काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा आज होटल भिष्वा वीरगञ्जमा सम्पन्न भएको छ। समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ।
लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ। यस सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ।
साधारण सभाले आ.व. २०८०/८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजारको २१.०५ प्रतिशत हुन आउने रकम १ अर्ब ७२ करोड ७९ लाख लाभांशको रुपमा प्रदान गर्ने भएको छ। जसमा १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश करसहित प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।
अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको कुरा बताए। उनले निरन्तर सहयोग, संरक्षकत्व र शुभेच्छा प्रदान गर्ने सबै सेयरधनी र कम्पनीका सम्पूर्ण बीमितलाई संचालक समितिको तर्फबाट आभार व्यक्त गरे।
विं.सं. २०८१ असोज मसान्तसम्म कम्पनीको लगानी २ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ। जीवन बीमाकोष २ खर्ब ८ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब बढी रहेको छ। कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका १ ९५ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।
साथै कम्पनीले हालसम्म २ खर्ब ८८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। ८४ अर्ब जम्मा दाबी भुक्तानी गरेको छ। ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।