काठमाडौं। भौतिक मन्त्रालयले चालू आर्थिकको माघसम्म २८.१५ प्रतिशत बजेट खर्च भएको जनाएको छ। शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री देवेन्द्र दाहालले २८.१५ प्रतिशत बजेट खर्च भएको जनाएका हुन्।
भौतिकले चालू आवका लागि कुल १ खर्ब ५० अर्ब ५३ करोड बजेट प्राप्त गरेको थियो। यस अवधिमा ४१ वटा मोटोरेवल पुल निर्माण, २४४ किलो मिटर दुई लेन सडक र ३०.५८ किमि दुई लेनमाथिका गरी कुल २७६.५८ किमि सडक कालो पत्रे भएको छ।
साथै राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को धेद्रे सुरुङ र पृथ्वी राजमार्गमा पर्ने सिद्धाबा सुरुङ पनि चालु आवको ७ महिनामै ब्रेक थ्रु गर्नु मन्त्रालयको उपलब्धिका रुपमा राखिएको छ।
त्यस्तै, राष्ट्रिय सडक सञ्जालमा हुम्लाको सिमिकोट जोफ्नलाई खार्पुनाथस्थित चुवा खोलामा बेलिबृज जडान गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। गत असोजको बढीबाट क्षति पुगेका ५ स्थानमा बेलिबृज जडान भइसकेको र ४ स्थानमा बेलिबृज जडानको तयारी भइरहेको मन्त्री दाहालले बताएका छन्।
चालू आर्थिक वर्षको माघसम्म १ लाख ६९ हजार ४३९ वटा लाइसेन्सको स्मार्ट कार्ड प्रीन्ट गरी वितरण भएको पनि मन्त्रालयले जनाएको छ। यातायात व्यवस्था नियमावली संशोधन गरी सबै प्रदेशले चिप वा क्यूआर भएको लाइसेन्स उपलब्ध गराउनुपर्ने नियम बनाइएको छ। जसका लागि देशभरीको सवारी लाइसेन्समा एउटै मापदण्ड बनाउन ‘स्टाण्डर्ड आर्ट वर्क’ डिजाइन प्रक्रिया अघि बढेको भौतिक मन्त्री दाहालले बताएका छन्।
नेपालमा पानीजहाज चलाउन विभिन्न देशमा पानीजहाजमा काम गरिरहेका नेपालीहरूको तथ्यांक संकलनका लागी एउटा वेब एप्लिकेसनको परामर्शदातासँग सम्झौता भई कार्यादेश दिएको पनि उनले बताए।
गत वर्षको भुक्तानी सकियो
भौतिक मन्त्री देवेन्द्र दाहालले गत वर्षको भुक्तानी सकिएर चालू वर्षको मात्रै बाँकी रहेको ताएका छन्। आर्थिक वर्ष २०८०/८१ को १५ अर्ब बढी भुक्तानी दायित्व चालू आर्थिक वर्षमा सरेको थियो।
जसमा सबै भुक्तानी भएर अब चालू आर्थिक वर्षको दायित्व मात्रै भौतिक मन्त्रालयमा बाँकी रहेको मन्त्री दाहालले बताएका छन्। तर, चालू आर्थिक वर्ष मन्त्रालयमा सिर्जना भएको दायित्व कति छ भन्ने मन्त्रीले प्रष्ट पारेका छैनन्।