काठमाडौं। फागुन पहिलो सातादेखि सुरु हुने तेस्रो बृहत् दोलखा महोत्सवमा आउने पर्यटकलाई लक्षित गरी चरीकोटका होटलले २५ प्रतिशत छुट दिने भएका छन्।
दोलखा उद्योग वाणिज्य संघले फागुन ६ देखि १८ गतेसम्म आयोजना गर्न लागेको दोलखा महोत्सवलाई लक्षित गरी त्यहाँका होटलले २५ प्रतिशत छुट दिने निर्णय गरेका हुन्।
उद्योग वाणिज्य संघ अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले चरीकोटका होटल व्यवसायीले महोत्सवलाई सफल बनाउन पर्यटक आकर्षक गर्ने उद्देश्यले छुट दिने सहमति भएको जानकारी दिए।
‘दोलखाको पहिचान कृषि, पर्यटन र पानी, स्थानीय उत्पादन र उद्यमशीलतामा लगानी’ नारासहित हुन लागेको महोत्सवमा १४० वटा स्टल रहनेछन्। कृषिजन्य उत्पादन प्रदर्शन वा बिक्री गर्न चाहने कृषकलाई निःशुल्क स्टल दिने व्यवस्था गरिनेछ। जिल्ला बाहिर र भित्रका व्यवसायीले समेत स्टल राख्न पाउनेछन्। महोत्सव १ लाख बढीले अवलोकन गर्ने लक्ष्य संघको छ।
महोत्सवभरि कालिञ्चोक केबलकारले १० प्रतिशत छुट दिने भएको छ। महोत्सवमा आउने पर्यटकमध्ये कालिञ्चोक भगवती मन्दिर दर्शनमा जानेलाई लक्षित गरी केबलकारले छुट दिने घोषणा गरेको संघका अध्यक्ष श्रेष्ठको भनाइ छ।
महोत्सवका बेला यातायातको सहजताका लागि रोल्वालिङ र अरनिको यातायातले अन्य समयको तुलनामा धेरै गाडी चलाउनुको साथै स्थानीय स्तरमा चल्ने बोलेरो र टेम्पोसमेत सहज सञ्चालनका लागि समन्वय गरिएको उनले जानकारी दिए।
अवलोकनमा आउनेलाई अतिरिक्त कृयाकलाप गराउने उद्देश्यले महोत्सव स्थलबाट नजिकका गन्तव्यमा घोडामार्फत जान पाउने सुविधासमेत राखिएको छ। यस्तै ख्यातिप्राप्त राष्ट्रिय एवंम स्थानीय कलाकारको दैनिक प्रस्तुति रहनेछ। महोत्सव उद्घघाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले र समापन अर्थमन्त्री कुन्दराज काफ्लेले गर्ने कार्यक्रम तय भएको छ।
यस्तो छ महोत्सवका आकर्षण
जिल्लाका समग्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक झाँकीको प्रर्दशनी
ख्यातिप्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुति
स्थानिय उत्पादन तथा जिल्लाका धार्मिक सांस्कृतिक एवं पर्यटकीय स्थलको डिजिटल डिस्प्लेमार्फत बृहत् चित्र प्रदर्शनी
महोत्सवस्थलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचडी सञ्चालन
बालबालिकाका लागि आकर्षक खेल
बागमती प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता
विद्यालयस्तरीय नृत्य प्रतियोगिता
क्याम्पसस्तरीय नृत्य प्रतियोगिता
विभिन्न खेलकुद प्रतियोगिता
उत्कृष्ट कृषक तथा उद्यमी सम्मान तथा पुरस्कार वितरण