काठमाडौं। सेयर बजारमा १९.५६ अंकको सुधार आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अंकले बढेर २६९८.०३ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से ७.२६ अंकले घटेर २६७८.४७ बिन्दुमा रोकिएको थियो।
गत साताको बुधबार नेप्से १.८६ अंकले र मंगलबार ६.५४ अंकले बढेको थियो। त्यसअघिका पाँच कारोबार दिन बजार लगातार घटेको थियो।
आइतबार नेप्सेमा कुल ९ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्सेमा कुल ७ अर्ब ७४ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो भने बुधबार ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आइतबार विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त, नेपाल फाइनान्स र जानकी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, पोखरा फाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशतले उकालो लाग्दा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। एनएलजी इन्स्योरेन्सको सेयर मूल्यमा पनि ९.५५ प्रतिशतको गिरावट आएको छ।
आइतबार फाइनान्स समूहको सेयर मूल्य सर्वाधिक अर्थात् ४.९४ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह १.९५ र लघुवित्त समूह १.८६ प्रतिशतले बढेको छ।