काठमाडौं। दलीय राजनीतिले गाँजेको भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विविध कार्यक्रम गरेर ३४औं स्थापना दिवस मनाउँदै छ।
सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टंगालस्थित मुख्यालयमा राष्ट्रपति रामचन्द्र पौडेललाई बोलाएर स्थापना दिवस मनाइन लागेको हो।
आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो।
आयोगको ३४औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा आयोग र मातहतका कार्यालयमा २६ हजार ९१८ उजुरी परेका छन्। गत आवबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ गरी ३६ हजार १८६ उजुरीमध्ये कुल २७ हजार सात सय १४ फछ्र्योट भएका छन्।
नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी अधिकार प्रदान गरेको छ। संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अंगीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ।
संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । उक्त धारामा ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने’ उल्लेख छ।
आयोगले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानुनबमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिए आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्ति उपर कानुसनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ।