तनहुँ। जिल्लाको प्रसिद्ध देवघाटधाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार सम्पन्न भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको महामहोत्सव सकिएको हो।
विश्व जागरण महाअभियान ट्रष्ट चितवनको आयोजनामा भएको महामहोत्सवको देवघाटस्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले समापन गरेका हुन्। उनले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महामहोत्सव सफल भएको बताए।
देवघाट मुलुकको महत्वपूर्ण धार्मिक तीर्थस्थल भएकाले यज्ञयज्ञादी पर्व आयोजना भइराख्नुपर्नेमा स्वामी आत्मानन्दले जोड दिए। विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक भागवत् कथा वाचक ईश्वरकृष्ण महाराजले भक्तजनको माया, स्नेह र सहयोगले महामहोत्सव एक महिनासम्म सञ्चालन गर्न सहयोग र हौसला मिलेको बताए।
उनले महामहोत्सवबाट संकलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने जानकारी दिए। ईश्वरकृष्ण महाराजको संकल्पमा तनहुँको देवघाट गाउँपालिका ५ मा निर्माणाधीन ३६५ कोठाको मातापिता सेवा आश्रमले पूर्णता दिन र सोही स्थानमा रहेको देवघाट दिव्यधाम निर्माण गर्न रकम संकलन गर्ने उद्देश्यले महामहोत्सव आयोजना गरिएको हो।
उक्त महामहोत्सव २५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन गरेका विश्व जागरण महाअभियान ट्रष्टले दाबी गरेको छ। महोत्सव अवधिभर २० करोडभन्दा बढी रकम संकलन भएको जनाउँदै आम्दानी र खर्च यथाशीघ्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने ईश्वरकृष्ण महाराजले उल्लेख गरे।
वृद्धवृद्धा र असहायका लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले मातापिता सेवा आश्रम निर्माणाधीन छ। महामहोत्सवमा संघीय सरकारका मन्त्री, गण्डकी तथा बागमती प्रदेश सरकारका मन्त्री, प्रमुख राजनीतिक दलका सभापति तथा वरिष्ठ नेता , प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सांसद, विभिन्न उच्च पदस्थ प्रशासक तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो।