काठमाडौं। सौर्य एयरलाइन्सले दुर्घटनामा परेको करिब ६ महिनापछि नियमित उडानमा फर्किने तयारी गरेको छ। पहिलो चरणमा एउटा जहाजमार्फत नियमित उडान गर्ने गरी सौर्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा व्यवसायिक योजना समेत बुझाइसकेको छ।
गत साउन ९ गते पोखरा उडानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चित कालका लागि सौर्य एयरलाइन्सलाई उडानमा रोक लगाएको थियो।
एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले फागुनभित्रै नियमित उडान गर्ने गरी आवश्यक तयारी पूरा गरेको जानकारी दिए। दुर्घटनामा परी सौर्यले एकसाथ ठूलो संख्यामा उच्च व्यवस्थापक गुमाएको थियो। उच्च व्यवस्थापन रिक्त भएपछि प्राधिकरणले अनिश्चिकालका लागि सौर्यको उडान सञ्चालन अनुमति(एओसी) निलम्बन गरेको थियो।
अहिले सौर्यले प्राधिकरणले तोकेको सबै पोष्ट होल्डर पूरा गरिसकेको बजार प्रमुख खनालको भनाइ छ। ‘हामीले प्राधिकरणले तोकेका सबै पोष्ट होल्डर पूरा गरिसकेका छौँ,’ बजार प्रमुख खनालले भने, ‘उडानका लागि पूर्ण रुपमा तयार छौँ, अनुमति आउने बित्तिकै नियमित उडानमा जान्छौँ।’
सौर्यले केही समयअघि नियमित उडानमा फर्किनका लागि प्राधिकरणसँग अनुमति मागेको थियो। उसले एओसी निलम्बन फुकुवा गरी नियमित उडानका अनुमति मागेपछि प्राधिकरणले आन्तरिक रुपमा अडिट गरेको छ।
प्राधिकरणले सौर्य एयरलाइन्सको कार्यालयमै गएर अडिट गरेको थियो। अहिले अडिटको कामसमेत सकिएको र प्राधिकरणले भनेको सबै प्रक्रिया पूरा गरिसकेकाले एओसी निलम्बन फुकुवाको पत्र पाएसँगै लाइसेन्स नवीकरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जाने बजार प्रमुख खनालको भनाइ छ।
प्राधिकरणले पनि सौर्यले व्यवसायिक योजना बुझाएपछि अडिट गरिसकेको र प्रतिवेदन बुझाउन बाँकी रहेको जनाएको छ। प्राधिकरणका एक उच्च अधिकारीका अनुसार सौर्यलाई उडान अनुमति दिने अन्तिम तयारी रहेको छ।
प्राधिकरणले एओसी फुकुवा गरेसँगै इजाजत नवीकरणका लागि मन्त्रालयमा जानु पर्छ। मन्त्रालयले इजाजत नवीकरण गरेसँगै सौर्यलाई नियमित उडानका लागि बाटो खुला हुनेछ।
सौर्यसँग हाल २ वटा जहाज रहेको छ। तीमध्ये एउटा जहाजमार्फत उडानको तयारी भएको बजार प्रमुख खनालले जानकारी दिए। उनले जतिसक्दो प्राधिकरण र मन्त्रायलबाट अनुमति आउँछ।
त्यहीअनुसारले उडानका लागि तयारी अवस्थामा रहेको जानकारी दिए। ५० सिटे सिआरजे २०० जहाजमार्फत काठमाडौंबाट झापाको भद्रपुर र विराटनगरमा उडान गर्ने सौर्यको तयारी रहेको जनाएको छ।