काठमाडौं। बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा कानुनी र विश्वसनीय ढंगले गर्नुपर्ने बारेमा छलफल भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा आयोजित बैंक तथा वित्तीय संस्थाका प्रादेशिक प्रमुख तथा प्रतिनिधिसँगको अन्तरसंवाद कार्यक्रमका वक्ताले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा देखावटी रूपमा मात्रै नभएर विश्वसनीय ढंगले गर्नुपर्ने बताएका हुन्।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने बताए।
'धितो स्वीकार गर्ने बेला ५० लाख मूल्यांकन भएको सम्पत्ति लिलाम गर्नुपर्दा भने २८–३० लाख मूल्यांकन गर्ने प्रक्रियालाई सुधार गर्न जरुरी भइसकेको छ,' उनले भने, 'धितो स्वीकार गर्दा इञ्जिनियरसहितको प्रयोग गरेको देखिन्छ तर, लिलाम गर्दा सो प्रक्रिया किन नअपनाइएको होरु यो विषयमा पनि सुधार गर्न आवश्यक भइसकेको छ।'
नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेलले बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहमा मात्रै ध्यान नदिएर ऋण दिएपछि पनि ऋणीको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए। वीरगञ्ज बैंक तथा वित्तीय संस्था समूहका संयोजक रोहिणी आचार्यले राष्ट्र बैंकको नीति र निर्देशिका अनुसार सञ्चालन हुँदै आइएको बताएका थिए।
नेपाल राष्ट्र बैंक वीरगञ्जका सहायक निर्देशक नरेशकुमार सर्राफले पछिल्लो समय ऋण असुलीमा चुनौती थपिँदै गइरहेको बताए। 'बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलामी गर्दा पारदर्शिता अपनाउनु पर्दछ,' उनले भने।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले प्रहरीमा पछिल्लो समय आर्थिक अपराधका गतिविधिसम्बन्धी उजुरी आउने क्रम बढेको बताए। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका गणपति राधेश्याम धिमालले बैंक तथा वित्तीय संस्थाले आफ्नो कार्यालय वरिपरि सिसी क्यामेरा जडान गरी कार्यसम्पादनमा पनि प्रविधिको प्रयोग गर्न अनुरोध गरे।