काठमाडौं। शनिबार भिमा एकादशीको दिन गुरुबा, आचाजुलगायतबाट दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरबार शिलाको भव्य पुजा सम्पन्न भएको छ।
दोलखाको शैलुङ गाँउपालिका ८ शैलुुङ डाँडामा रहेको भीमसेन तरबार शिला पुजा कार्यक्रममा काठमाडौंबाट गुरुबा बाबुरत्न बज्राचार्य, तलेजुु माताका पुजारी आचाजु उद्धव बज्राचार्य, भैरवसँग सम्बन्धित अरुण शाक्य, इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्यलगायतको उपस्थिति थियो। कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव विनोद सिंह, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव सुवास शिवाकोटीसमेत पुगेका थिए।
किंवदन्तीका अनुसार पाँच पाण्डवमध्येको भीमसेन दोलखाबाट शैलुङको बाटो हुदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरबार (खड्ग) बिसाएर विश्राम गरेको र हिँड्ने बेला तरबार छाडिएको उल्लेख गरिएको छ।
भीमसेन तरबार शिला पुजाका लागि शैलुुङ गाँउपालिका, समाजसेवीहरूको सहयोग रहेको वडाध्यक्ष धन बहादुुर तामाङले बताए।
तमाङ भाषामा ‘शै’को अर्थ सय र ‘लुङ’को अर्थ थुम्का हुने र उक्त ठाँउमा सय वटा थुम्का रहेकाले शैलुङ नामाकरण भएको स्थानीय जेष्ठ नागरिकहरु बताउँछन्। यहाँ हरेक बाह्र वर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ।
गौरीशंकर हिमशृङ्खलासहित थुप्रै हिमशृङ्खला देखिने शैलुङमा गाउँपालिकाको पहलमा निर्माण भएको मिनी ग्रेटवालसमेत आकर्षणको केन्द्र बनेको छ। पछिल्लो समय शुक्रबार र शनिबार हजारौँ पर्यटक शैलुङ पुग्ने गरेको स्थानीय दिपेश श्रेष्ठ बताउँछन्।