काठमाडौं। संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ।
दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक र सवा १ बजे राष्ट्रिय सभा बैठक बस्ने कार्यसूची रहेको संसद् सचिवालयले सूचना जारी गरेको हो।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०८/१ पेस गर्ने कार्यसूची छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै, आज बस्ने राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा पनि अध्यादेश कार्यसूचीमा राखिएको छैन। अध्यादेश पारित गर्न राष्ट्रिय सभामा सत्ता पक्षसँग बहुमत छैन।
उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी नेपालले अध्यादेशबारे निर्णय गरिनसकेकाले राष्ट्रिय सभामा अध्यादेश कार्यसूचीमा नलगिएको बुझिएको छ।