काठमाडौं। बुधबार दिउँसो बबरमहल क्षेत्रमा फुटेको खानेपानीको पाइप मर्मत भएको छ। मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइको ४ सय एमएमको पाइप नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्ने क्रममा फुटेको थियो।
उक्त पाइप मर्मतको काम सकिएर परीक्षणका लागि तयारी सुरु भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राईले बताए। ‘साँझमा फुटेको पाइप मर्मतको काम सकियो, अब परीक्षण सफल भए आजै धारामा पानी पठाउँछौँ,’ उनले भने।
यदि, अन्य ठाउँका पाइपमा समस्या देखियो भने त्यहाँ पनि मर्मत हुने प्रवक्ता राईको भनाइ छ। बबरमहलमा पाइप फुट्दा नयाँ बानेश्वर, डिल्लीबजार, शंखमूल, अनामनगर, बबरमहल क्षेत्रमा पानी वितरण प्रभावित भएको छ। मर्मतको काम केयूकेएल विद्युत प्राधिकरणका प्राविधिकले गरेका हुन्। तर, खर्च भने प्राधिकरणले बेहोर्नुपर्ने हुन्छ।
हाल मर्मतका लागि केयूकेएलमै भएको पाइप प्रयोग गरिएको छ। खानेपानी फुट्दा कति क्षति भयो र मर्मतका लागि कति रकम लाग्यो भन्ने विवरण संकलन गर्न २/४ दिन लाग्ने प्रवक्ता राईले बताए।
यसैबीच सडक डिभिजन काठमाडौंले भत्किएको सडक मर्मत गर्न केयुकेएललाई पत्र पठाएको छ। जमिनमुनिको पाइप फुट्दा बबरमहलमा सडक भासिएर यातायात सेवा प्रभावित भएको छ। केयूकेएल मातहतको पाइपबाट पानी निस्किएर सडक भासिएकाले मर्मतका लागि उसलाई भनिएको सडक डिभिजन काठमाडौंले जनाएको छ।