काठमाडौं। लामो समयदेखि अल्झिएको र विवादित हुँदै आएको चक्रपथ विस्तार दोस्रो खण्डको काम अघि बढाउन चिनियाँ (इन्जिनियर) प्राविधिक टोली नेपाल आएको छ। बुधबार नेपाल आएको ४ जना प्राविधिकको टोली बिहीबारबाट स्थलगत अध्ययन सुरु गरेको हो। उक्त प्राविधिक टोलीलाई सहजीकरण गर्न नेपाललाई पत्रसमेत पठाएको छ।
सडक विभाग मातहतको चक्रपथ विस्तर आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार फागुन १ गतेबाट ४ गतेसम्म स्थलगत अध्ययन गर्ने गरी ४ जना प्राविधिक नेपाल आएका हुन्। चीन सरकारले चक्रपथ विस्तारका लागि ठेक्का आह्वान गर्न लागेको छ। जसका लागि डिजाइन बनाउन प्राविधिकको समूहले स्थलगत अध्ययन सुरु गरेको हो। ‘निर्माण सुरु गरिहाल्ने गरी अहिले आएका होइनन्, त्यसका लागि डिजाइन बनाउन स्थलगत अध्ययनमा आएका हुन्’ आयोजना प्रमुख ओझाले भने।
कलंकी-बसुन्धरा ८.२ मिलोमिटर खण्ड ८ लेनमा विस्तारको तयारी छ। चीन सरकारले अनुदान सहयोगमा बनाइदिन लागेको उक्त खण्ड लामो समयदेखि अलपत्र पर्दा यात्रुले सास्ती भोग्दै आएका छन्। काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले गत जेठ १२ गते चक्रपथ अलपत्र हुँदा फोहोर थुप्रिएको र त्यसलाई निर्माण गर्न संघ सरकारले सक्रियता नदेखाएको भन्दै सडक विभागको गेटमा फोहोर फालेका थिए।
साथै माघमा पर्ने चिनियाँ नयाँ वर्ष मनाउन ठमेलमा नदिई अलपत्र चक्रपथमा जानु भन्ने जवाफ चीनलाई दिएका थिए। जसले गर्दा चक्रपथ दोस्रो खण्ड विस्तार पेचिलो बन्दै गएको छ। तर, चीनले ऋण दिएर नभइ पूर्ण रुपमा अनुदान दिने भएकाले ढिलाई भएपनि पर्खिदै काम गर्नु परेको भनाइ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छ।
४ जनाको प्रविधिक टोलीलले स्थालगत अध्ययन गरेर चीन फर्किएपछि निर्माणका लागि ठेक्का आह्वान हुन्छ। ठेक्का पाएको निर्माण कम्पनीले डिजाइन तयारी तथा निर्माण गर्ने छ। अध्ययन गरेर डिजाइन तयार गर्न कम्तीमा पनि ६ महिना समय लाग्ने प्रमुख ओझाको भनाइ छ। उक्त डिजाइन स्वीकृत नेपालले गरेपछि मात्रै चीनले विस्तारको काम अघि बढाउन मिल्छ।
डिजाइन तयारी र स्वीकृत हुँदा अबको एक वर्ष लाग्ने अनुमान भौतिक मन्त्रालयको छ। अर्थात् नियमित काम भएमा २०८२ मंसिर/पुसपछि मात्रै चक्रपथ विस्तारको काम सुरु हुन्छ। तर, यो विषयमा चीनले ठोस जवाफ दिइसकेको छैन। जसले गर्दा छिट्टै वा अझै समय लम्बिन पनि सक्छ।
साइट क्लियरेन्स सकिँदै
चीनले अनुदान सहयोगमा सडक विस्तार गरे पनि साइट क्लियरेन्सको जिम्मेवारी नेपालकै हो। सोहीअनुसार कलंकी-बसुन्धरा क्षेत्रमा साइट क्लियरेन्स तथा फुटपाथ निर्माणको काम अन्तिम चरणमा पुगेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ। २०८२ असारसम्म नेपालले गर्ने कम सबै सकिने दाबी आयोजनाको छ।
सडक विस्तार गर्दा स्वयम्भु क्षेत्रमा ‘सर्भिस लेन’ बनाउन त्यहाँका केही सम्पदा भत्काउनु पर्ने देखिएको थियो। तर, सम्पदा प्रेमिहरुले सम्पदा मास्न नहुने अडान लिएपछि त्यहाँ सर्भिस लेन नबनाइ सडक विस्तार मात्रै हुने भएको छ।
हालसम्म डिजायन तयार नभएकाले चक्रपथ विस्तार गर्न कति खर्च लाग्ने भन्ने प्रष्ट भइसकेको छैन। यद्यपि लागत थाहा भए पनि चीनले नेपाललाई प्रष्ट जवाफ नदिन सक्छ। किनकि अनुदान सहयोगमा निर्माण गर्ने भएकाले लागतको पूर्ण जानकारी नेपालले प्राप्त गर्नैपर्छ भन्ने हुँदैन। यसअघि कोटेश्वर-कलंकी खण्डको विस्तार पनि चीनले अनुदान सहयोगमै गरेको थियो।