काठमाडौं। अमेरिकाले नेपाल, भारतलगायतका देशलाई उपलब्ध गराउँदै आएको ७५ करोड अमेरिकी डलर (लगभग १ खर्ब २ अर्ब रुपैयाँ) सहायतामा रोक लगाउने निर्णय गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले की सरकारी खर्च घटाउने उद्देश्यले स्थापना गरेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डीओजीई)ले उक्त निर्णय गरेको हो। डीओजीई प्रमुख विश्वकै धनी व्यक्ति एलन मस्क हुन्।
उक्त निर्णयपछि संघीयता र जैविक विविधताका क्षेत्रमा नेपाललाई उपलब्ध गराउँदै आएको करिब साढे ५ अर्ब रुपैयाँ पनि परेको छ।
डीओजीईले नेपालको संघीयताका क्षेत्रमा दुई करोड र जैविक विविधता क्षेत्रमा एक करोड ९० लाख गरी कुल तीन करोड ९० लाख अमेरिकी डलर (लगभग पाँच अर्ब ३९ करोड रुपैयाँ) सहायता रद्द गरिएको जनाएको छ।
डीओजीईले नेपाल, मोजाम्बिक, कम्बोडिया, पराग्वे, सर्विया, माल्डोभा, भारत, बंगलादेश, लाइबेरिया, मालीलगायतका देशलाई उपलब्ध गराउँदै आएको सहायता रद्द गरेको घोषणा गरेको हो।
अमेरिकाले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत सन् २०२२ यता नेपाललाई प्रत्येक वर्ष औसतमा १२ करोड ५० लाख अमेरिकी डलर (करिब १७ अर्ब २९ करोड रुपैयाँ) उपलब्ध गराउँदै आएको छ।
यूएसएआईडीले अनावश्यक रूपमा सहायता उपलब्ध गराउँदै आएको आरोप लगाउँदै राष्ट्रपति भएलगत्तै ट्रम्पले यसबाट दिँदै आइएको सहायता तीन महिनाका लागि रोक्ने आदेश जारी गरिसकेका छन्।–एजेन्सी