काठमाडौं। कुनै समय लङटर्म लगानीका लागि उपयुक्त मानिने बैंकिङ समूह केही वर्षयता लगानीकर्ताको प्राथमिकतामा पर्न छोडेको छ। बैंकहरुले वितरण गर्ने प्रतिफल संकुचित बन्दै जाँदा त्यसतर्फ लगानीकर्ताको आकर्षण घटेर गएको हो।
बैंकिङ समूह नचलेपछि हाल विकास बैंक, फाइनान्स र लघुवित्त समूह बजारमा बढी मात्रामा चलिरहेका छन्। सर्टटर्म कारोबार गर्नेहरुले यी र यस्तै समूहका कम्पनीको सेयर खरिदबिक्री बढी मात्रामा गरिरहेका छन्।
सरकारको प्राथमिकतामा पर्दै गएका कारण जलविद्युत् समूहप्रति पनि लगानीकर्ता सकारात्मक नै देखिन्छ। तुलनात्मक रुपमा हेर्ने हो भने हाल अन्य समूहको तुलनामा जलविद्युत् समूह राम्रो अवस्थामा देखिन्छ। त्यसैले पनि जलविद्युत् समूह लगानीकर्ताको रोजाईमा परेर बसेको छ। तर, पछिल्लो समय यीबाहेक लगानीका लागि बिमा कम्पनीलाई पनि लगानीकर्ताले विकल्पको रुपमा हेरेको देखिन्छ।
बिमा समूहको अवस्था सन्तोषजनक रहेको र यस क्षेत्रको दायरा विस्तारको ठाउँ पनि धेरै रहेकाले लगानीकर्ताले बिमा समूहलाई आफ्नो लङटर्म लगानीको विकल्पको रुपमा हेरेका हुन्। अन्य समूहको तुलनामा हाल बिमा समूहको इन्डेक्स हेर्ने हो भने पनि राम्रै अवस्थामा छ।
एक वर्षअघि २०८० माघ २९ मा जीवन बिमा समूह इन्डेक्स १०,६८२ बिन्दुमा रहेकोमा त्यसबाट बढेर २०८१ साउन २९ मा आईपुग्दा नेप्से परिसूचक तीन हजार विन्दुमा हुँदा जीवन बिमा इन्डेक्स १४,८३८ विन्दुमा थियो।
हाल माघ ३० गते नेप्से २६८५.७३ बिन्दुमा हुँदा जीवनमा बिमा इन्डेक्स १३,०३८ बिन्दुमा छ। यस्तै, एक वर्ष अगाडि २०८० माघ २९ मा निर्जीवन बिमा इन्डेक्स १०,९८६ विन्दुमा थियो। यसबाट बढेर २०८१ साउन २९ मा नेप्से परिसूचक तीन हजार विन्दुमा हुँदा निर्जीवन बिमा इन्डेक्स १४,१२४ बिन्दुमा पुग्यो। हाल माघ ३० गतेसम्म आइपुग्दा निर्जीवन बिमा इन्डेक्स १२,९७७ बिन्दुमा छ।
साउन २९ मा तीन हजार विन्दुमा रहेको नेप्से हाल घटेर २६८५ विन्दुमा हुँदा पनि बिमा समूह इन्डेक्समा ठूलो गिरावट आएको देखिँदैन। बिमा समूहको आगामी बजार सम्भावना सकारात्मक रहेका कारण पनि यस क्षेत्रलाई लगानीकर्ताले सहज ढंगमा हेरेको नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बताउँछन्। देशको अझै ठुलो जनसंख्यामा बिमा पहुँच पुर्याउन आवश्यक भएको र दायरा विस्ताको क्षेत्र पनि ठुलो रहेका कारण बिमा समूहमा प्रयाप्त सम्भावना रहेको उनको तर्क छ।
‘तुलनात्मक रुपमा जोखिम कम देखिएको बिमा क्षेत्र पनि राम्रो देखिएको छ। उनीहरुको आम्दानी पनि राम्रो छ भने बिमाको दायरा विस्तार हुने क्षेत्र ठुलो छ,’ अध्यक्ष पाण्डेले भने, ‘अहिले पनि लो क्यापका अर्थात् चार पाँच सय मूल्य भएका बिमा कम्पनी पनि धेरै छन्। सेयरमा लगानी गर्नेका लागि बिमा समूह पनि अहिले उचित देखिन्छ।’ उनले बिमा कम्पनीहरुको व्यवसाय क्षेत्र ठुलो रहेको र आम्दानी गर्ने सम्भावना पनि बढी भएका कारण लगानीकर्ताले विकल्पको रुपमा हेरेको बताए।
अधिकांश बिमा कम्पनीको सेयर मूल्य ७ सयभन्दा कम
अहिले पनि बिमा समूहमा सस्ता मूल्यका कम्पनी भएकाले लगानीकर्ताले यसमा विचार गर्न सक्ने ठाउँ रहेको पाण्डेको भनाइ छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार निर्जीवन बिमा समूहका कम्पनीमा राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य १४,५०० रुपैयाँ, नेपाल इन्स्योरेन्सको १,००० रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १,१४० र प्रभु इन्स्योरेन्सको १,००२ रुपैयाँ प्रतिकित्ता छ। यस समूहका सबैजसो कम्पनीको सेयर मूल्य ६०० देखि ७०० रुपैयाँ हाराहारीमा रहेको देखिन्छ।
यस्तै, जीवन बिमा समूहमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को सेयर मूल्य ११२७ रुपैयाँ रहेपनि यसबाहेक अधिकांशको सेयर मूल्य ७०० रुपैयाँ हाराहारी छ। जसमा पनि आधा दर्जन कम्पनीको सेयर मूल्य त झनै ५०० रुपैयाँ प्रतिकित्ताभन्दा कम छ।
गार्डीयन माइक्रो लाइफको ४४०, सानिमा रिलायन्स लाइफको ४२५, आईएमई लाइफ इन्स्योरेन्सको ४९७, हिमालयन लाइफ इन्स्योरेन्सको ४१४ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४५१ रुपैयाँ प्रतिकित्तामा मात्रै कारोबार भइरहेको छ।
बिमा कम्पनीको वित्तीय स्थिति
चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नेप्सेमा सूचीकृत १२ निर्जीवन बिमा कम्पनीहरुले १ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा भने निर्जीवन बिमा कम्पनीले ३ अर्ब ९ करोड बढी नाफा कमाएका थिए। पुस मसान्तसम्म आइपुग्दा निर्जीवन बिमा कम्पनीहरुको औसत प्रतिसेयर आम्दानी २१.९८ रुपैयाँमा सीमित भएको छ।
गत वर्षको यसैअवधिमा यस्तो औसत प्रतिसेयर आम्दानी ३२.५७ रुपैयाँ थियो। पुससम्ममा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी रहेको राष्ट्रिय बिमा कम्पनीको १३० रुपैयाँ रहेको देखिन्छ। छ महिनामा निर्जीवन बिमा कम्पनीले ६ अर्ब ११ करोडरुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका छन् जबकि, गत वर्षको सोहीअवधिमा यस्तो खुद बिमा शुल्क ५ अर्ब ६४ करोड रुपैयाँ थियो।
जीवन बिमातर्फ दोस्रो त्रैमाससम्ममा जीवन बिमा कम्पनीहरुले कुल ३ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएका छन् जबकि, गत आर्थिक वर्षको सोही अवधिको यस्तो नाफा ३ अर्ब ३ करोड रुपैयाँ थियो। यस अवधिमा निर्जीवन बिमा कम्पनीको नाफा घटेपनि जीवन बिमा कम्पनीले आर्जन गरेको नाफा भने १४ प्रतिशतले बढेको देखिन्छ।
यस अवधिमा नेपाल लाइफले ४६ करोड ८१ लाख, हिमालयन लाइफले ३७ करोड ६२ लाख, रिलायबल नेपाल लाइफले ३५ करोड ३ लाख, सन नेपाल लाइफले २८ करोड २२ लाख, नेशनल लाइफले २७ करोड ९१ लाख, आईएमई लाइफले २६ करोड ७८ लाख र एसिएन लाइफले २५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
लगानीकर्तालाई वितरीत प्रतिफल
बुधबार मात्रै आईएमई लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। दुई कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयर धनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्। आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले ८.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
गत आर्थिक २०८०/८१ को मुनाफाबाट सानिमा जीआईसी इन्स्योरेन्सले ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कर सहित ३० प्रतिशत नगद लाभांश, शिखर इन्स्योरेन्सले १० प्रतिशत, हिमालयन लाइफले १४ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्स २१.०५ सुर्यज्योति लाइफ इनस्योरेन्सले २० प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेका छन्।
आर्थिक वर्ष २०७९/८० को नाफाबाट भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद, नेपाल इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद, एनएलजी इन्स्योरेन्सले ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत, यूनाइटेड अजोड इन्स्योरेन्सले १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद दिएका थिए।
यस्तै, आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सूर्यज्योति लाइफले ३५ प्रतिशत, आईएमई लाइफ इन्स्योरेन्सले २६.३२, सन नेपाल लाइफले २५.०५ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्स २१.०५, सानिमा रिलायन्सले १८.३८ प्रतिशत, रिलायबल नेपाल लाइफले १६.८४ प्रतिशत, नेशनल फाइफ इन्स्योरेन्सले १४ प्रतिशत, हिमालयन लाइफले १४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स १०.५३ प्रतिशत, एसिएन लाइफ इन्स्योरेन्सले ८.१६ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सले ५.२६ प्रतिशत लाभांश दिएका थिए।