काठमाडौं। छोटो समयमै नेपाली बजारमा दर्जनौं विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड भित्रिइसकेका छन्। दुई/तीन वर्षको बीचमा चीन र भारतलगायतका मुलुकबाट तीन दर्जन बढी ईभी ब्रान्ड नेपाली बजारमा भित्रिइसकेका छन्। यो क्रम अझै बढ्दो मात्रामा छ। काठमाडौंका हरेक सोरुममा महिनाको दुई तीनवटा ब्राण्डका गाडी सार्वजनिक भइरहेकै हुन्छन्।
यति सानो मुलुकमा दैनिक जसो प्रतिस्पर्धात्मक रुपमा विद्युतीय सवारी साधान भित्रिरहदा जनसंख्याको हिसाबले कति धान्नला भन्ने प्रश्न उठ्न थालेको छ।
अहिले जुन हिसाबले मानिसहरु ईभी प्रति आकर्षण भएका छन्। अबको तीन वर्षसम्म ईभीको बिक्री एकदम राम्रो हुने दिगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझी बताउँछन्। ‘अहिले मानिसहरु जुन हिसाबले ईभी प्रति आकर्षण भएका छन्। अबको तीन वर्षसम्म यसको बिक्री एकदम राम्रो हुन्छ। कमर्सियल र प्राइभेट दुवैमा मानिसहरु ईभी तिर नै जान थालेका छन्,’ अध्यक्ष रायमाझी भन्छन्, ‘अहिले जति पनि ब्रान्डहरु आयात भएका छन् ती ब्रान्डहरु आफैमा रेगुलेट हुन्छन्। जुन चल्छ त्यो बस्छ कमजोर ब्रान्डहरु बजारबाट विस्थापित हुन्छन्।’
नेपालको अटो बजारमा स्वस्च्छ प्रतिस्पर्धा गर्ने वातावरण सरकारले बनाइदिने हो भने राम्रो चिज रहन्छ। अलिकति कमजोर कम्पनी विस्तारै विस्थापित हुन्छ। यी ब्रान्डहरु सधै यसरी नै रहिरहँदैन। बजारको मागअनुसारका ब्रान्ड मात्र चल्छ। अरु चल्दैन नचलेपछि बन्द हुने रायमाझीको भनाइ छ। ‘सरकारले नीति बनाएर नियमन गरे बजारमा कमजोर ब्रान्डको प्रवेश कम हुने थियो। स्ट्यान्डर्ड मेन्टेन गर्न युरोप, अमेरिका, भारतमा सर्टिफिकेसन सिस्टम छ। हाम्रोमा पनि न्युनतम मापदण्ड तोकेर सर्टिफिकेसन दिएर मात्रै गाडी आयात गर्न दिएमा कम गुणस्तरका सवारीसाधन आउन बन्द हुने थिए।’
हाल नेपालमा ईभी, इन्धन र हाइब्रिड गाडीहरु उपलब्ध छन्। अधिकांश मानिसहरु ईभीमा गएका छन्। आइसीइ गाडीको माग एकदमै कम छ। हाइब्रिडको लागि सरकारले नीति नबनाएको कारण खासै आकर्षण छैन। नेपालमा ईभी भित्रिएको एक दशकभन्दा धेरै भइसक्यो अहिलेसम्म टिकिरहेको छ।
अब टिक्छ टिक्दैन यो सबै समय आएपछि थाहा हुने साइमेक्स इंकको प्रबन्ध निर्देशक यमुना श्रेष्ठ बताउँछिन्। ‘अझै एक दुई वर्ष बजार कता जान्छ भनेर हेर्न बाँकि नै छ। चीन सरकारले अटो कम्पनीहरु मर्जरमा लग्नको लागि नीति बनाउँदै छ भन्ने कुराहरु पनि आइरहेको छ,’ प्रबन्ध निर्देशक श्रेष्ठ भन्छिन्, ‘यदि त्यो नीति आयो भने कम्पनीहरु मर्ज भएर कम ब्रान्डहरु मात्र रहन्छ। जति कम्पनीहरु रहन्छ त्यो बलियो हुन्छ।’
सवारीसाधन चल्न सक्ने आर्थिक क्षमता भएको जनसंख्याको हिसाब पनि सानै छ। अझ सवारीसाधन प्रति आकर्षित हुने मानिसको ठुलै समूह देश बाहिर छ। अधिकांश नेपालीको आर्थिक क्रियाकलाप रेमिट्यान्समा भर परेको छ। राम्रो आम्दानी गर्ने युवा समूह बाहिर हुँदा नेपाली बजार सानो हुनु स्वभाविक नै हो।
बजारको आकारभन्दा धेरै ब्रान्डहरु भित्रिएस्वभावैले थुप्रै ब्रान्ड बाहिरिनु त पर्छ नै, त्यसको असर नेपाली ईभी प्रयोगकर्तामा पर्न सक्ने सम्भावना रहन्छ। कुनै ब्रान्ड छोटो समयमा नै बाहिरिएमा वा बन्द भए त्यस ब्रान्डका सवारीसाधन प्रयोगकर्ता स्वभावैले समस्यामा पर्छन्। त्यसर्थ विद्युतीय ब्रान्ड भित्र्याउन होडबाजी गर्नेहरुले बजारको क्षमता र आकार आँकलन गर्न आवश्यक देखिइसकेको छ।
आर्थिक वर्ष २०७८/७९ मा कुल १ हजार ८०७ युनिट विद्युतीय सवारीसाधन आयात भएकोमा दुई वर्षको अवधिमै ११ हजार ७०१ युनिट ईभी आयात भएको देखिन्छ। चालू आर्थिक वर्षको ६ महिना (साउन देखि पुस) सम्म नेपालमा ५ हजार ४८० युनिट ईभी आयात भएका छन्।
भन्सार विभागको तथ्यांक

नेपालमा ईभी ब्रान्डको लहर
नेपालमा सबैभन्दा धेरै चीनबाट विद्युतीय गाडी आयात हुने गरेको छ। चीनपछि नेपालमा सबैभन्दा धेरै भारतीय ब्रान्डका विद्युतीय गाडी आउने गरेको छ।
चीनबाट मात्र अहिलेसम्म नेपालमा बिवाइडी, सेरेस, ओमोडा, जेक्को, काई, स्काइवेल, वुलिङ, ओरा, निटा, नामी, अवतार, चांगन डिपल, जीएसी एवोन, जिकर, एक्सपेङ, बिएडब्लु ब्रम्बी, हेनरी भोल्ट्स, दायुन, रिडारा आरडी सिक्स, लिपमोटरलगायत करिब २० ईभी ब्रान्डको कार बिक्री वितरण भइरहेको छ। यति मात्र नभई नेपालमा अन्य देशबाट टाटा, हुन्डाई, एमजी, किया, सिट्रोन, निसान लिफ, महेन्द्रालयातका ब्रान्डहरु आउने गरेका छन्।
सुरुवाती समयमा ईभी भित्रिदाँ यसलाई विश्वास गर्ने मान्छे एकदमै कम थिए। सन् २०१२ मा पहिलो पटक महेन्द्राको रेभा नेपाल भित्रिदाँ सवारीसाधन प्रयोगकर्तालाई यसको अवधारणाको बारेमा बुझ्नै मुश्किल थियो। ईभी के हो भन्ने नबुझेकाले एक दशक अघि नै भित्रिए पनि यसले बजार भने खासै लिन सकेन। ईभीलाई नेपालमा विश्वास नगरेकाले अन्य ब्रान्डले ईभी गाडी ल्याउने आँट गरेका थिएनन्।
विगत केही वर्षयता चिनियाँ अटो उत्पादक कम्पनीले विद्युतीय कारको बजारलाई रकेटको गतिमा अघि बढाएपछि विश्वभरका अटो उत्पादक ईभी रेसमा होमिन थालिसकेका छन्।