काठमाडौं। रसुवामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम (एसएसपी)मार्फत हालसम्म करिब १७ करोड रुपैयाँ खर्च गरेको जनाएको छ।
आयोजनाको प्रवर्द्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जर्गेना, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन वृद्धिलगायतका कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको हो।
कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१मा भूमिगत विद्युतगृहलगायतका संरचना निर्माणाधीन छन्। उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो।
७२ भूकम्पबाट नराम्ररी प्रभावित आयोजना क्षेत्रमा कम्पनीले भूकम्प पीडितलाई राहत सामग्री वितरण तथा अस्थायी अवास निर्माण, विद्यालय एवं स्वास्थ्य संस्थाको भवन निर्माण, हेलिकोप्टरमार्फत उद्धार, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरेको थियो।
आयोजना प्रभावित आदिवासी जनजाति समुदायसँग नेपालमै पहिलोपटक स्वतन्त्र, अग्रिम, सुसूचित सहमति लागू गरिएको छ। आदिवासी समुदायको थातथलो, वातावरण र उनीहरुको सांस्कृतिक विशेषतालाई ध्यान दिएर छुट्टै आदिवासी समुदाय योजना कार्यान्वयनमा ल्याएको छ। योजनामार्फत समुदाय आफैंले छनोट गरेका कार्यक्रम सञ्चालन गर्न छुट्टै बजेट व्यवस्था गरिएको छ। यसमार्फत हालसम्म साढे २ करोड रुपैयाँ खर्च भइसकेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले आयोजना प्रभावितको आर्थिक तथा सामाजिक अवस्थामा सुधार, रोजगारी एवम् जीविकोपार्जन,त्यस क्षेत्रको विकास जस्ता विषयलाई विशेष ध्यान दिएर सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गरिएको बताए।
आयोजना निर्माणमा हाल करिब १ हजार श्रमिक परिचालित छन्। त्यसमध्ये करिब ४ सय रसुवा जिल्लाका स्थानीयबासिन्दा छन्। त्यसमध्ये आयोजना प्रभावित घरपरिवारका १५४ जना छन् । आयोजना निर्माण अवधि (५ वर्ष)मा ८००–१००० जना नेपाली श्रमिकले दैनिक रुपमा रोजगारी पाउनेछन्।
आयोजनाको मुख्य निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो। भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचना निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ। आयोजनाको समग्र भौतिक प्रगति ५२ प्रतिशत रहेको छ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी (इक्विटी) रहेको छ। आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम इक्विटीबाट जुटाइएको छ। आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ।