जीवनभरिको आम्दानीको हिस्सा घरजग्गामा हालेपछि भविष्यमा ढुक्क हुन सकिने हुनुपर्छ। घरजग्गा खरिद गर्दाका प्रक्रिया जटिल एवं महत्त्वपूर्ण हुने भइहाले। यसमा सबै कुराको विचार गर्नुपर्छ।
स्थान छनोट
नयाँ घरजग्गा जीवनभरिका लागि हुने हुँदा निर्माणका लागि राम्रो ठाउँ छनोट गर्नुपर्छ। ग्राहकले आफूलाई पायक पर्ने क्षेत्र हेरेर खरिद गर्नु उपयुक्त हुन्छ। कुन क्षेत्र आफूलाई पायक पर्छ, त्यहीअनुसार विचार गर्नुपर्छ। जस्तै, छोराछोरीलाई पढ्न पायक पर्ने विद्यालय, यातायात पहुँच, अस्पताल, अफिस, बैंक, बजार, साथीभाइ स्टमित्रको बसाइँ, समाज, सरकारी सेवालगायत आवश्यक कुरा नजिकै हुनु जरुरी हुन्छ।
आफूले खरिद गर्न लागेको घरजग्गा नजिकको समाज कस्तो खाले छ भन्नेमा पनि निर्भर गर्छ। आफूले खरिद गरेको घरजग्गा धेरै टाढा आफ्नो कार्यस्थल एकातिर र जमिन अर्काे लोकेसनमा भए बिहान-बेलुका आउजाउ गर्न टाढा हुने हुँदा समस्या पर्न सक्छ। अझ भविष्यमा विकासको सम्भावना भएको क्षेत्र रोज्नु झनै राम्रो हुन्छ।
सम्पत्तिको कानुनी अवस्था
कुनै पनि ठाउँमा घरजग्गा किन्दा त्यहाँको कानुनी अवस्था कस्तो छ, त्यो हेर्नुपर्छ। आफूले खरिद गर्न लागेको घरजग्गाको कागजात जाँच गर्नुपर्छ। प्यानल नक्सा, कर दर्ता, घरको प्रमाणपत्र र अन्य कानुनी कागजात सही छन्/छैनन्, त्यो हेर्नु एकदमै महत्त्वपूर्ण छ। घरजग्गा किन्दा चार किल्लाबारे प्रस्ट बुझ्न आवश्यक हुन्छ। यसको कर्जा अवस्था, र कुनै कानुनी विवाद छ कि छैन, त्यो बुझ्नु जरुरी छ।
जग्गा र बाटोको अवस्था
जमिन मात्र किन्दा त्यसको बनोटबारे पनि बुझ्नुपर्छ। घर बनाउन त्यो जमिन बलियो खाले छ कि कमजोर छ, यी कुरामा ध्यान दिनुपर्छ। जग्गा (लो ल्यान्ड) गहिरो ठाउँमा पर्यो भने पानी पसेर डुबान हुन सक्छ।
त्यसैले यो कुरामा विचार पुर्याउनुपर्छ। त्यसपछि त्यहाँको भौतिक र भौगोलिक अवस्था जस्तै, बाटोघाटो, खोलानाला, बस्ती संरचना आदिबारे पहिले नै बुझ्नुपर्छ। कुनै पनि जग्गा खरिद गर्दा बाटोभन्दा कति माथि छ र कति तल छ भन्ने विषयमा ख्याल गर्नुपर्दछ। जग्गा बाटोको सतहभन्दा तल भएको अवस्थामा घर बनाउँदा धेरै खर्च लाग्छ।
जग्गामा ढल निकास व्यवस्था
जग्गा किनेर घर निर्माण गरिसकेपछि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ढल निकास हो। पछिल्लो समय बस्ती बाक्लिँदै गए पनि ढलको व्यवस्था नहुँदा धेरै समस्या भोगिरहेका समाचार आइरहेका छन्। यसले गर्दा कुनै पनि जग्गा खरिद गर्दा बाथरुम, शौचालयबाट जाने पानीको ढल निकास व्यवस्थाबारे ध्यान दिन आवश्यक छ।
पानी र बिजुली आपूर्ति
जग्गा किन्दा आफ्नो जग्गाको वरिपरि पानी र बिजुली व्यवस्था कस्तो छ, त्यसमा ख्याल गर्नुपर्दछ। नियमित पानी आउँछ वा आउँदैन, त्यो बुझ्नु जरुरी छ। भविष्यमा पानी र बिजुलीमा केही समस्या आउने सम्भावना छ वा छैन, यी कुरामा ध्यान दिनुपर्छ।
सुरक्षा र वातावरण
घर कतिको सुरक्षित ठाउँमा छ, त्यो हेर्नु महत्त्वपूर्ण हुन्छ। साथै, त्यहाँको वातावरणको अवस्था कस्तो छ, शान्त र सुरक्षित वातावरणमा छ वा छैन, त्यो पनि महत्त्वपूर्ण हुन्छ। आफूले खरिद गरेको जग्गा कतिको खुल्ला ठाउँमा छ र कति निजी खाले हो। त्यहाँको हावापानी, वातावरण राम्रो छ कि छैन, यी विषयमा ख्याल गर्नुपर्छ।
पुँजीको अवस्था
घरजग्गा किन्दा आफ्नो पुँजीको अवस्था कस्तो छ, त्योअनुसार योजना बनाउनुपर्छ। बजेटअनुसार घरजग्गा किन्दै हो भने अलिकति केही कुरामा सम्झौता गर्नुपर्ने हुन्छ। आर्किटेक्ट डिजाइन, घरको बनावट, वास्तुलगायत विषयमा पनि ध्यान दिनुपर्छ।