काठमाडौंं । उपत्यकामा भित्री सानो गल्लीमा एउटा सानो कोठा भाडामा लिदा करिब ५ हजार मूल्य तिर्नुपर्छ । ठूला र खुला एरियामा पाइने कोठाको त सामान्य व्यक्तिको पहँुच भन्दा बढी हुन थालेको छ । काठमाडौ उपत्यकामा काम, पढाइ, व्यवसाय, स्वास्थ्योपचारको खोजी गर्दै मानिसहरु आफ्नो थातथलो छाडेर आउने गर्छन् । तर, सहरका घरबेटीले घरभाडा तिर्ने व्यक्तिलाई अत्यधिक शोषण गरिरहेको छ ।
घर भाडामा बस्ने (डेरावाल) उपभोक्ताले घरबेटीबाट हरेक कुरामा पिडित बन्दै आएका छन् । अर्थात्, घरभाडामा बस्नेहरु झन् सबैतिरबाट ठगिएका छन् । नेपालमा कोठा भाडामा दिने कुनै वैज्ञानिक विधि छैन । घरबेटीले आफूखुसी भाडा तोकी असुली गर्दै आएका छन् ।
अझ कतिपय क्षेत्रमा घरबेटीले सुरुमा केही कम मूल्य राख्ने र लगत्तै उच्च दरमा भाडा बढाउने प्रचलन पनि पर्याप्त छ । यसो गर्दा बल्लतल्ल सामान जोहो गरेर बसेको व्यक्ति तुरुन्तै घर छाडेर जाने अवस्थामा हुँदैन । त्यसको फाइदा उठाउँदै घरबेटीले आफूखुसी गर्दै आएका छन् । कतिपय क्षेत्रमा घरबेटीले भाडासँगै सरकारलाई तिर्ने करसमेत डेरावालसँग लिने गरेका छन् ।
भाडा लिएपछि कर तिर्नुपर्ने दायित्व घरबेटीको हो तर घरबेटीले कर तिर्ने गरेको पाइदैन । मुलुक संघीयतामा गएसँगै घर बहाल कर व्यक्तिगत भए स्थानीय तह र संस्थागत भए केन्द्रले उठाउने व्यवस्था छ । तर, संस्थागत कर संस्थामार्फत असुली हुने गरे पनि व्यक्तिगत कर असुली हुन सकेको छैन । न त यस्तो कर उठाउन स्थानीय तहले नै चासो दिएका छन् ।
कम्तीमा स्थानीय तहले आ–आफ्नो क्षेत्रमा न्यूनतम र अधिकतम भाडा दर कति हुने र कुन क्षेत्रको भाडा, कस्तो कोठाको भाडा कतिसम्म हुने भनेर व्यवस्थित बनाइदिए भाडामा बस्ने उपभोक्ताले राहत महसुस गर्थे । तर, अहिलेसम्म त्यसको कुनै संकेत देखिएको छैन । घर भाडामा पाउनै मुस्किल, पाए अत्यधिक मूल्य, घरमा बसिसेकपछि फेरि बत्ती, पानी, फोहोरको चक्करमा थप रकम घरबेटीलाई बुझाउने पीडाले उपभोक्ता दोहोरो मारमा परेका छन् ।
सामान्य सटर लिएर सानोतिनो व्यवसाय गर्ने उपभोक्ताले लाखौँ भाडा तिरिरहेका छन् । घरभाडाका कारण साना तथा मध्यम व्यवसायी अझ बढी मारमा छन् । उपत्यकामा मात्रै होइन, उपत्यकाबाहिरका ठूला–साना सबै सहरमा अत्यधिक भाडा असुलिइएको छ । घरभाडा तिर्दा व्यवसायी उपभोक्ता हुन् तर तिनै व्यवसायीले घरभाडाको पनि लागत जोडेर वस्तु तथा सेवामा जोड्दा त्यसको प्रत्यक्ष मार आम उपभोक्तामा पर्ने गर्छ ।
दरबारमार्ग क्षेत्रमा प्रतिस्क्वायर फिट १ सय ५० देखि ३ सय रुपैयाँसम्म भाडा रहेको व्यवसायी बताउँछन् । तर, यो कुन आधारमा भाडा तय भएको, कसैलाई थाहा छैन ।
बिजुलीमा ठगि
एकातिर भाडा आफैँमा महँगो छ भने अर्काेतिर पानी, फोहोर र बिजुलीको पैसा घरधनीले छुट्टै असुल्छन् । घरधनीले डेरावालासँग प्रतियुनिट १५ देखि २० रुपैयाँसम्म असुलिरहेका छन् । नेपाल विद्युत् प्राधिकरणले खपतका आधारमा प्रतियुनिट ३ रुपैयाँदेखि १३ रुपैयाँसम्म महसुल लिने गरे पनि घरबेटीले आफूखुसी डेरावालसँग पैसा उठाउने गरेका छन् ।
घरभाडामा बस्नेसँग अत्यधिक विद्युत् महसुल उठाएको उजुरी र गुनासोपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कारबाही गर्ने चेतावनी दिए पनि अहिलेसम्म कुनै घरधनीलाई कारबाही भएको छैन । उसो त, प्राधिकरण आफै“ले विद्युत्को एकाधिकारको फाइदा उठाउँदै शुल्क महँगो बनाएको उपभोक्ताको गुनासो छ ।
पानीकाे छुट्टै शुल्क
त्यसैगरी घरधनीले पानीका लागि पनि धाराको पानीको छुट्टै, पानी तान्ने मेसिनका लागि विद्युत् खपत भन्दै छुट्टै शुल्क लिने गर्छन् । धाराको पानीका लागि ठाउँ हेरीकन प्रतिपरिवार न्यूनतम ५० देखि ३ सय रुपैयाँसम्म र पानी तान्ने विद्युत्का लागि थप न्यूनतम ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म असुल्ने गरेका छन् ।
त्यस्तै, फोहोरका लागि भन्दै न्यूनतम ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म, इन्टरनेट सुविधाका लागि भन्दै थप शुल्क लिने गर्छन् । घरबेटीले लिने शुल्क यस्तो हुन्छ कि उनीहरुले डेरावालसँग लिएको शुल्कले सम्बन्धित घरधनीले तिर्नुपर्ने सबै असुलउपर गरेर पनि फाइदा हुने अवस्था बन्छ । घरबेटीले के गर्न हुने, के गर्न नहुने भन्ने स्थिति नरहँदा उनीहरुको मनोमानी झन्–झन् बढ्दै गएको छ ।
डेरावालको अर्को पीडा हो– ग्यास सिलिन्डर ।
कोठा सरेसँगै ग्यास सिलिन्डर फेर्नुपर्ने बाध्यतामा डेरावाल रहन्छन् । एउटा क्षेत्रमा एउटा नाम (ब्रान्ड) को ग्यास उपभोग गरिरहेका व्यक्तिलाई कोठा सरेर जाँदा त्यो ठाउँमा अर्कै ब्रान्डको ग्यास सिलिन्डर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्छ । एउटा क्षेत्रमा एउटा ब्रान्डको ग्यास सिलिन्डर बिक्री हुन्छ भने अर्को क्षेत्रमा अर्कै ब्रान्ड ।
अनि, उपभोक्ताले पुरानो ब्रान्ड प्रयोग गर्न पुरानै ठाउँमा जानुपर्ने बाध्यता आइलाग्छ, जुन सम्भव हुँदैन । नयाँ ठाउँमा भएको ग्यास सिलिन्डर प्रयोग गर्न साटफेर गर्दा न्यूनतम २ सयदेखि ५ सय रुपैयाँसम्म तिरेर ब्रान्ड फेर्नुपर्ने हुन्छ । र, यो हरेक पटक ठाउँ फेरिएपिच्छे गर्नुपर्ने बाध्यता आइलाग्छ । ग्यास सिलिन्डर सबै एउटै भए पनि ग्यास बिक्रेताले उपभोक्ताको बाध्यता र भावनामाथि खेलवाड गर्दै आएका छन् । तर, सम्बन्धित निकायले यसबारे कहीँ–कतै कुनै कदम चालेको पाइदैन ।