काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी-युएसएड)का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरिदिएका छन्।
वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार पल मार्टिनको बर्खास्त उनको कार्यालयले निकायलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि आएको हो।
ह्वाइट हाउसबाट मार्टिनलाई मंगलबार पठाइएको दुई वाक्यको इमेललाई उद्धृत गरेका छन्। इमेलमा निर्णयको कारण बताइएको थिएन। तर उनको पद ‘तत्काल लागू हुने गरी समाप्त’ भएको जनाइएको थियो।
ट्रम्प प्रशासनले सहायता फ्रिज र स्टप-वर्क अर्डर (रोक्का र काम रोक्ने) लागू गरेपछि ४८ करोड ९० लाख डलरभन्दा बढी खाद्यान्न सहायता बिग्रने वा सम्भावित दुरुपयोगको जोखिममा रहेको उनको कार्यालयको प्रतिवेदनले चेतावनी दिएको थियो।
प्रतिवेदनले लामो समयदेखि ‘महत्त्वपूर्ण चुनौती पहिचान गरेको र धोखाधडी, फजुल खर्च र दुरुपयोग रोक्न एजेन्सीको कार्यक्रम सुधार गर्न सिफारिस प्रस्ताव गरेको’ बताएको छ।
ट्रम्पले पहिले १८ जना महानिरीक्षकलाई बर्खास्त गरिसकेका थिए। उनीहरू संघीय सरकारका स्वतन्त्र निगरानीकर्ता थिए। तर ट्रम्पका पूर्ववर्ती जो बाइडेनले नियुक्त गरेका मार्टिन भने पदमा रहँदै आएका थिए।
गत महिना आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले विश्वका सबैभन्दा धनी व्यक्ति र आफ्ना प्रमुख दाता एलन मस्कको नेतृत्वमा अमेरिकी सरकारका विभिन्न अंगलाई कम गर्न वा विघटन गर्न अभियान सुरु गरेका थिए।
सबैभन्दा बढी निशाना युएसएडमाथि केन्द्रित छ। यो निकाय करिब १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रम सञ्चालन गर्दै विश्वभर अमेरिकी मानवीय सहायता वितरण गर्ने प्रमुख संस्था हो।
युएसएडले ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्छ। यो विश्वभर वितरीत मानवीय सहायताको ४२ प्रतिशत हो।