काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको छ।
सोमबार सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकलाई भेट्दै इप्पानले राष्ट्रिय निकुञ्ज र विभिन्न संरक्षण क्षेत्रभित्र पनि जलविद्युत आयोजना विकास गर्ने वातावरण बनाउनका लागि आग्रह गरेको हो।
पछिल्लो समय सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको एउटा फैसलाका कारण विभिन्न संरक्षण क्षेत्रका नाममा रहेको वन क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाउने अवस्था सिर्जना भएको भन्दै सरकारका तर्फबाट समेत उक्त फैसलाको आलोचना भइरहेको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीले उक्त फैसलाका कारण नयाँ आयोजना बनाउन नसक्ने बताउँदै बनेका आयोजनाको बिजुली प्रसारण लाइन बनाउन नदिएर खेर जाने अवस्था आउने हुँदा निर्माणाधीन आयोजनामा भइरहेको लगानी असुरक्षित हुने खतरा बढेको बताए।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले फैसला पुनर्विचार नभए नेपालमा थप एउटा पनि जलविद्युत आयोजना नबन्ने अवस्था आउने बताए। सबै आयोजना संरक्षण क्षेत्रमा नपरेपनि प्रसारणलाइन कुनै न कुनै संरक्षण क्षेत्रमै पर्ने र प्रसारणलाइन बनाउन नपाए अहिले बनिरहेका आयोजनाकै बिजुली पनि प्रवाह नहुने हुँदा थप आयोजना बनाउने ठाउँ नै नरहेको डाँगीले बताए।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विभिन्न संरक्षण क्षेत्रका नाममा राखिएका सरचनाले विकास निर्माणमा निकै ठूलो प्रभाव पारेको भन्दै यसलाई कसरी संशोधन गर्न सकिन्न भन्ने विषयमा आफू छलफलमा लागिसकेको बताए।
'अदालतलाई देखाएर देशलाई बन्धक बनाउन मिल्दैन। अहिलेको फैसलाले संरक्षण क्षेत्रमा एउटा नल पनि गाड्न नमिल्ने भएको छ,' बर्तौलाले भने।
यो समस्या समाधानको पहिलो विकल्प भनेको सरकारले राजपत्रमा सूचना निकालेर सिमाना हेरफेर गर्नु रहेको र दोस्रो विकल्पमा यसलाई पुर्नपरिभाषित गर्नु रहेको उनको भनाइ थियो।
अहिलेकै ऐनमा टेकेर संसदीय आयोग बनाएर यी सबै कुरा छानबिन गरी सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिन सकिने उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियाले तस्करले काठ बेच्न हुने तर जनताले ढलेका रुख पनि काट्न नपाउने कानुन संशोधन हुनुपर्ने बताए। उनले ५० प्रतिशत वन क्षेत्र पुग्न लागेको नेपालमा मलेसियाबाट काठ ल्याउनुपर्ने अवस्थाको हट्ने भएकाले आफूले आवाज उठाउने बताए।
नेपालको कूल भूभागको २३ प्रतिशत क्षेत्रफल विभिन्न नामका संरक्षित क्षेत्रको नाममा रहेको इप्पानका कार्यसमिति सदस्य भरत पराजुलीले बताए। उनले नेपालमा ६१ लाख हेक्टर वनको क्षेत्रफल पुगेको भन्दै यति सानो देशमा कति वन चाहिने हो? विकास निर्माण सबै ठप्पै पारेर कस्तो मुलुक बनाउन खोजेको हो? भनेर प्रश्न गरे।