काठमाडौं। नेपालमा इन्धन गाडीमध्येमा अत्याधिक रुचाइएको हुण्डाईको क्रेटा विद्युतीयमा आउने भएपछि लक्ष्मी ग्रुपले चार्जिङ स्टेशन र पूर्वधार निर्माणमा आक्रामक लगानी सुरु गरेको छ।
नेपाल आउने अन्तिम तयारीमा रहेको हुण्डाई क्रेटा ईभीको माग अत्याधिक हुने देखिएपछि ग्राहकको सहजताका लागि आफ्नै चार्जिङ स्टेशन बनाउन लक्ष्मी ग्रुप लागिपरेको हो।
पछिल्लो समय विद्युतीय सवारी साधानको मर्मत सम्भारमा समस्या आएको र सामान पाउनै मुस्किल हुन लागेको जनगुनासो बढिरहेको बेला हुण्डाईले गुनासो झेल्न नपरोस भन्ने उद्देश्यका साथ राजमार्गलाई केन्द्रित राखेर चार्जिङ स्टेशनसँगै मर्मत केन्द्रसमेत राख्न लागेको हुण्डाईका जनरल म्यानेजर दिपक थपलियाले जानकारी दिए।
‘क्रेटा ईभी आएपछि हाइवेयको यात्रा पनि धेरै हुन्छ। त्यो कुरालाई मध्यनजर गर्दै हामीले डिसी चार्जिङ सपको सुरुवात गर्न लागेका छौँ,’ थपलिया भन्छन्, ‘चार्जिङ स्टेसन त धेरै निजी क्षेत्रले बनाइरहेका छन्। तर, हामीले बनाउन लागेको चार्जिङ स्टेसन प्लस वर्कसपको कम्बिनेसन कम्बो मोडालिटीमा आउँदै छ।’
उनका अनुसार चार्जिङ सपको काम सुरु भइसकेको छ। अब छिट्टै सञ्चालनमा आउने छ। गाडी ल्याउँदा हाइवेयको ५ वटा प्वाइन्टमा सुरु हुनेछ। यस बाहेकको अरु डिसी चार्जिङ स्टेसन पनि थपेर २५ वटा बन्दै छ। त्यो चार्ज सप नभइ चार्जिङ स्टेसन रहेको उनको भनाइ छ।
अहिलेसम्म हुण्डाईको ईभीका लागि ४५ वटा एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्। जसमा ७ किलोवाटदेखि २२ किलोवाटसम्मको एसी चार्जर निर्माण गरिएको छ। हाल नेपालमा हुण्डाई ब्राण्डको दुई मोडल कोना र आयोनिक ५ ईभी उपलब्ध छन्। हुण्डाई क्रेटा ईभी छिट्टै नेपाल ल्याउने तयारीमा कम्पनी लागेको छ।
के हो चार्ज सप
हुण्डाईले डिसी चार्जिङ स्टेसन र सर्भिस सेन्टर एकै ठाउँमा हुने गरी यसको कम्बिनेसनमा कम्बो मोडालिटीमा चार्जिङ सप बनाउन लागेको हो। चार्जिङ र सर्भिस दुवै काम एउटै थालेमा हुने भएकाले हुण्डाईले यसलाई चार्ज सपको नाम दिएको छ।
चार्जिङ स्टेशनमै सानो साइजको सर्भिस सेन्टर निर्माण हुने भएकाले यसलाई चार्ज सपको नाम दिएको कम्पनीले जनाएको छ। यसमा एक साथ दुई गाडीलाई हरेक चार्जिङ प्वाइन्टमा चार्ज गर्न सकिन्छ। हुण्डाईले बनाउने चार्ज सपमा ईभी टेक्निसियन, बेसिक सर्भिस टुल्स र वेटिङ लाउन्जको सुविधा पनि उपलब्ध हुनेछ।
एउटा चार्ज सपको लागत ८० लाखसम्म
चार्ज सपमा वर्कसप र चार्जिङ स्टेसन एक साथ हुने भएकाले यसको लागत अलि बढी लाग्छ। यसमा टेक्निसियन चाहियो। वर्कसप बनाउनु पर्यो। चार्जिङ लगाउन १५-२० लाख लाग्छ।
ट्रान्सफर्मर राख्नु पर्यो भने करिब २५ लाख रुपैयाँ लाग्छ। त्यसले गर्दा एउटा चार्ज सप बनाउनका लागि ७० देखि ८० लाख रुपैयाँ लाग्ने छ। त्यसमा पनि कति वटा चार्जर राखिन्छ। त्यसमा लागत बढ्ने थपलियाको भनाइ छ। यसरी हेर्दा ५ वटा चार्ज सपका लागि ४ करोडभन्दा बढी लगानी हुने देखिन्छ।
उनका अनुसार एउटा नर्मल चार्जिङ स्टेसन मात्र बनाउने हो भने २०-२५ लाखमा बन्ने छ। हुण्डाईले राख्न लागेको चार्जर १०० किलोवाट क्षमताको हो। त्यसमा ६० किलोवाट र ४० किलोवाटको दुई गन हुन्छन्।
एकै पटक दुई गाडीलाई हरेक चार्जिङ प्वाइन्टमा चार्ज गर्न सकिन्छ। नर्मल चार्जिङ स्टेसन मात्र बनाउनका लागि करिब २५ लाख रुपैयाँ हाराहारीको रेन्जमा बन्ने छ। यसरी हेर्दा २० वटा चार्जिङ प्वाइन्ट बनाउन लक्ष्मी ग्रुपले ५ करोडभन्दा बढी लगानी गर्ने देखिन्छ। चार्ज सप र चार्जिङ प्वाइन्टका लागि ९ करोडभन्दा बढी लगानी गर्ने तयारी छ।
लक्ष्मी ग्रुपले सन् २०१८ देखि हुण्डाईको ईभी गाडी ल्याउन थालेको हो। २०१९ बाट पूर्वाधार विस्तारमा लागेको हो। हुण्डाई गाडीका लागि १५० जना टेक्निसियन छन्। उनीहरू सबैलाई ईभीबारे ज्ञान दिनका लागि २०१८-१९ बाट सर्टिफिकेसन सुरुवात गरेको उनले बताए। उनका अनुसार यसमा नलेज ट्रेनिङ सबै गर्दा आजको दिनमा यसको ७५ प्रतिशत मानिस सर्टिफाइ छन्। ५० प्रतिशत एक्सपर्ट छन्।
‘क्रेटा ईभीका लागि स्पेयर पार्टस पनि हामीसँग उपलब्ध छ। यसमा आइसी इन्धन गाडीको नै पार्टस प्रयोग गर्न मिल्छ,’ थपलिया भन्छन्, ‘टेक्निसियन र स्पेयर पार्टसको कुनै कमी नहोस् भन्ने विषयमा हामी सचेत छौँ। त्यसैले गाडी आउनुअगाडि आवश्यक पार्टस आयात प्रक्रिया काम भइरहेको छ। केही पार्टस आइसकेको छ।’
नेपालमा पूर्वाधार भनेर चार्जिङ स्टेसनलाई मात्र लिइन्छ। तर, त्यो मात्र पूर्वाधार भने होइन। बाटोलगायतका कुरा हुन्। बलियो नेटवर्क र अनुभवलाई प्रयोग गर्दै उत्कृष्ट सर्भिस दिने योजना हुण्डाईको रहेको उनको भनाइ छ।
नेपालमा एकपछि अर्काे हुण्डाईले पूर्वाधारको क्षेत्रमा आफ्नो लगानी बढाउँदै लगेका छन्। विद्युतीय सवारी साधन (ईभी) आयात गर्ने कम्पनीले आफूले बिक्री गर्ने ईभीको लागि पूर्वाधारमा लगानी बढाएका हुन्। नेपालमा ईभी गाडी बिक्री गर्ने कम्पनीले आफ्नो ग्राहकलाई सेवा दिने हिसाबले पूर्वाधारमा विकास गर्दै गएका छन्।