काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितको उपचार अवस्थाबारे जानकारी लिएका छन्। उनले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले सेवा उपलब्ध गराउँदै आइरहेको छ।
काठमाडौं २८ कमलपोखरीस्थित एक मःम आउटलेट आगलागीका क्रममा जलेर घाइते बिरामीको उपचार अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले बिरामीको गुनासा सुने। उनले अस्पतालका अधिकारीसँग अन्र्तक्रिया गर्दै निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न आग्रह गरे।
‘सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौँ,’ मन्त्री पौडेलले भने, ‘सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला।’
उनले जलन प्रभावितको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्या तथा बिरामीका गुनासा दुवै सुने। उनले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्याउनुका अलावा समस्या बढ्न नदिन सचेतना गर्न सरोकारवालाबीच सहकार्य गर्ने बताए।
मन्त्री पौडेलले भने, ‘जलन प्रभावितको उपचार प्रभावकारी बनाउन हामी यथासम्भव विकल्पका लागि तयार छौँ।’ उनले आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत २ करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ।
यसबाहेक वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समस्या भोगेका बिरामीको निःशुल्क उपचार भइरहेको छ। उनको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ।
गत साता मन्त्री पौडेलसँग चौधरी ग्रुपका सञ्चालक एवं सांसद विनोद चौधरी तथा जलन पीडित सांसद चन्द्र भण्डारीसहितको टोलीले भेट गरेका थिए। करिब १८ करोड लागतमा चौधरी समूहले प्रतिबद्धता जनाएको अस्पतालका लागि केही दिनमै समझदारी गरेर काम अघि बढाउने तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।