काठमाडौं। बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्ग मर्मत सुरु भएको छ। गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुन्डेबेंसीदेखि नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो।
विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढी क्षति पुगेको छ। त्यसमध्ये ८.५ किलोमिटर सडक पूर्ण रुपमा बगाएको छ। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडाैंका प्रमुख शुभराज न्यौपानेका अनुसार हाल विभागका उपकरण तथा जनशक्ति परिचालन गरी विभिन्न खण्डको मर्मत भइरहेको छ।
‘बाढी क्षति पुगेको १३ किलोमिटरमध्ये ८.५ किलोमिटर सडक पूर्ण रुपमा बनाउनुपर्ने भएको छ’ न्यौपानेले भने, ‘बाँकी खण्डमा सडक चौडा पार्ने, सम्याउने, ग्राभेल भर्नेलगायतका काम गर्नुपर्नेछ, त्यो अहिले सुरु भएको हो।’
सो सडक खण्ड मर्मतका लागि भक्तपुर तथा खाल्डे डिभिजन परिचालित भइसकेको उनले जानकारी दिए। विभागकै स्रोत–साधन र जनशक्तिलाई अधिकतम उपयोग गरी क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको भन्दै उनले काम नभएका स्थानबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तीव्रता दिने बताए।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल डिभिजनले पहिलो प्राथमिकतामा राखेर सो सडक मर्मत थालेको हो। उनले भने, ‘अहिले हामीले बीपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौं। आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको स्रोत–साधनको अधिकतम उपयोग गरी काम भइरहेको छ।’
वर्षायाममा सकेसम्म यातायात अवरुद्ध हुन नदिने लक्ष्य रहेको भन्दै डिभिजन प्रमुख योगेशले आवश्यक परे रातीको समयमा समेत काम गरी मर्मतलाई चुस्त र तीव्र पारिने बताएको छ।
गत असोजमा बाढीसँगै आएको पहिरोले सो राजमार्गमा क्षति पुगेको सडकमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरी मर्मत तथा पुननिर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिइसकेका छन्।
गत शनिबार मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजनका प्रमुखलगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो।
निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुनर्निर्माणमा स्रोत अभाव हुन नदिने भन्दै मर्मत एवं पुनर्निर्माणलाई तीव्रता दिन निर्देशन दिएका थिए।