काठमाडौं। दैलेख जिल्लामा उत्खनन् भएको पेट्रोलियम पदार्थ उत्खनन् गरेर नमुना चीन पठाइएको छ। चिनियाँ प्राविधिकको टोलीले ड्रिलिङ गरेर निकालेको नमुना अन्तिम परीक्षणका लागि चीन पठाएको हो।
चिनियाँ प्राविधिक टोलीले २०८० वैशाख अन्तिमबाट ३५ जनाको प्राविधिक टोलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गरेका थिए। अन्वेषणको ९ महिनापछि अर्थात् माघ पहिलो साता नमुना चीन पठाएको खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता मनिका झाले बताइन्। विभागका अनुसार ४ हजार १३ मिटर ड्रिलिङ गरेपछि नमुना संकलन गरेर चीन पठाइएको हो। अध्ययनको काम चीनले आर्थिक एवं प्राविधिक अनुदान सहयोगमा गरेको थियो।
सोहीअनुसार नमुना परीक्षण पनि चीनको ल्याबमा निस्शुल्क भएर २०८२ वैशाख अन्तिमसम्म नेपाल आउने हालसम्मको योजना देखिएको उनले बताइन्। हाल दैलेखको जलजलेमा ड्रिलिङ गरिएको छ।
नेपाल आफैले गरेको नमुना अध्ययनमा सकरात्मक लक्षण देखिएको प्रवक्ता झा बताउँछिन्। ‘प्रारम्भिक अध्ययनले दैलेखमा पेट्रोलियम पदार्थ छ भन्ने सकरात्मक सन्देश दिएको छ, बाँकी रिपोर्ट वैशाखम अन्तिममा थाहा हुन्छ,’ उनले भनिन्।
अन्यत्र पनि अध्ययन हुने
जलजलेमा गरिएको अध्ययन सकारात्मक देखिए दैलेखकै अन्य स्थानमा अध्ययन गर्ने सरकारको योजना छ। तर, जलजलेमा प्रयोग गर्न मिल्ने पेट्रोलियम पदार्थ नपाइए अन्यत्र ड्रिलिङ नहुने प्रवक्ता झाको भनाइ छ।
दैलेखको शिरस्थान, नाभिस्थान र पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग नेपालले सन् २०१९ फ्रेब्रुअरी २८ मा सम्झौता गरेको थियो। तर, कोरोना संक्रमणका कारण काम गर्न नसकेर अध्ययनको लम्बिएको हो।
क्यापिटल नेपालसँग खानी विभागका प्रवक्ता झा भन्छिन्, ‘उसै पैसा खर्च गरेर मात्रै भएन, जलजलेको रिपोर्ट सकरात्मक आयो भने अन्य ठाउँमा पनि क्रमशः अध्ययन गर्दै जाने योजना छ।’ अन्य स्थानमा पानीमा आगो बल्ने गरेको स्थानीयहरूले बताएका छन्। जसले गर्दा पेट्रोलिय पदार्थ भएको अनुमान प्राविधिकले गरेका छन्।
हाल चीनले २ अर्ब ५० करोड रुपैयाँ खर्च गरेर ड्रिलिङ गरेको हो। अर्को स्थानमा अध्ययन गर्नुपर्दा पनि सोहीअनुसार खर्च हुने भएकाले सहजै खर्च गर्न सक्ने अवस्था छैन। जसले गर्दा ड्रिलिङ गरिसेकको स्थानबाट सकरात्मक नतिजा आएपछि मात्रै अर्को स्थानमा लगानी गर्न लागिएको हो। यद्यपि जलजलेमा लागेको खर्च चीनले नै बेहोर्ने छ। २ अर्ब ५० करोड रुपैयाँ पनि उनले नेपाललाई दिएको छैन।
अन्वेषणका लागि नेपाल आएका ३५ जनाको प्राविधिक टोलीमध्ये १५ जना जलजलेमा बसेर २० जना चीन फर्किएका छन्। जलजलेको ग्यास तथा पेट्रोल प्रयोग गर्न योग्य देखिए प्रशोधन गरेर प्रयोग गर्ने गरी थप उत्खनन् अघि बढ्नेछ। तर, त्यसरी उत्खनन् नेपाल वा चीन कसले गर्छरु भन्ने विषय टुंगो लागेको छैन। साथै उत्खनन्का लागि कति खर्च लाग्छरु भन्ने विषयमा पनि प्रष्ट नसेकको खानी विभागले जनाएको छ।
हालसम्म नेपालले मोरङको बाहुनी र दैलेखको जलजलेमा मात्रै पेट्रोलियम पदार्थको नमुना अध्ययन गरेको छ। तर, त्यसलाई प्रयोगमा ल्याउने गरी अध्ययन अघि बढाएको छैन।