काठमाडौं। साताको पहिलो कारोबारको दिन सेयर बजार ११.४९ अंकले गिरावट भएको छ। लगातार चौथो दिन आज सेयर बजार सूचक नेपल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अंकले घट्दै २६८८.३१ विन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा रोकिएको थियो।
आइतबार नेप्सेमा गिरावट भए पनि कारोबार रकम ८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अघिल्ले कारोबार दिन बिहीबार ९ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज कारोबार भएमध्ये ६८ कम्पनीका सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ। यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। जसमा सेन्ट्रल फाइनान्स र गार्डियन लाइफ इन्सुरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०६ प्रतिशतले बढेको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.५२ प्रतिशत, सिन्धु विकास बैंक ५.६१ प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी ४.६४ प्रतिशतले घटेको छ।
बैंकिङ समूह सेयर मूल्य ०.३५ प्रतिशत, विकास बैंक समूहको सेयर मूल्य १.३५ प्रतिशत, होटल तथा पर्यटन समूह ०.२४ प्रतिशत, हाइड्रोपावर समूह ०.५० प्रतिशत, लगानी समूह ०.३९ प्रतिशत, जीवन बिमा समूह ०.७६ प्रतिशत, म्युचअल फण्ड ०.३० प्रतिशतले घटेको छ।
यस्तै, फाइनान्स समूहको सेयर मूल्य ०.८० प्रतिशत, उत्पादन समूह ०.१५ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.२५ प्रतिशतले बढेको छ।