काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सुरु भएको छ। संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते आउने बजेटका लागि अहिले अर्थमन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ।
बजेट निर्माणको प्रारम्भिक तयारी भइरहँदा अर्थमन्त्री विष्णु पौडेलले अर्थसचिवदेखि विभिन्न विभागमा प्रमुख हेरफेर गरेका छन्। ६ महिनाअघि आफैले रोजेर अर्थसचिवमा ल्याएका डा. रामप्रसाद घिमिरेलाई हटाएर घनश्याम उपाध्यायलाई ल्याए।
मुलुकको अर्थतन्त्र नाजुक अवस्थाबाट विस्तारै लय समात्न लागेको दाबी गरिरहेको अर्थ मन्त्रालयले आगामी बजेट निर्माणको क्रममा अर्थसचिवलाई परिवर्तन गरेका हुन्। अर्थसचिवको हेरफेरपछि अर्थमन्त्री पौडेलले किन यस्तो गरे?, किन चित्त बुझेन भन्ने प्रश्न उठिरहेको छ।
तर, अर्थमन्त्री त्यतिमा मात्र अडिएनन्। मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै एकसाथ १४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरे। अर्थ मन्त्रालय मातहतमा रहेको भन्सार विभाग र राजश्व विभागमा समेत महानिर्देशक परिवर्तन गरे।
‘मन्त्री ज्यूले आफ्नो कामको स्प्रिट बढाउन टिम हेरेफेर गर्नुभएको हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘गठबन्धनको भावनाअनुसार बजेट निर्माण र कार्यन्वयनका लागि अहिलेको यो कदम चालिएको हो।’
बजेट निर्माणका लागि अहिले सुझाव लिने काम सुरु भइसकेको छ। यद्यपि, बजेट निर्माणको जिम्मा कसलाई दिने भन्ने टुंगो लिइसकेको छैन। सम्भवत अहिले जिम्मेवारी पाएकाबाटै बजेट लेखनको जिम्मेवारी पाउने छन्।
‘अर्थतन्त्र सुधारका लागि भन्दै सरकारले अध्यादेशमार्फत विभिन्न ऐन संशोधन गरेको छ। ती संशोधित ऐन कार्यन्वयन गर्ने काम अर्थ मन्त्रालयसहित सम्बन्धित मन्त्रालय र विभागको हुन्छ। त्यसैले आफ्नो भावनाअनुसारको काम गर्नेको खोजीमा अर्थमन्त्री लागिरहँदा यो टिम परिवर्तन भएको हो,’ ती अधिकारीले भने।
चालू आर्थिक वर्षको बजेट अर्थमन्त्री पौडेलले बनाएका हैनन्। पूर्व अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट कार्यन्वयन गरिरहेका अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेट आफू अनुकुल बनाउन खोजिरहेका छन्। ‘लोकप्रियताभन्दा व्यवहारिक र समयसापेक्ष बजेट बनाउन लागिरहेकाले पनि आफू अनुकूलको बजेट बनाउने टिमको खोजीमा मन्त्री ज्यू लाग्नु भएको छ,’ अर्थमन्त्री निकट ती अधिकारीले भने, ‘सम्भवत, अब उहाँको चाहना पूरा भएको छ, द्रुत गतिमा काम सुरु गर्नुहुन्छ।’
‘बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाउनुपर्ने हुन्छ। ती कार्यविधि कतिपय अवस्थामा कर्मचारीले ढिलाई गरेकाले कार्यन्वयनमा समस्या आइरहेको हुन्छ। त्यसैले अब आउने बजेट निर्माणदेखि नै कडाई गर्दै कार्यन्वयनका लागि आवश्यक समन्वय प्रभावकारी ढंगबाट गर्ने कर्मचारीको खोजीमा मन्त्री ज्यू लागिपरेको देखिन्छ,’ अर्थ मन्त्रालय श्रोतले भन्यो।
गठबन्धनको दबाब ‘प्रभावकारी बजेट’ निर्माणको चुनौती
मुलुकको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले आगामी बजेट कस्तो बनाउला भन्ने सबैको चासो छ। खासगरी खस्किदै गएको अर्थतन्त्र सुधारका लागि आउने बजेट अचुकको रुपमा धेरैले लिएका छन्। त्यसैले पनि जनभावना अनुसारको बजेट निर्माण गर्नुपर्ने दबाब अर्थमन्त्री पौडेललाई छ।
दुई ठूला दलको भावना र चाहनाअनुसारको बजेट निर्माण गर्न चुनौती रहेकाले सामना गर्न सक्ने खालको टिम अर्थमन्त्रीले बनाउन चाहेको अर्थ मन्त्रालय श्रोतको भनाइ छ।
यसअघि बनेका बजेट सुन्दा लोकप्रिय भए पनि कार्यन्वयन गर्न नसक्ने खालको आइरहेको बेला अब आउने बजेट प्रभावकारी बनाउने ध्यान अर्थमन्त्रीको छ।