काठमाडौं। उत्तरी छिमेकसँग जोडिने चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी आजदेखि नियमित खुलाइने भएको छ।
असोज १२ को बाढीले लिपिङ खोलामाथिको पक्की पुल बगाएपछि नाका बन्द थियो। लिपिङ खोलामाथि बेलीब्रिज जडान गरिएसँगै आजदेखि नाका नियमित सञ्चालनमा आउन लागेको हो।
बेलीब्रिज जडानसँगै तातोपानी नाका फेरि खुल्नेछ ।
सेनाको प्राविधिक तथा श्रमशक्तिको सहयोगमा जडित बेलीब्रिज आज हस्तान्तरण गर्ने कार्यक्रम छ।
बेलीब्रिजको भारवहन क्षमता मूल्यांकनका लागि ३० टनको कन्टेनर वारपार गरेर सफल परीक्षणसमेत भइसकेको बताइएको छ।
सडक डिभिजन कार्यालय चरीकोटका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनका अनुसार चिनियाँ भूमि जोड्ने लिपिङ पुलमा बेलीब्रिज जडान सकिएसँगै नेपालका लागि सामान लिएर आएका कन्टेनर वारपार गर्न सक्नेछन्।
६ माघबाट नाका बन्द गरेर बेलीब्रिज जडान थालिँदा नाकाबाट व्यापार बन्द हुँदै आएको सूचना अधिकृत महर्जनको भनाइ थियो।
बेलीब्रिज हस्तान्तरणपछि ल्हासाबाट सामान ल्याउन सुरु गरिने तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले बताए।
कन्टेनर आउजाउ क्षमताको बेलीब्रिज राखिएपछि व्यवसायीले ल्हासामा १५० कन्टेनरमा नेपालका लागि सामान लोड गरेर राखेको उनको भनाइ छ। ती सामान आजबाटै तातोपानीस्थित सुक्खा बन्दरगाहमा ल्याइने तातोपानी भन्सारले जनाएको छ।