काठमाडौं। टाटा कर्भ ईभी नेपालमा परीक्षणका लागि भित्रिएको छ। नेपालको लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा कर्भ ईभी परीक्षणको लागि नेपाल ल्याएको हो।
टाटा मोटर्सको पहिलो कुप्पे डिजाइनको एसयूभी कर्भ ईभीमा ४५ किलोवाट र ५५ किलोवाट आवर दुई ब्याट्री प्याकमा उपलब्ध छ। टाटा कर्भ ईभीको ठूलो ब्याट्रीले सिंगल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने एमआईडीसी टेस्टले प्रमाणित गरेको छ।
टाटाले कर्भ ईभीमा ब्याट्री जस्तै मोटर पनि फरक साइजमा उपलब्ध गराएको छ। यसको ५५ किलोवाट आवरको ब्याट्री प्याकसँग १२५ किलोवाट र ४५ किलोवाट अवारको सानो ब्याट्रीसँग ११२ किलोवाट क्षमताको मोटर दिएको छ।
कर्भ ईभीको ग्राउण्ड क्लियरेन्स १९० एमएम छ। यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन ९ सेकेन्ड मात्रै लाग्ने छ। अत्याधुनिक फिचरहरुले सुसज्जित कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा बनाइएको छ।
ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्क्रिन, टचवेस क्लाइमेट कन्ट्रोल, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ।
त्यसैगरी, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानारोमिक शनरुफ, भेन्टीलेटेड सिट, जेबीएल साउण्ड सिस्टम, ५०० लिटरको बुट स्पेश कर्भ ईभीमा पाउन सकिन्छ।
भारतमा चार महिना अगाडि बिक्री सुरु भएको कर्भ ईभी आगामी महिनाबाट नेपालमा बिक्री सुरु हुने कम्पनीको भनाइ छ।