काठमाडौं। पर्यटकका लागि समय समयमा नयाँ एड्भेञ्चर पस्किरहेको द क्लिफले ‘भ्यालेन्टाइन्स डे’को अवसरमा ट्यान्डम (दुई जनासँगै खेल्न मिल्ने) बञ्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ।
प्रेमिल महिना फेब्रुअरीभर एड्भेञ्चरतर्फ ट्याण्डम स्विङ, स्काई साइकल, स्काई क्याफे र रिसोर्टतर्फ कटेज रुममा २० प्रतिशत छुट उपलब्ध भएको जनाइएको छ।
स्विङ गर्दा जोडीले सँगै खेल्ने सुविधापहिले भए पनि बञ्जीमा नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए। ‘अब पर्यटकहरुले आफूले चाहेको व्यक्तिसँग अंगालो मारेर बञ्जी गर्न सक्नु हुन्छ,’ कार्की थप्छन्, ‘यसले डर कम गराई आत्मविश्वास बढाउने र थप आत्मीय अनुभव गराउने छ।’
ट्यान्डम बञ्जी खेल्न १३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ। फोटो भिडियो र २ वटा बञ्जी टिसर्टको थप २ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। २५५ मिटर अग्लो मेगाट्रोलको लम्बाई १२ सय २८ मिटर छ।
यसमा एकैपटक तीन जनासम्म खेल्न सकिन्छ। एक्लै वा जोडीसँगै पनि खेल्न सकिने र मेगाट्रोलको गति प्रतिघण्टा १४० किलोमिटरको हुनेछ।
मेगाट्रोल खेल्न प्रतिव्यक्ति ४ हजार रुपैयाँ लाग्ने छ। ट्याण्डम (जोडी) खेल्दा ७ हजार रुपैयाँ र तीन जना खेल्दा ९ हजार ५ सय शुल्क तोकिएको छ। टिसर्ट र भिडियो प्याकेजको थप शुल्क लाग्ने छ।
‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ,’ कार्कीले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल भ्यालेन्टाइन्स डेको मौका पारेर सुरु गरेका छौँ।’
पोखरास्थित ‘द क्लिफ’को काउन्टरबाट बुकिङ गर्नेले हजार रुपैयाँमा पोखरादेखि कुश्मासम्मको दुईतर्फी यातायात सुविधासमेत पाउने जनाइएको छ।