काठमाडौं। डिजिटल वालेट कम्पनी खल्ती र आईमई पे मर्जमा जाने भएका छन्। दुई कम्पनीबीच आइतबार आपसमा गाभिन सैद्धान्तिक (प्रारम्भिक) सहमति भइसकेको छ। तर, अझै केही प्राविधिक विषय टुंग्याउन बाँकी रहेकाले आधिकारिक रुपमा मर्ज हुन समय लाग्ने जनाइएको छ।
प्रारम्भिक सहमतिअनुसार मर्जपछिको वालेटको नाम ‘आईएमई खल्ती’ राख्ने बताइएको छ। यी दुई कम्पनी मर्ज भएर एकीकृत कारोबार सुरु भएपछि ग्राहक संख्याका आधारमा देशकै ठूलो वालेट बन्ने कम्पनीको दाबी छ।
डिजिटल वालेट आईएमई पे सन् २०१७ मा सुरक्षित भुक्तानीका लागि स्थापना भएको एप भएको छ। आईएमई पेले भुक्तान सेवाहरूको विस्तृत दायरा र वालेटबाट वालेटमा देशभित्र पैसा स्थानान्तरण गर्ने, विभिन्न बिलहरू तिर्ने र अनलाइन वा अफलाइन खरिद गर्ने सुविधा प्रदान गदर्दै आएको छ। सात वर्षको अवधिमा आईएमई पेले करिब ५० लाख प्रयोगकर्ता बनाएको जनाएको छ।
यस्तै, खल्ती पनि नेपालमा मोबाइल वालेट, भुक्तानी गेटवे र सेवा प्रदायक हो। यो कम्पनी पनि सन् २०१७ मा सुरु भएको थियो। यसले प्रयोगकर्तालाई आधारभूत उपयोगिता भुक्तानी, होटल बुकिङ, चलचित्र र घरेलु उडान टिकट, घटना र अन्य धेरै जस्ता सेवाको दायरा भुक्तानी गर्न अनुमति दिन्छ। मोबाइल एप प्रयोगकर्तामा मात्र सीमित नभई खल्तीसँग एक लाख बढी पीओएस र एजेन्ट सञ्जाल छन्।
खासगरी, नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्योट विनियमावली, २०७७ मा संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको छ। उक्त संशोधित विनियमावलीमा भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था उल्लेख छ। सोही व्यवस्था बमोजिम दुई कम्पनी मर्जमा जाने भएका हुन्।