काठमाडौं। पछिल्लो समय दुई पांग्रे सवारी साधन उत्पादन गर्दै आएका चल्तीका ब्राण्डले एकपछि अर्काे विद्युतीय सवारी साधन (ईभी) उत्पादन गरिरहेका छन्। दुई पांग्रे सवारी साधन उत्पादन गर्दै आएका चल्तीका ब्राण्डहरूले आफ्नो पहिलो ईभी स्कुटर ल्याएका हुन्। दुई पांग्रे ईभीको हिस्सा दिन प्रतिदिन बढ्दै जाँदा स्थापित ब्राण्ड पनि ईभीमा सिफ्ट हुँदै गएका हुन्।
दुई पांग्रे सवारी साधनको बजारमा दर्जनौँ ब्राण्डले ईभी उत्पादन गरिरहँदा चल्तीका ठूला ब्राण्डले भने ईभी उत्पादन गरेका थिएनन्। अहिले अटो बजारमा ईभीको हिस्सा बढ्दै जाँदा इन्धनबाट चल्ने दुई पांग्रे सवारी साधन मात्र उत्पादन गर्दै आएका ब्राण्डले ईभी बाइक तथा स्कुटर उत्पादन गर्न थालेका छन्।
यसअघि हिरो, टिभीएसलगायतका पुराना ब्राण्डले ईभी बाइक तथा स्कुटर उत्पादन गरे पनि होण्डा, सुजुकी जस्ता कम्पनीले ईभी उत्पादन गरेका थिएनन्। तर, अहिले होण्डा, सुजुकी र बजाज जस्ता स्थापित कम्पनीले ईभी सवारी साधन उत्पादन गर्न थालेको हो।
सुजुकीले आफ्नो पहिलो ईभीको रुपमा ई-एक्सेस सार्वजनिक गरेको छ। होण्डाले एक्टिभा ई र क्युसी १ सार्वजनिक गरेको छ। होण्डा र सुजुकीले ईभी उत्पादन गरेसँगै दुई पांग्रे ईभी बजारमा प्रतिस्पर्धा थपिएको छ।
नेपालमा चार दर्जनभन्दा बढी दुई पांग्रे सवारी साधन बिक्री भए पनि चल्तीका ब्राण्डको भने ईभी थिएन। यसअघि हिरो र टिभीएस जस्ता ब्राण्डका ईभी नेपाली बजारमा बिक्री सुरु भइसकेको छ। बजाजको पहिलो ईभीको रुपमा उत्पादन भएको चेतक नेपाली बजारमा परीक्षणका लागि आइसकेको छ।
अब सुजुकी र होण्डाको ईभी नेपाली बजारमा आउन बाँकी छ। सुजुकीको पहिलो ईभी ई-एक्सेस, होण्डा एक्टिभा ई र होण्डा क्युसी १ नेपाली बजारमा आउने कम्पनीले जनाएको छ।
होण्डा एक्टिभा ई र क्युसी
होण्डाले आफ्नो पहिलो ईभीको रुपमा एक्टिभा ई र क्युसी १ स्कुटर उत्पादन गरेको छ। एक्टिभा ईमा परिवर्तन गर्न मिल्ने ब्याट्री दिइएको छ। कम्पनीका अनुसार एक्टिभा ई ले ८० किलोमिटर टप स्पिड पाउन सकिन्छ। एक पटक पूरा चार्ज गरेपछि एक्टिभाले १०२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। यसमा ६ किलोवाटको डाइरेक्ट मोटर जडान गरिएको छ।
क्युसी १
कम्पनीले प्रदर्शन गर्ने क्युसी १ एक्टिभा ईभीकै डिजाइनमा तयार पारिएको छ। यसमा कम्पनीले १.५ किलोवाट क्षमताको फिक्सड ब्याट्री उपलब्ध रहेको जनाएको छ। यो स्कुटरमा चार्जिङ पोर्ट दिएको छ। यो स्कुटरलाई घरमै चार्ज गर्न सकिन्छ।
यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गरेर ८३ किलोमिटरसम्मको रेन्ज पाउन सकिने कम्पनीको दाबी छ। क्युसी १ मा २६ लिटरको अन्डर स्टोरेज, टाइप सी चार्जर, ५ इन्च डिस्प्ले जस्ता फिचर उपलब्ध छन्। कम्पनीले क्युसी १ मा दुई ईभीको र स्पोर्टस् राइड मोडल उपलब्ध गराएको छ। यसको टप स्पीड ५० किलोमिटर प्रतिघण्टा रहेको छ।
सुजुकी ई-एक्सेस
सुजुकी ई-एक्सेस स्लिकर डिजाइनमा तयार भएको स्कुटर हो। यसमा ४.१ किलोवाटको मोटर र ३.०७ किलोवाट आवरको एलएफपी फिक्स्ड ब्याट्रीप्याक दिइएको छ। जसले म्याक्सिमम १५ एनएम टर्क जेनेरेट गर्दछ। ई-एक्सेसको आइडीसी रेन्जअनुसार यस ब्याट्रीले एक पटकको फुलचार्जमा ९५ किलोमिटरको रेन्ज दिने बताइएको छ।
यस स्कुटरको टप स्पीड ७१ किलोमिटर प्रतिघण्टा रहेको छ। यो स्कुटरमा प्रयोग भएको ब्याट्रीलाई ०-८० प्रतिशत चार्ज हुन पोर्टेबल चार्जरबाट करिब ४ घण्टा ३० मिनेटको समय लाग्छ। फास्ट चार्जरको माध्ययम बाट ०-८० पुग्न मात्रै १ घण्टा १२ मिनेटको समय लाग्ने छ।
कम्पनीले यसको फ्रन्टमा टेलिस्कोपिक क्वेल स्प्रिङ सक र रियरमा स्वीङ आर्म टाइपको क्वेल स्प्रीङ सस्पेन्सन सेटअप दिएको छ। यसको फ्रन्ट टायरमा डिस्कब्रेक र रियरमा ड्रमब्रेकसँगै अलोय ह्वील सहितको ट्युबलेस टायर रहेको छ।
फिचर लोडेड पूरा डिजिटल कलरफुल टिएफटी इन्स्ट्रमेन्ट क्लस्टर रहेको ई-एक्सेसमा स्मार्ट किलेस फङसन, एलईडी हेडलाइट र टेललाइट, हेलोजन बल्ब, भर्टिकल एलईडी बार र डीआरएल जस्ता अत्याधुनिक फिचर पाउन सकिन्छ।
बजाज चेतक
बजाजले आफ्नो पहिलो ईभी स्कुटरको रुपमा चेतक उत्पादन गरेको छ। बजाज चेतक ईभी स्कुटर नेपालमा पनि परीक्षका लागि आइसकेको मोडलमा पर्छ। भारतमा यसको मूल्य भारतमा भारू १ लाख २७ हजार तोकिएको छ।
बजाजले ३.८ किलोवाटको इलेक्ट्रिक मोटर र ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ। स्कुटरलाई घरमा चार्ज गर्दा फुलचार्ज हुन ५ घण्टा लाग्ने छ। फुलचार्ज गरेपछि ८५ देखि ९० किलोमिटर गुडाउन सकिन्छ।
चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलईडी डीआरएलएस ल्याम्प दिएको छ। यसमा, एप्रोन माउन्टेड एलईडी साइड टर्न इन्डिकेटर लगाइएको छ भने फक्स एयरभेन्ट जोडिएको छ।
यसमा उपलब्ध राउन्ड सेपको फुल डिजिटल इन्स्ट्रमेन्ट क्लस्टरले चालकलाई स्कुटरको अवस्थाबारे सूचना दिने गर्छ। स्प्लिट स्टाइल एलईडी टेलल्याम्प र इन्स्ट्रमेन्ट क्लस्टरमा ब्ल्युटूथ कनेक्टिभिटीको फिचर दिइएको छ। क्लष्टरमा फोन कल, म्यासेज नोटिफिकेशन, टर्न बाइ टर्न नेभिगेशन जस्ता फिचर पाउन सकिन्छ।