काठमाडौं। विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा पर्न सफल ठमेलस्थित एलओडी क्लब 'लर्ड अफ द ड्रिंक्स’ले ६ वर्ष पूरा गरेको छ। यस अवसरमा क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउने भएको हो।
शनिबार साँझ क्लबमा पूर्ण राई तथा दाजुभाइ, श्रीगो एण्ड द गेन र लिसियस डिजेले प्रस्तुति दिएको क्लबका निर्देशक भूपेन कुँवरले बताए। उनका अनुसार ६ वर्ष ६ दिन भनेर विशेष वार्षिकोत्सव मनाइएको हो। क्लबले दर्शकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर फरक अनुभूति दिन लागिएको उनको भनाइ छ।
'रात्रि कालीन जीवनका पारखी तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षित गराएको छ,' उनले भने, 'हामीले क्लब स्थापना गरेसँगै राष्ट्रको नाम राखेका छौँ। विभिन्न मुलुकका कलाकार यहाँ प्रस्तुति दिन आउँछन्। अहिले विभिन्न मुलुकले क्लबकै कारण नाम थाहा पाएका छन्।'
माघ २८, फागुन १, २, ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो। २८ गते कुमासागर एण्ड द ख्वापले प्रस्तुति गर्ने छन्। साथै फागुनको १, २, ८ र ९ गते क्रमशः समीर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुति दिने भएका छन्।
विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको क्लबले केही समयअघि क्लब पुनः 'डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबको छनौट गर्छ। म्यागमा विश्वभरका १ सय उत्कृष्ट डिजे क्लबको सहभागिता रहने गर्छ।