काठमाडौं । नेपाली बजारमा कुनै समय निकै नै चर्चित बनेको निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण नेपाल भित्रिएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान म्याग्नाइट फेसलिफ्ट उपलब्ध गराउने चर्चा चलिरहेको समयमा यो देखिएको हो ।
पायोनियर मोटोकर्पले यसको लञ्चिङ समयबारे भने आधिकारिक जानकारी दिएको छैन । अहिले यसको परीक्षण भईरहेको मोटोकर्पले जानकारी दिएको छ । वितरकका अनुसार फेब्रुअरी महिना भित्रै लञ्च हुने अनुमान गरिएको छ ।
नेपाली सडकमा पहिले पनि प्रशस्तै निसान म्याग्नाइट उपलब्ध छन् । अब अझै सुधारिएको भर्सनको रुपमा यसको फेसलिफ्ट भर्सन आइपुगेको हो । यसको ग्रिल र क्रोम वरिपरि पुन डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश गरिएको छ । यसका साथै यसमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल नयाँ डिजाइनको छ भने फ्रन्ट फग ल्याम्प पनि नयाँ डिजाइनको छ ।
यसको इन्टेरियरमा धेरै परिवर्तन गरिएको छ । यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रङको थिम दिइएको छ । यसको ड्यासबोर्ड लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि(फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न छ ।
यसमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश छ । सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ ।
यसमा १ लिटर नेचुरल्ली एस्पिरटेड पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिन विकल्प छ । यसको १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । योसँगै १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध हुने भेरिएन्टको वारेमा समेत कम्पनीले हाल जानकारी सार्वजनिक गरेको छैन । यसको मूल्य समेत पछि सार्वजनिक हुनेछ ।