कुनै बेला धनाढ्यको किनमेल गन्तव्य। महँगा र लक्जरी सामान मात्रै होइन, गुणस्तर पनि उस्तै। विश्व प्रख्यात ब्रान्डको एकत्रित बजार थियो- दरबारमार्ग। ब्रान्ड सोखिनका लागि दरबारमार्ग जति लोकप्रिय थियो, व्यवसायीलाई त्यहाँ सटर भाडामा लिएर व्यवसाय गर्नु उत्तिकै गर्वको विषय बन्थ्यो। आकर्षक कमाइ, शक्तिकेन्द्रसँग नजिकिने सबैभन्दा उपयुक्त माध्यम थियो, दरबारमार्ग व्यापार।
ब्रान्डेड सामानसँग ठूलाठालूको लगाव र त्यस्ता सामान भित्र्याउनेबीच कसिलो सम्बन्ध बनाउन त्यहाँको व्यापारले महत्वपूर्ण भूमिका खेलेको थियो। ब्रान्डेड सामानमा राम्रो नाफा र आफूअनुकूलका व्यक्तिलाई डिस्काउन्ट दिएरै पनि त्यहाँका व्यवसायीले माथिल्लो निकायसम्म सहज पहुँच बनाएका थिए। दरबारमार्गको व्यापार व्यापार मात्रै थिएन, उच्चपदस्थसँग प्रगाढ सम्बन्ध, धनाढ्यहरूसँग उठबस् पनि सँगै जोडिएर आउँथ्यो। सोही कारण दरबारमार्गमा सटर भाडामा लिन व्यवसायीले २० लाख रुपैयाँ घुससमेत खुवाउँथे।
महिनामै ८० लाख रुपैयाँ व्यापार हुँदासम्म मासिक रुपमा ११ लाख रुपैयाँ भाडा तिर्छु भन्दा सर्टर नपाएपछि व्यवसायीले पसल मिलाइदिने व्यक्तिलाई २० लाख रुपैयाँसम्म कमिसन दिन्थे।
दरबारमार्ग व्यापारले नयाँ गन्तव्य निर्माण गरिरहेको छ। ब्रान्डेड सपको पहिचान विस्तारै नयाँ ठाउँ सरिरहेको छ।
हरेक हिसाबले आकर्षक ठाउँ अहिले विकर्षण केन्द्र बन्दै गएको छ। हरेक पसलमा ‘टू लेट’ लेखिएका बोर्ड देखिन थालेका छन्। जेनतेन चलेका पसल पनि बिक्रीमा छन्। व्यापारीहरुले पसल बिक्री गर्न डेढ वर्षदेखि प्रयास गरिरहेका छन् तर ग्राहक पाइएको छैन।
‘भाडा र कर्मचारीको खर्चले हरेक दिन थिचिँदै गइरहेको छु’ फुटवयर व्यवसायमा रहेका एक व्यापारीले क्यापिटल बिजनेस म्यागजिनसँग भने, ‘महिनामा ८० लाख व्यापार हुने ठाउँमा अहिले महिनामा ३ लाख पुग्न मुस्किल छ जबकि, भाडा ११ लाख छ।
कर्मचारीको खर्च ३ लाख हुन्छ। बैंकबाट ऋण लिएर कहिलेसम्म कर्मचारी र घरभाडा तिर्नू!’ व्यापार हुँदासम्म हरेक खर्च सामान्य लाग्ने गरे पनि अहिले त्यो खर्चले मन भित्रभित्रै जलिरहेको गुनासो उनको छ। ‘हामी अहिले डिप्रेसनमा पुगेका छौं,’ उनी भन्छन्, ‘कतिपय मेरा समकक्षीले वर्षभरि अफर चलाइरहे पनि व्यापार छैन। ५० प्रतिशतसम्म छुट दिँदा पनि व्यापार ३ लाख कट्दैन।’
भाडा र प्रशासनिक खर्च धान्नै नसक्ने भएपछि दरबारमार्ग व्यापारले नयाँ गन्तव्य निर्माण गरिरहेको छ। ब्रान्डेड सपको पहिचान विस्तारै नयाँ ठाउँ सरिरहेको छ। एकातिर लगातार ब्रान्डेड पसल सरिरहेका छन् भने घरधनीले सटर भाडामा लगाइदिने मध्यस्थकर्तालाई २ महिना बराबरको भाडामा दिँदासमेत व्यापार छाड्ने क्रम रोकिएको छैन। अहिलेको दरबारमार्गको नयाँ परिस्थिति यतिसम्म भइसकेको ती व्यवसायी बताउँछन्।
दरबारमार्गसँग अनेक परिचय जोडिएको छ। पछिल्लो पुस्ता ब्रान्डेड सपको हबका रुपमा यो ठाउँलाई चिन्छ। वर्षौंदेखि दरबारमार्गलाई नियालिरहेकाले अनेकन परिचय देख्छन्।
![475543132_2084454558657446_2916468809297583141_n-1739098307.jpg](https://www.capitalnepal.com/uploads/posts/475543132_2084454558657446_2916468809297583141_n-1739098307.jpg)
२४० वर्षे राजतन्त्र निर्मूल भएसँगै नारायणहिटी दरबार सार्वजनिक संग्रहालय बन्यो। राजधानीको केन्द्र दरबारमार्गमा रहेको नारायणहिटीलाई आज पनि हेर्दा राजतन्त्र समयकै झल्को आउँछ।
विभिन्न कालखण्ड पार गर्दै जाँदा देशको प्रणालीमा परिवर्तन हुँदै गयो। एकतन्त्रीय र एकात्मक शासनबाट अहिले मुलुक संघीय प्रणालीमा छ। भीआईपी एरियाले चिनिने ‘दरबारमार्ग’ को अस्तित्व आज पनि उस्तै छ, उत्तिकै छ। कारण, दरबारमार्गलाई ‘दरबारमार्ग’ बनाइराख्ने केही सिम्बोल छन्, जुन यहाँका ब्रान्डेड सप।
ब्रान्डेड सपले भरिएपछि दरबारमार्गमा राम्रा रेष्टुरेन्ट, पब र क्लबहरु पनि खुले । अहिले ब्रान्डेड सपसँगै रेष्टुराँ व्यवसाय पनि सिफ्ट हुँदै गएका छन् ।
कुनै समय यस्तो थियो, जहाँ सडकको दायाँबायाँमा ठडिएका मल होउन् या सटर। जहाँ पनि ब्रान्डेड सपका बोर्डैबोर्ड झुन्डिएका थिए। अहिले ती ठाउँमा टू लेट र डिस्काउन्ट लेखिएका बोर्ड देखिन्छन्।
विदेशी तथा स्वदेशी ब्रान्डका विभिन्न सोरुमको ‘जक्सन’ नै दरबारमार्ग हो। कुनै समय यस्तो थियो, जहाँ सडकको दायाँबायाँमा ठडिएका मल होउन् या सटर। जहाँ पनि ब्रान्डेड सपका बोर्डैबोर्ड झुन्डिएका थिए। अहिले ती ठाउँमा टू लेट र डिस्काउन्ट लेखिएका बोर्ड देखिन्छन्।
सोही कारण नेपालका धनाढ्य, मध्यमवर्गीय परिवार ब्रान्डेड सामानको खोजी गर्नेहरूको पहिलो यात्रा दरबारमार्ग हुन्थ्यो। त्यसैले पनि यस क्षेत्र रौनक थियो। गुल्जार थियो। अन्य क्षेत्रको तुलनामा यहाँको चहलपहल बेग्लै हुन्थ्यो। आउने व्यक्ति र खर्च गर्ने प्रवृत्ति नै फरक थियो। दरबामार्गमा किनमेल गर्न आउनेका कारण राती अबेरसम्म थेगिनस्कनु भीड मात्र हुँदैन थियो, त्यहाँका रेस्टुराँ र क्लब, पब भरिभराउ हुन्थे।
...
तर, अहिले परिस्थिति बदलिएको छ। पछिल्लो तीन वर्षदेखि दरबारमार्गको चित्र नै फेरिएको छ। सधैं भीडभाड हुने दरबारमार्ग विस्तारै रित्तिदै गएको छ। चहलपहल घटेको छ। पसलमा एक-दुई मात्र ग्राहक देखिन्छन्। रेस्टुराँ विस्तारै खाली हुँदै गएका छन्। दरबारमार्ग वरपरका व्यापारिक सटरमा टू लेट लेखिएका सूचना प्रशस्त भेटिन्छन्। पसलमा विभिन्न अफर दिएर सामान खाली गर्ने र अर्को ठाउँ सार्ने तयारी गरिररहेको दृश्य त्यहाँ पुग्नेले दैनिकजसो देख्न सक्छन्।
दरबारमार्ग संघीय राजधानीको परिचित र प्रमुख व्यापारिक गन्तव्य हो। स्वदेशी तथा विदेशी पर्यटक रोजाइमा पर्ने दरबारमार्गमा विश्वप्रसिद्ध ‘ब्रान्ड’ जताततै छन्। हरेक चीजको केन्द्र बनेको दरबारमार्ग पार्किङ हटाएकै कारण अहिले सुनसान बन्दै गएको छ। अझ, विगतजस्तो रोनकता आज दरबारमार्गमा देख्न पाइँदैन। ब्रान्डेड लोगोसहित झोला झुन्ड्याउँदै मानिस यताउता गरिरहेको देख्न झनै मुस्किल छ।
दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जीव तुलाधरका अनुसार राणा र राजाका पालादेखिकै भीआईपी क्षेत्रको चहलपहल घट्नुको प्रमुख कारण ‘पार्किङ’ हट्नु हो। ‘काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले अहिले जे गरिरहेका छन्, त्यो राम्रै सोचेर गरेका होलान्। त्यसमा हामी पूर्ण साथमा छौं,’ अध्यक्ष तुलाधरले भने, ‘तर, दरबारमार्गको पार्किङ विषयमा उहाँले राम्रोसँग नबुझेजस्तो लागेको छ। जसले उहाँलाई यो ठाउँबारे बुझाउनुपर्ने हो, त्यसमा उल्टो बुझाएको निष्कर्ष हाम्रो हो।’
पार्किङ नहटाउँदासम्म दरबारमार्ग क्षेत्रबाट मात्र दैनिक १२ देखि १४ करोडसम्मको व्यापार हुन्थ्यो। यो भनेको एक महिनामा करिब ५ अर्ब हाराहारीको व्यापार हो। त्यसबाट १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) सरकारलाई सीधै जान्थ्यो भने आयकर पनि सरकारले प्राप्त गरिरहेको थियो।
कसैले त्यहाँबाट आफ्नो व्यवसाय अर्को ठाउँमा सिफ्ट गरेका छन् भने केही व्यवसायबाटै पलायन भए।
‘अहिले व्यापार घटेर दैनिक २/३ करोडसमेत हुन मुस्किल भएको छ। यसबाट हामी व्यवसायीलाई मात्र होइन, सरकारले पाउने राजस्वसमेत कटौती भएको छ। यो राज्यले नै दरबारमार्गका व्यवसायीप्रति गरेको अन्याय हो,’ विकास बोर्ड अध्यक्ष तुलाधरले भने, ‘यसलाई तत्कालै समाधान गरी पुरानै लयमा दरबारमार्गलाई नलगिए यहाँका धेरै व्यवसाय बन्द हुन्छन्। यसले व्यवसायी डुब्छन् नै, त्यसमा निर्भर हजारौं श्रमिक बेरोजगार हुने अवस्था आउन सक्छ। यस्तो बेला यसको जिम्मेवारी कसले लिने?’
दरबारमल, अन्नपूर्ण होटलमा पार्किङको वैकल्पिक व्यवस्था पर्याप्त छैन। दरबामार्गका व्यापारका लागि त्यति ठाउँको पार्किङले पुग्दैन। अहिले यहाँको व्यापार सुस्ताउनुको मुख्य कारण नै पार्किङ हो। यसमा महानगरले तत्कालै बुझेर समस्या समाधान गरिदिनुपर्ने व्यवसायीको आग्रह छ।
महानगरले सडक व्यवस्थित गर्ने बताएर तीन वर्षअघि सडकमा पार्किङ निषेध नियम ल्याएपछि दरबारमार्ग क्षेत्रको व्यापार र माहोल ओरालो लागेको मात्र छैन, धेरै व्यवसायी विस्थापित भइसकेका छन्। कसैले त्यहाँबाट आफ्नो व्यवसाय अर्को ठाउँमा सिफ्ट गरेका छन् भने केही व्यवसायबाटै पलायन भए।
लामो समयदेखि सञ्चालनमा रहेको ब्लाक बेरी कपडा पसल बन्द भयो भने लन्डन पबसहित धेरै पसल र रेस्टुराँ बिक्रीमा छन्। केही वर्षअघि मात्र खुलेका दरबारमल र दरबारमल-१ मा सटर भरिने र खाली हुने क्रम तीव्र छ।
दरबारमलमा केही सटर अझै खाली छन्। दरबामार्गमा लामो समयदेखि दामिलानो इटालिया र इन्डियन टेरेर सञ्चालन गर्दै आएको आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डे पार्किङ हट्दा पुराना सटर खाली हुँदै गएको र नयाँ बनेका मलमा भरिनै मुस्किल हुन लागेको बताउँछन्।
‘ग्राहकलाई दरबारमार्गमा सपिङ गर्न जाने रहर भए पनि पार्किङ नहुँदा आइपर्ने समस्या सम्झिएर अन्यत्र मोडिन थालेका छन्,’ प्रबन्ध निर्देशक पाण्डेले भने, ‘ग्राहक सिफ्ट भएसँगै यहाँको धेरै पसल पनि अन्यत्र सर्न थाले। तीमध्ये धेरै ललितपुरको कुमारीपाटी पुगिसकेका छन्।
तीन वर्षअघिसम्म दरमार्गको एक साइडमा सवारीसाधान पार्किङ गर्ने व्यवस्था महानगरले नै गरेको थियो। निश्चित शुल्क लिएर सडकको एक छेउ पार्किङ गराउँदा पनि सवारी आउजाउमा कुनै समस्या थिएन। तर, जब महानगरमा नयाँ नेतृत्व अर्थात् मेयर बालेन आए, सडक व्यवस्थित गर्ने नाममा खाली गराए।
![476024164_616428480980709_5677775948728388066_n-1739098350.jpg](https://www.capitalnepal.com/uploads/posts/476024164_616428480980709_5677775948728388066_n-1739098350.jpg)
यसको प्रभाव अहिलेसम्म दरबारमार्गले भोगिरहेको छ। सडक खाली गराउँदा सुरुमा पार्किङको विकल्प दिने भनिए पनि हालसम्म कहाँ राख्ने भन्ने निश्चित हुन सकेको छैन। सोही कारण त्यस क्षेत्रमा जाने भन्नेबित्तिकै पार्किङको उचित व्यवस्थापन नभएको र ट्राफिकले अनावश्यक दुःख दिने भन्दै उपभोक्ता अन्यत्र मोडिन थालेका छन्। यसले दरबारमार्गको रौनक मात्र गुमाएको छैन, रोजगारीसँगै सरकारको आम्दानीसमेत गुम्दै गएको छ।
दरबारमार्गमा व्यवसाय गर्दै आएका व्यवसायी भन्छन्, ‘पार्किङ हटाएर गल्ती गरियो भन्ने होइन, विकल्प नदिएको भन्ने हो। हिजो मानिस आफ्ना सवारीसाधन जसरी सजिलै त्यहाँ राखेर सामान खरिद गर्न जान्थे, आज त्यो स्थिति छैन। मानिसलाई असहज भएपछि त्यसतर्फ आकर्षिन नहुनु स्वाभाविककै हो।’
दरबारमलका सञ्चालक दिप्रश शाक्यले पार्किङ छैन भन्ने सन्देशका कारण ठाउँ राम्रो हुँदाहुँदै पनि सटर भरिन नसकेको बताउँछन्। ‘लामो समयदेखि सटर खाली हुँदा व्यवसायीलाई मात्र हैन, त्यसको घाटा महानगरले समेत भोगिरहेको छ,’ सञ्चालक शाक्यले भने, ‘घरबहाललगायत अन्य करबाट महानगर वञ्चित भइरहेको छ।’
ब्रान्ड भित्रिइरहँदा सम्बन्धित पसलको मात्र चहलपहल बढेको छैन, कुमारीपाटी क्षेत्रकै परिचय बदलिएको छ।
दरबारमार्ग क्षेत्रका व्यापारीले एउटै सटरको मासिक भाडा १० देखि १५ लाख रुपैयाँसम्म बुझाउनुपर्ने सम्बद्ध व्यापारी बताउँछन्। दायाँ-बायाँ वर्षौंदेखि व्यापार गरिरहेका रेस्टुरेन्ट, ब्रान्डेड सामानका पसल, होटल, जुत्ता, कस्मेटिक, गहना पसल, अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्ट, चस्मा पसल, बुटिक, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामानका पसललगायत कारोबार लगभग ठप्पै भएको लिक्यूड लाउन्ज सञ्चालक सञ्जीव लामा सुनाउँछन्।
‘उसै पनि बजारमा किनमेल गर्न आउनेको संख्या खुम्चिरहेका बेला पार्किङ हटाउँदा झनै समस्यामा परिरहेका छौं,’ व्यवसायी लामाले भने, ‘अन्नपूर्ण होटल पुनर्निर्माणमा लागिसकेकाले त्यहाँको पार्किङ बाहिरका लागि सम्भावना नै हुँदैन। यस्तो बेला महानगरले वैकल्पिक व्यवस्था नगरी उम्किन मिल्दैन।’
![475964248_4820498648174393_2804971779965637350_n-1739098331.jpg](https://www.capitalnepal.com/uploads/posts/475964248_4820498648174393_2804971779965637350_n-1739098331.jpg)
अहिले ग्राहकको दरबारमार्गप्रतिको धारणा नै नकारात्मक भइसकेको छ। कसैले दरबारमार्ग जाऔं भने त्यहाँ पार्किङ छैन भनेर अन्य ठाउँ जाने निधो गर्न थालिसकेको उनले बताए। ‘दरबारमार्ग आउने ग्राहकको गन्तव्य परिवर्तन हुन थालेको छ। सोही कारण यहाँको व्यापार, व्यवसाय सुस्ताएको छ’, उनले भने, ‘आजका दिनमा पार्किङ सुविधा नभएर मानिस अन्यत्र लागिसकेपछि फेरि केही समयमा पार्किङ व्यवस्था भए पनि त्यहाँ मानिस जाँदैनन्। कारण त्यहाँका ब्रान्डेड पसल अन्यत्र सरिसकेका हुनेछन् भने मानिसमा अन्यत्र जाने बानी बसिसकेको हुन्छ।’
दरबारमार्ग विकास बोर्ड सदस्य यज्ञराज पाण्डेले सालिकदेखि दरबारअगाडी मात्र २०० भन्दा बढी पसलहरु सञ्चालन हुँदै आएको बताए। पछिल्लो केही वर्षदेखि मुख्य सडकमा रहेका तल्लो सटरहरु सञ्चालनमा रहे पनि माथिल्लो तलामा रहेका पसलहरु भने खाली भइरहेको उनले बताए।
‘पसलको संख्या थपघट हुने गरेको छ,’ बोर्ड सदस्य पाण्डेले भने, ‘४० देखि ६० भन्दा बढी पसलहरु बन्द भइसकेका छन् भने अरु पनि खाली हुने तयारीमा छन्।’ दरबारमार्ग क्षेत्रमा रहेका केही घरमा पार्किङ रहे पनि अन्यमा छैन। भएका पार्किङ पनि आफ्नै घरका ग्राहकलाई मात्र धान्ने रहेकोले बाहिरबाट आउनेहरुको पार्किङ पाउनै मुस्किल हुँदा ग्राहकहरु नआउने गरेको र त्यसको मार व्यवसायमा प्रत्यक्ष रुपमा परेको उनले बताए। दरबामार्ग क्षेत्रको बाहिरी र भित्रि सडकमा गरी ५ देखि ७०० भन्दा बढी पसलहरु सञ्चालनमा रहेको छ। ती मध्ये आधाभन्दा बढी बन्द हुने स्थिति र अन्य ठाउँमा सार्ने मनस्थितिमा पुगिसकेको बोर्ड सदस्य पाण्डेले जानकारी दिए।
यसरी बनेको थियो दरबारमार्ग दरबारमार्ग नेपालको राजधानी काठमाडौंको एक प्रमुख स्थान हो, जसले आधुनिक नेपालको शहरी योजनाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ। यसको निर्माण र विकास विशेषतः राजा महेन्द्रको पालामा भएको मानिन्छ। यो स्थानको इतिहास, यसको विकासक्रम, र वर्तमान अवस्थामा यसको भूमिका नेपालका लागि धेरै महत्वपूर्ण छ। दरबारमार्गको प्रारम्भिक अवस्था साधारण थियो। काठमाडौं उपत्यकामा यो क्षेत्र कुनै विशेष विकसित क्षेत्र थिएन। यो सामान्यतः खेतीयोग्य जमिन र केही बस्तीका रूपमा परिचित थियो। राणा शासनकालमा काठमाडौं उपत्यकामा बबरमहल, सिंहदरबार, र थापाथलीजस्ता महत्वपूर्ण दरबारहरू निर्माण भए। यस समयमा दरबारमार्ग क्षेत्रमा पनि केही प्रभाव परेको थियो, तर यो मुख्य शहरी क्षेत्रको रूपमा विकसित भएको थिएन। राजा महेन्द्रको शासनकालमा दरबारमार्गले ठूलो रूपान्तरण अनुभव गर्यो। राजा महेन्द्रले काठमाडौंलाई आधुनिक शहरका रूपमा विकास गर्ने योजना अन्तर्गत दरबारमार्गलाई प्राथमिकता दिए। नारायणहिटी दरबारलाई पुनर्निर्माण गरी राजदरबारको रूपमा विकसित गरियो। यसले दरबारमार्गलाई सांस्कृतिक र प्रशासनिक महत्व प्रदान गर्यो । नारायणहिटी दरबारलाई अन्य प्रमुख शहरी क्षेत्रहरूसँग जोड्न फराकिलो र सुगम सडक निर्माण गरियो। यही सडकलाई दरबारमार्ग नाम दिइएको हो। दरबारमार्गको विकासक्रममा महत्वपूर्ण मिति तथा घटनाहरूले यो स्थानको विकासलाई परिभाषित गरेको छ । १९५१ मा राणा शासन अन्त्य भएपछि काठमाडौंको शहरीकरण प्रक्रियाले गति लिएको थियो । १९६० को दशकमा राजा महेन्द्रले दरबारमार्गलाई आधुनिक शहरको केन्द्रका रूपमा विकास गर्न थालेपछि यसको आकर्षण विस्तारै त्यही बेलादेखि बढ्दै गएको देखिन्छ । १९६३ मा नारायणहिटी दरबारलाई पुनर्निर्माण गरी राजदरबारको रूपमा परिभाषित गरिएपछि यो क्षेत्र हाइ प्रोफाइलको गन्तव्य बन्न थाल्यो । र १९७० को दशकमा दरबारमार्गमा लक्जरी पसलहरु, होटलहरु, र रेस्टुरेन्टहरूको स्थापना सुरु भएपछि चहलपहल बढ्दै गयो । १९८० को दशकमा विदेशी पर्यटकहरूको आगमनले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा परिचित बनायो। नेपाल आउने पर्यटकलाई दरबारमार्ग ल्याण्डमार्क हुन थाल्यो । दरबारमार्गको विकासक्रममा फराकिलो सडक र व्यवस्थित फुटपाथहरूको निर्माण, लक्जरी होटल, रेस्टुरेन्ट, र ब्रान्डेड पसलहरूको स्थापना प्रमुख हुन् । यसले दरबारमार्गलाई व्यापारिक केन्द्र मात्र होइन, पर्यटकहरूको आकर्षणको मुख्य गन्तव्य पनि बनायो। दरबारमार्गको इतिहास र विकासले नेपालको शहरीकरण र आधुनिक सोचको अद्वितीय नमूना प्रस्तुत गरेको हुन्छ । नारायणहिटी दरबारको पुनर्निर्माणदेखि व्यापारिक र पर्यटकीय केन्द्रका रूपमा यसको विकाससम्म, यसले काठमाडौंको सांस्कृतिक, आर्थिक, र सामाजिक महत्वलाई अझै प्रस्ट पार्छ। दरबारमार्गले नेपाललाई आधुनिकता र परम्पराको सन्तुलित मिश्रणका रूपमा प्रस्तुत गरेको छ। |
चम्किँदै कुमारीपाटी
दरबारमार्गमा पार्किङ हटाइएसँगै अहिले त्यस क्षेत्रमा सञ्चालन हुँदै आएका ब्रान्डेड सप ललितपुर महानगरको कुमारीपाटी क्षेत्रमा पुगेका छन्। हुन त, ललितपुरमा यसअघि पनि ब्रान्डेड सप नखुलेका हैनन्। लामो समयदेखि सञ्चालनमा रहेको लबिम मलमा विभिन्न ब्रान्डेड सप छन्। तर, हबको रुपमा परिचित दरबारमार्गबाट विस्तारै ब्रान्डेड सप कुमारीपाटी क्षेत्रमा सिफ्ट हुँदै गएको भने पहिलो पटक हो।
ब्रान्डेड सप सञ्चालकको आँखा कुमारीपाटी क्षेत्रमा परेसँगै त्यहाँ रहेका पुराना घरसमेत अहिले स्तरोन्नति, रंगरोगनका काम हुन थालेका छन्। जति पनि नयाँ घर बनिरहेका छन्, त्यहाँ ब्रान्डेड सप नै खुलिरहेका छन्।
![476201234_1119763836599539_7389169735993653847_n-1739104794.jpg](https://www.capitalnepal.com/uploads/posts/476201234_1119763836599539_7389169735993653847_n-1739104794.jpg)
ललितपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं कुमारीपाटीका स्थानीय रवि महर्जन पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त ब्रान्डको रोजाइ यस क्षेत्रमा परिरहेको बताउँछन्। ‘ब्रान्डेड सपको आकर्षणले बजार चलायमान हुनुका साथै आसपासमा समेत व्यापार बढिरहेको छ,’ कोषाध्यक्ष महर्जनले भने, ‘ललितपुर महानगरले राम्रो साथ दिएको छ।’ महानगरले स्थानीयसँगको सहकार्यमा पार्किङ व्यवस्थापन गर्दा कुमारीपाटी क्षेत्रमा मात्र हैन, पुल्चोकदेखि अन्यत्रसमेत व्यापार बढिरहेको उनको बुझाइ छ।
कुमारीपाटी जावलाखेल व्यापार संघका महासचिव सुनीलकुमार श्रेष्ठले पार्किङ व्यवस्थापनकै कारण व्यापारमा सहज भएकाले ब्रान्डेड सपको आकर्षण बढेको हुन सक्ने बताए। ललितपुर महानगरले सुरुआती चरणमा पार्किङ हटाउन खोजे पनि व्यवसायीले बलियो लबिइङ गरेर मेयरलाई बुझाउन सकेकै कारण सहज भएको उनको तर्क छ। अहिले जावलाखेल हुँदै कुमारीपाटी क्षेत्रमा एकतर्फी पार्किङ खुलाइएको छ। सोही कारण व्यवसायीलाई व्यवसाय गर्न मात्र हैन, सामान किन्न आउने ग्राहकलाई समेत सहज भएको छ।
मन्त्रीनिवासदेखि ठूलाठूला र लक्जरी अपार्टमेन्टसमेत ललितपुरमै छन्, जहाँ बसोबास गर्ने परिवारको किनमेल गन्तव्य भनेकै दरबामार्ग थियो।
‘पछिल्लो केही वर्षदेखि दरबारमार्गबाट कुमारीपाटी क्षेत्रमा ब्रान्डेड सप सिफ्ट भएकै कारण यो वर्षको अंग्रेजी नयाँ वर्ष र क्रिसमस अवसरमा समेत भीडभाड बढेको देखियो,’ महासचिव श्रेष्ठले भने, ‘ब्रान्डेड सप खुल्ने क्रमले तीव्रता पाउँदा ललितपुर क्षेत्रमा चहलपहल बढेको छ। दरबारमार्गको तुलनामा कुमारीपाटी क्षेत्रमा केही भाडासमेत सस्तो भएको र पार्किङ सुविधा बढ्दा ब्रान्डेड सपको मात्र हैन, ग्राहक रोजाइ पनि यो क्षेत्रमा परिरहेको छ।’
दूरीका हिसाबले पनि दरबामार्गबाट कुमारीपाटीसम्मको यात्रा टाढा नभएको धनाढ्यको बसाइँ ललितपुर क्षेत्रमा विस्तार भइरहेका कारण ब्रान्डेड सपको यात्रा त्यस क्षेत्रमा परिरहेको विश्लेषण हुन थालेको छ। मन्त्रीनिवासदेखि ठूलाठूला र लक्जरी अपार्टमेन्टसमेत ललितपुरमै छन्, जहाँ बसोबास गर्ने परिवारको किनमेल गन्तव्य भनेकै दरबामार्ग थियो। अहिले कुमारीपाटी क्षेत्रमै ब्रान्डेड सप खुल्न थालेपछि घन्टौंसम्म जामको झन्झट बेहोर्दै काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता अहिले अन्त्य हुन थालेको बताइन्छ।
दुई दर्जन बढी ब्रान्ड कुमारीपाटीमा खुले
दुई वर्षका बीचमा कुमारीपाटी क्षेत्रमा मात्र दुई दर्जन बढी ब्रान्डले उपस्थिति जनाइसकेका छन्। दरबामार्गको विकल्पको रुपमा कुमारीपाटीमा पनि आफ्नो उपस्थिति जनाउनेमा जोकी, एन्टा, एभिन्यू ८८, साल्ट, स्टुडियो ९, जिम्नी, हिमालयन जाभा, ओलिज स्टोर, त्रिसारा, मिटर्स बन्वे, साम्स कफी प्लस, उडल्यान्ड, पुमा, पिक, बबलगम, पिटरइंग्ल्यान्ड, केडीए, स्केचर्स, आक्सेम्बर्ग, सेमिर, एडिडासलगायतका ब्रान्ड र ब्रान्डेड सप सञ्चालनमा आइसकेका छन्। यस्तै अन्य ब्रान्ड पनि कुमारीपाटीमा खुल्ने तयारीमा रहेको बताइएको छ। ब्रान्ड भित्रिइरहँदा सम्बन्धित पसलको मात्र चहलपहल बढेको छैन, कुमारीपाटी क्षेत्रकै परिचय बदलिएको छ।
कुमारीपाटीमा निःशुल्क, दरबारमार्गमा सशुल्क
ललितपुर क्षेत्रको कुमारीपाटीतर्फको सडकमा एकतर्फी पार्किङ व्यवस्था गरिएको छ। समानान्तर पार्किङ व्यवस्था ललितपुर महानगर नगर प्रहरीले गरेको छ। यतिसम्म कि त्यस क्षेत्रमा पार्किङ गर्दा शुल्कसमेत लाग्दैन। तर, दरबामार्ग क्षेत्रमा राखिएका पार्किङमा एक घन्टाको मोटरसाइकलको ३० र गाडीको १०० रुपैयाँ बुझाउनुपर्छ। ललितपुर क्षेत्रमा पनि सशुल्क पार्किङको पनि व्यवस्था गरिए पनि बाध्यकारी छैन। निःशुल्क पार्किङमा निश्चित समयका लागि मात्र राख्न पाइन्छ। यसलाई लामो समयसम्म पार्किङ गर्नुपर्दा सवारीधनीले शुल्क तिर्नुपर्छ।
![477036347_610824111722845_2614936313662038582_n-1739104794.jpg](https://www.capitalnepal.com/uploads/posts/477036347_610824111722845_2614936313662038582_n-1739104794.jpg)
सहज रुपमा पार्किङ नपाउने दरबारमार्गमा पार्किङ शुल्क महँगो हुँदा मारमा परिरहेका ग्राहक निःशुल्क र सहज पार्किङ व्यवस्था हुँदा ललितपुर क्षेत्रमा चहलपहल मात्र बढेको छैन, त्यस क्षेत्रको व्यापारमा समेत चमक ल्याइरहेको छ।
उद्योग वाणिज्य संघ ललितपुरका कोषाध्यक्ष महर्जन पार्किङ व्यवस्थापनमा महानगरले स्थानीय र व्यवसायीसँग समन्वय गरेका कारण सहज भइरहेको बताउँछन्। ‘व्यापार व्यवसाय सहज हुने र यातायातसहित सर्वसाधारणलाई सजिलो हुने गरी पार्किङ व्यवस्थापन हुँदा राम्रो भएको छ,’ कोषाध्यक्ष महर्जनले भने, ‘स्थानीय तहको सहयोगले राम्रो भएको छ।’
भेट्नै मान्दैनन् मेयर बालेन
ललितपुर महानगरका मेयर चिरबाबु महर्जनले स्थानीय र स्थानीय व्यवसायीसँग जसरी पार्किङ व्यवस्थापनका लागि समन्वय, छलफल गर्छन्, त्यसरी काठमाडौंका मेयर बालेन्द्र शाहले गरिरहेका हुँदैनन्। दरबारमार्ग विकास बोर्डका अध्यक्ष तुलाधरका अनुसार लामो समयदेखि मेयर बालेनसँग भेटेर पार्किङ व्यवस्थापनका लागि छलफल गर्न खोज्दासमेत समय दिएनन्।
‘महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेमार्फत पार्किङ व्यवस्थापनका लागि पटक-पटक छलफलका लागि अनुरोध गरियो,’ अध्यक्ष तुलाधरले भने, ‘अहिले बनाइएको संरचना राम्रो छ। तर, व्यवस्थापन राम्रो नहुँदा समस्यामा परिरहेका छौं। आफ्ना कुरा राख्न खोज्दा भेट दिनै मान्नुहुन्न।’
काठमाडौंका अन्य क्षेत्रभन्दा दरबामार्ग क्षेत्रको पार्किङ भिन्न तरिकाले गरिरहेकाले सुरुआतदेखि नै भेटेर बुझाउन खोज्दा पनि बेवास्ता गरेको उनको भनाइ छ।
‘होराइजेन्टल पार्किङ’ हुन सक्छ विकल्प
पार्किङ हटाउनु मात्र समस्याको समाधान होइन। अहिले भएकालाई नै व्यवस्थित गर्ने उपायमा पनि जानेतर्फ विकल्प ल्याउन आवश्यक छ। संसारका विकसित र व्यस्त सहरभित्र पनि पार्किङ अनिवार्य व्यवस्था गरिएको हुन्छ। काठमाडौं महानगरले पनि त्यसको सिको गर्न आवश्यक देखिन्छ।
दरबारमार्गकै कुरा गर्दा अहिले भर्टिकल (ठाडो) गरेर गाडी र मोटरसाइकल पार्किङ गरिँदै आएको छ। विस्तारै यहाँबाट अन्य ठाउँमा पार्किङ सार्न अहिलेको व्यवस्थाबाट अर्को सुरु गर्न ‘होराइजेन्टल’ (तेस्रो) पारेर राख्न सकिन्छ। यसो हुँदा एकचोटिमा ४६ वटा गाडी अट्ने ठाउँमा २०/२२ वटा गाडी त अट्न सक्छ। यसो हुँदा पनि पहिलो चरणको महानगरको योजनाअनुसार सफल हुँदै पनि जान्छ र व्यापार, व्यवसायमा कुनै असर पनि पर्दैन।
काठमाडौं महानगरले अहिले वैकल्पिक पार्किङका रूपमा अन्नपूर्ण होटल, दरबारमल र विश्वज्योति हललाई अगाडि सारेको छ। तर, ती ठाउँले मात्र दरबारमार्गको फ्लो (आउजाउ) का लागि पर्याप्त हुन सक्दैन। यसअघि गरेको पार्किङमा ४६ बढी गाडी एकसाथ राख्न सकिन्थ्यो भने २/३ सय मोटरसाइकल आउजाउ गरिरहेका हुन्थे। सँगै ट्याक्सी स्ट्यान्ड पनि थियो।
पार्किङ गर्नेले दिनभरि नै राख्छन् भन्ने हुँदैन। निश्चित समय आधा घन्टादेखि बढीमा दुई घन्टासम्म गाडी र मोटरसाइकल पार्किङ गर्ने हुन्। जसले ३०/३० मिनेट मात्र मोटरसाइल र गाडी पार्किङ गर्दै जाँदै गर्दा दिनभरिमा हजारौं सवारीसाधन आउजाउ गर्न पाउँथे।
४६ वटा गाडी १/१ घन्टा मात्र पार्किङ गर्दा पनि दैनिक ८ घन्टामा ३६८ वटाले पार्किङ गर्न पाउँछन्। दरबारमार्गमा धेरै बैंक, विभिन्न ब्रान्डका सोरुम, ब्रान्डेड रेस्टुराँ, लाउन्ज, बार, पबसहित होटल सञ्चालन भएका ठाउँमा हजारौं कर्मचारी छन्। तिनले समेत आफ्ना सवारीसाधन पार्किङ गर्न पाइरहेका छैनन्। फेरि, दरबामार्गमा अहिले आएर पार्किङ राखिएको पनि होइन। सञ्चालनमा आएदेखि नै एक क्षेत्रमा पार्किङ व्यवस्था भएको हो। पाँच लेनको सडकमा एक लेन पार्किङका रूपमा वर्षौंदेखि प्रयोग भइरहेको थियो।