काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति दिएको छ। मन्त्रालयले आधारभूत तहदेखि उच्च र प्राविधिक तहसम्मका लागि १५ लाख ७१ हजार विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति दिएको हो।
मन्त्रालयले दिएको छात्रवृत्तिअन्तर्गत आवासीयमा १२ हजार ६५ विद्यार्थीलाई ६० करोड ३२ लाख दिइएको छ। अपाङ्गता भएका, मुक्त कमलरी, सिमान्तकृत समुदाय, सडक बालबालिका, एचआईभी प्रभावित, वादी समुदायका विद्यार्थीलाई वार्षिक ५० हजारको दरले छात्रवृत्ति दिइने भएको छ।
कर्णाली प्रदेशमा प्याकेजअन्तर्गत कक्षा १-५ मा अध्ययनरत बालिकाले वार्षिक १ हजार रुपैयाँ पाउने भएका छन्। दलित छात्रवृत्तिमा कक्षा १-५ का ५ लाख ५२ हजार विद्यार्थीलाई २१ करोड वितरण गरिने भएको छ।
विपन्न लक्षित छात्रवृत्ति ६० करोड दिइएको मन्त्रालयले जनाएको छ। जसमा कक्षा ११-१२ विज्ञान विषयमा वार्षिक २४ हजार र अन्य विषयमा वार्षिक १८ हजार र कक्षा ६-१० का लागि वार्षिक ६ हजार दिइएको छ।
प्राविधिक शिक्षातर्फ दलित, मुस्लिम, सिमान्तकृत समुदायलाई लक्षित गरी ६ करोड दिइएको छ। जसमा मासिक निर्वाह भत्ता ३ हजार ५ सय, यातायात खर्च वार्षिक १ हजार ५ सय, पोसाक भत्ता वार्षिक २ हजार ५ सय रहेको छ।
उच्च शिक्षा छात्रवृत्तिमा स्नातकदेखि स्नातकोत्तर तहका सहिद, द्वन्द्व पीडित, मुक्त कमलरी, मुस्लिम महिला र अपांगता विद्यार्थीलाई वार्षिक २४ हजार तोकिएकोक छ।
आर्थिक रूपले विपन्न विद्यार्थीका लागि सामान्य विषयमा वार्षिक १५ हजार र प्राविधिक विषयमा २१ हजार दिइएको छ।