रियाद। साउदी अरेबियाले पछिल्लो एक सातामा ८ हजार ७३३ अवैध आप्रवासीलाई देश निकाला गरेको छ। आवास, श्रम र सीमा सुरक्षासम्बन्धी उल्लङ्घन गर्नेविरुद्ध कडाइ गर्दै गएको साउदी सरकारको गृह मन्त्रालयले शनिबार जानकारी दिएको छ।
गृह मन्त्रालयका अनुसार जनवरी ३० देखि फेब्रुअरी ५ सम्म देशभर सुरक्षा निकाय र विभिन्न सरकारी एजेन्सीहरूको संयुक्त अपरेशनमा २१ हजार ४७७ गैरकानुनी आप्रवासी पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये १३ हजारा ६३८ जनाले आवाससम्बन्धी कानुन उल्लङ्घन गरेका थिए। ४ हजार ६६३ जनाले सीमा सुरक्षासम्बन्धी कानुन तोडेका थिए भने ३ हजार १७६ जना श्रम कानुन उल्लङ्घन गर्नेहरू थिए।
सुरक्षा अपरेशनका क्रममा १ हजार ३१६ जना अवैध रूपमा साउदी अरेबियामा प्रवेश गर्न खोज्दै गर्दा पक्राउ परेका छन्। तीमध्ये ४० प्रतिशत यमनी नागरिक, ५८ प्रतिशत इथियोपियन नागरिक तथा बाँकी २ प्रतिशत अन्य मुलुकका रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी, ७७ जना व्यक्तिलाई गैरकानुनी रूपमा देश छोड्न खोज्दा पक्राउ गरिएको छ।
मन्त्रालयका अनुसार २८ हजार ६६१ जनालाई उनीहरूको दूतावासमार्फत यात्रा कागजात उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। २ हजार ९१९ जना आफ्नो यात्रा तयारीका क्रममा छन्।
यसबाहेक अवैध आप्रवासीलाई शरण दिने, रोजगारी दिने वा आवास उपलब्ध गराउने १३ जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ। गृह मन्त्रालयका अनुसार हाल ३७ हजार १२० जनामध्ये ३३ हजार ५४७ पुरुष र ३ हजार ५७३ महिला कानुनी प्रक्रियामा छन्।
साउदी कानुनअनुसार अवैध आप्रवासीलाई मद्दत गर्नेलाई १५ वर्षसम्मको जेल सजाय र १० लाख साउदी रियालसम्मको जरिवाना हुन सक्ने चेतावनी दिइएको छ। अवैध बसोबासमा संलग्नलाई सहयोग गर्ने गाडी तथा सम्पत्ति जफत गरिने मन्त्रालयले जनाएको छ।