा नेपाल डिजटल कारोबारतर्फ सिफ्ट भएपनि यसको प्रयोगमा अपनाउनुपर्ने सुरक्षा उपाय, अनुशासनको पाटो भने पछाडी नै छुट्यो। अर्थात्, यस पाटोमा हामी निकै कमजोर भयौं। यसैपनि, हिजोका दिनमा मोबाइलसमेत प्रयोग गर्न नजान्नेहरु आजका दिनमा मोबाइल चलाउने मात्र होइन अनलाइन कारोबार नै गर्ने स्थितिमा पुगेका छन्।
आजका दिनमा फेसबुक, टिकटक, सामाजिक सञ्जालहरु प्रयोग नगर्ने समूह सीमित मात्रै छ। यसले मानिसहरु ठगिनलाई सिँढीको काम गरेको प्रवक्ता शाही बताउँछन्। ‘अनलाइन तथा डिजिटल साक्षरता भएका मानिस नै धेरै ठगिएका छन् भने जो साक्षर छैनन् उनीहरु नठगिने कुरै भएन,’ शाही भन्छन्, ‘यसर्थ, डिजिटल साक्षरता बढाउनुपर्ने पाटोमा हामीले धेरै काम गर्नुपर्ने आवश्यक्ता छ। नागरिक ठगिनबाट कसरी बचाउँने भनेर हामीले त्यसमा प्रयास गर्ने तयारी पनि गर्दै छौं।’
उनकाअनुसार हाल डिजिटल कारोबार सम्बन्धि कम साक्षरता भएका व्यक्ति बढी मात्रामा ठगिको सिकार भइरहेका छन्। हुन त, हाम्रोमा सजिलै धेरै पैसा आउँछ भने किन प्रयास नगर्ने भन्ने प्रवृत्ति पनि छ। घर बसीबसी लाखौं लाख कमाइन्छ भने अनलाइनबाट जागिर गरेर पैसा कमिन्छ भने किन दुःख गर्ने? भन्ने सोच मानिसमा देखिन्छ।
यस्ता योजनामा आवेदन दिनेलाई बैंक खातामा जोड्न लगाउने, बैंक खाता खोल्न लगाउने गरेर ठगि गर्ने गरेको सीआईबीको भनाइ छ। यसरी ठग्ने काम गर्ने एउटा समूह हुन्छ भने ठगेर ल्याएर राखेको पैसा अर्को बैंक खातामा जम्मा गरेर अन्य खातामा पठाउन लगाउने समूह अर्को हुन्छ। त्यसपछि पाँच वा दश प्रतिशत राख्दै दएक व्यक्तिले अर्को व्यक्तिको खातामा पैसा पठाउने कार्य निरन्तर आधा दर्जन बढी तहमा चल्ने गर्दछ।
‘अहिले ठगि काम कसरी भइरहेको छ? कसरी अगाडि बढेको छ? भन्ने प्रवृत्ति हेरेर नेपाल टेलिकम र एनसेलसँग मिलेर पनि काम गरेका छौं। तर, ठगिमा नयाँनयाँ प्रक्रिया अपनाउने गरिन्छ,’ शाही भन्छन्, ‘विभिन्न तहमा अर्को मानिसले भनेबमोजिम पैसा अलगअलग खातामा पठाउने काम गर्ने र त्यो पैसा कहाँबाट आयो भनेर बुझ्ने काम गरिँदैन, ठगिबाट आएको पैसा हो भन्ने पनि थाहा नपाई संलग्न रहेका व्यक्ति पनि छन्।’
फेसबुकमार्फत् सर्वाधिक अपराध
साइबर ब्यूरोको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघ २८ गतेसम्ममा मात्रै १० हजार ७०२ वटा साइबर अपराधसम्बन्धी उजुरी परेका छन्। जसमा फेसबुकको ५ हजार ५७०, ह्वाट्सएपको १ हजार ४८४, टिकटकको १ हजार ६१, टेलिग्रामको ९२४ र ईसेवाबाट ठगिएको उजुरी १९७ परेका छन्। यस अवधिमा ५ हजार ८३० पुरुष र ४ हजार ६१४ महिला साइबर अपराधको सिकार भएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा यस्ता साइबर अपराधसम्बन्धि उजुरी ३ हजार ४५१, आर्थिक वर्ष ०७८/७९ मा ३ हजार ८५६, आर्थिक वर्ष ०७९/८० मा ६ हजार ७८२ र आर्थिक वर्ष ०८०/८१ मा १९ हजार ७३० उजुरी परेका थिए। चालू आर्थिक वर्षको माघ २८ सम्ममा कुल १० हजार ७०२ वटा साइबर अपराधसम्बन्धी उजुरी परेपनि मुद्दा दर्ता संख्या भने ५२ वटा मात्रै रहेको छ।
यस्तो मुद्दा दर्ता आर्थिक वर्ष ०७७/७८ मा ८१, आर्थिक वर्ष ०७८/७९ मा १३२, आर्थिक वर्ष ०७९/८० मा १२७ र आर्थिक वर्ष ०८०/८१ मा १०३ मुद्दा दर्ता भएको देखिन्छ। गत आर्थिक वर्ष ०८०/८१ मा कुल १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धि उजुरी परेकोमा सबैभन्दा बढी फेसबुकसँग सम्बन्धित मात्रै १६ हजार ९६ रहेका छन्।
अर्थात्, समग्र सामाजिक सञ्जालबाट हुने अपरोधमा फेसबुकको हिस्सा मात्रै ८० प्रतिशत भन्दा बढी रहेको देखिन्छ। खासगरी, पछिल्लो समय अनलाइन फाइनान्सियल फ्रड पनि निकै बढेर गएको देखिन्छ। चालू आर्थिक वर्षमा मात्रै साइबर ब्युरोले अनलाइन फाइनान्सियल फ्रडबाट ठगी भएको साढे ४ करोड रुपैयाँ रिकभर गरेर फिर्ता गरेको साइबर ब्यूराले जानकारी दिएको छ।