काठमाडौं। नेपालको संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पदमा आसीन व्यक्तिले दल त्यागेको हुनुपर्ने व्यवस्था छ। यसका लागि दलीय राजनीतिमा सक्रिय भइरहे पनि उल्लिखित पदमा निर्वाचित हुनासाथ दलीय राजनीति त्यागेको घोषणा गर्ने चलन छ।
पदीय गरिमामा राजनीतिरहित सर्वमान्य ओहोदालाई कार्यकाल समाप्तिपछि तिलाञ्जली दिएर पुनः पार्टी राजनीतिमा फर्किन चाहनेको संख्या नेपालमा पनि बढ्दो छ। पति मदन भण्डारीको २०५० जेठ ३ मा जिप दुर्घटनामा मृत्यु भएपछि राजनीतिमा हाम फालेकी विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ देखि २०७९ फागुन २८ सम्मको नेपालको सर्वोच्च ओहोदा राष्ट्रपति पद सम्हालेर पुनः एमालेमै फर्किने चर्चा चलिरहेको छ।
एमाले कोटाबाट राष्ट्रपति निर्वाचित भण्डारीले अब आफू पार्टी राजनीतिमा फर्किनै लागेको जनाउ दिइसकेकी छन्। यसका लागि उनलाई हाल एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट ग्रिन सिग्नल मिलिसकेको छ।
विदेशमा राष्ट्रपति, प्रधानमन्त्री कार्यकाल सकिनासाथ आ–आफ्नो पेसामा फर्किने गरेका समाचार देख्न र सुन्न पाइँदै आएको छ। तर, नेपालमा संवैधानिक पदमा पुगेर निवृत्त भएपछि आफ्नो गरिमा धुलिसात् हुने ठानेर विभिन्न दलमा आबद्ध भीभीआईपीहरु पुरानै घर (दल) मा फर्किएको देखिँदैन।
यद्यपि पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा आउन पाउने वा नपाउने भन्नेमा संविधानमा केही उल्लेख छैन। मानका खातिर मानका लागि उनीहरुले दलीय राजनीतिमा हाम नफाल्ने गरेका हुन्।
पूर्वराष्ट्रपति भण्डारीलाई उछिनेर एकै कार्यकाल र समयमा बिदाबारी भएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई नेकपा माओवादी केन्द्रले विशेष जिम्मेवारी दिएर विधिवत् रुपमा पार्टीमा फर्काएको छ।
माघ २७ मा बसेको पदाधिकारी बैठकले राजनीतिमा स्वागत गर्ने निर्णय गर्दै पूर्वउपराष्ट्रपति पुनलाई विशेष जिम्मेवारी दिने निर्णय गरेको हो। योसँगै दलीय आबद्धता त्यागेर उच्च ओहोदामा पुगेपछि कार्यकाल सकिएसँगै पुनः पार्टी राजनीतिमा हाम फाल्ने पुनः पहिलो भीभीआईपी बनेका छन्।
कथित माओवादी जनयुद्धबाट उदाएको माओवादीले सत्ता चाख्न पाएपछि पार्टी राजनीतिमा लागेकालाई विभिन्न पद र अवसर दिएकै कारण पासाङले उपपराष्ट्रपति हुने अवसर पाएका हुन्। २०७२ कात्तिक १२ सम्म नेकपा माओवादीको स्थायी समिति सदस्य रहेका पासाङ उपराष्ट्रपति भएसँगै २०७२ देखि २०७९ फागुन २८ सम्म दलीय राजनीतिबाट बाहिरिएका थिए।
माओवादीले विशेष जिम्मेवारी तोकैर आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएपछि पासाङको सक्रिय राजनीति सुरु भएको हो।
हुन त, पासाङ २०५१ देखि नै तत्कालीन विद्रोही नेकपा माओवादीको वाइसीएल जिल्ला अध्यक्ष भएका थिए। त्यसपछि २०५२ मा स्क्वाड कमान्डर भएर काम गरे। २०५२ साल फागुन १ देखि देशलाई युद्धमा झोंसेर तत्कालीन नेकपा माओवादीले सुरु गरेको कथित जनयुद्धको पहिलो कारबाहीस्वरुप होलेरी चौकी आक्रमणमा भाइस कमान्डर बनेका पुन शान्ति प्रक्रियासम्म आइपुग्दा जनमुक्ति सेनाको डेपुटी कमान्डर बनेर काम गरेका थिए।
उनको नेतृत्वमा झन्डै दुई दर्जन फौजी कारबाही माओवादी राजनीतिका लागि महत्त्वपूर्ण बनेका थिए। भलै, तत्कालीन सरकारहरुबाट आतंककारी घोषित माओवादीले राज्यलाई जित्न सकेन र अन्नतः शान्ति सम्झौतामा आउन बाध्य हुनुपरेको हो।

दोस्रो कार्यकालका लागि शीतलनिवासमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदै उपराष्ट्रपति नन्दकिशोर पुन। २०७४, चैत ५। फाइल तस्बिर
कथित माओवादी जनयुद्धबाट उदाएको माओवादीले सत्ता चाख्न पाएपछि पार्टी राजनीतिमा लागेकालाई विभिन्न पद र अवसर दिएकै कारण पासाङले उपपराष्ट्रपति हुने अवसर पाएका हुन्। २०७२ कात्तिक १२ सम्म नेकपा माओवादीको स्थायी समिति सदस्य रहेका पासाङ उपराष्ट्रपति भएसँगै २०७२ देखि २०७९ फागुन २८ सम्म दलीय राजनीतिबाट बाहिरिएका थिए।
यद्यपि उनी उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए। आफूलाई पार्टीले कुनै जिम्मेवारी नदिएकामा गुनासो छाडेका थिएनन्। माघ २१ को नेकपा माओवादी केन्द्र बैठकमा पासाङले ‘कृषि र उत्पादन’को जिम्मेवारी दिएर पार्टीभित्र औपचारिक राजनीतिका लागि बाटो खोलिदिन आग्रह गरेका थिए।
पासाङ गत कात्तिक २६ गतेदेखि माओवादीको नियमित बैठकमा सहभागी हुँदै आएका उनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्षको जिम्मेवारी दिने आश्वासन दिए पनि पार्टीभित्रैबाट विरोध भएपछि पछि हटेको बताइन्छ।
त्यतिबेला (माघ २१) को बैठकमा उपमहासचिव शक्ति बस्नेतले पासाङलाई उपाध्यक्ष वा अन्य जिम्मेवारी दिने विषयमा छलफल भएको तर निर्णय नभएको प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, ‘पासाङजीलाई उपाध्यक्ष बनाउन वा कुनै जिम्मेवारी दिने विषयमा सबै पदाधिकारी सकारात्मक छन्। यसबारे बैठकमा छलफल भयो तर निर्णय भएन।’
राज्यको सम्मानित पदमा पुगेको व्यक्ति फेरि पार्टीको सक्रिय राजनीतिमा आउने चर्चाले बाहिर राम्रो सन्देश नभएको भन्दै केन्द्रीय समिति बैठकमा नेताहरूले आलोचना गरेका थिए। आलोचनाछि अध्यक्ष दाहालले पासाङलाई आफूले बोलाएको नभई उनी आफैं बैठकमा आएको दाबी गरेका थिए।
बैठकमा अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जोकोही पनि निश्चित जिम्मेवारी, निश्चित उमेर र निश्चित अवधि पूरा गरेपछि सक्रिय पार्टीको संगठनात्मक जीवनबाट अनिवार्य बिदा हुनुपर्ने धारणा राखेका थिए। त्यसमा पनि पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदि पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुने न्यौपानेको तर्क थियो।
तर, अध्यक्ष दाहाल निकटका पासाङलाई पुनः राजनीतिमा सक्रिय हुन खासै अवरोध झेल्नु परेन। उनलाई माघ २७ को बैठकले राजनीतिमा आउने बाटो खोलिदियो। यसअघि गत कात्तिक २६ मा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पासाङ आमन्त्रित सदस्यका रूपमा सहभागी भएका थिए।
त्यसयता हरेक बैठकमा उनी देखिन्थे। माओवादीमा दाहाल निकट हुँदाको लाभ लिन पासाङले आफूलाई दोस्रो पद मागेका थिए। अध्यक्ष दाहालले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहेकाले पदै नतोकेर उपाध्यक्ष बनाउने सहमति भएको भनिएको थियो।
माओवादीका स्रोतका अनुसार उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई ‘साइज’मा राख्न दाहालले पासाङलाई राजनीतिमा भित्र्याएको दाबी गरिएको छ। पछिल्लो समय दाहाल नीतिबारे आलोचना खर्चिन थालेसँगै पुन र शर्मालाई साइजमा ल्याउन पासाङलाई पार्टीमा ल्याइएको स्रोतको दाबी छ। युद्धकालमा विद्रोही सेनाका कमान्डर रहेका उनलाई पार्टीमा फर्काउन माओवादीले विधान संशोधन गरिसकेको छ।