काठमाडौं। सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक महिना अघिदेखि कुनै पनि हेलिकोप्टरले उडान गर्न पाएको छैन। सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बुपासाङ गाउँपालिकाले हेलिकोप्टर उडानमा रोक लगाएपछि हेलिकोप्टर कम्पनी समस्यामा परेका हुन्।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हेलिकोप्टर उडानले हुने अत्यधिक आवाज प्रदुषणका कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको बासस्थानमा असर परेको जनाउँदै व्यावसायिक हेलिकोप्टर उडानलाई पुस १७ देखिपूर्ण रोक लगाएको छ।
खासगरी खुम्बु क्षेत्रमा चार्टर उडान गर्दै आएको हेलिकोप्टर कम्पनीले एक महिनादेखि त्यहाँका निकुञ्ज र गाउँपालिकाले रोक लगाएपछि काठमाडौंमा हेलिकोप्टर राखिएको छ। चार्टर उडान नै मुख्य भएको हेलिकोप्टर कम्पनी एक महिनादेखि उडान रोकिँदा आर्थिक रुपमा ठूलो नोक्सानी बेहोरिरहेको जनाएको छ। हेलिकोप्टरलाई पाङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा कार्गो ढुवानी गर्न पनि रोक लगाइएको छ।
खुम्बु क्षेत्रमा स्थानीयको उद्धार, सामान ढुवानी र पर्यटकका लागि हेलिकोप्टरले काठमाडौं, रामेछाप र लुक्लाबाट चार्टर उडान गर्दै आएका छन्। वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले निकुञ्जले उडानमा खुल्ला गरे पनि गाउँपालिकाले अवरोध जारी राख्दा समस्या भएको बताए।
‘स्थानीयसँग मिलेर पालिकाले उडान रोक्दा हामीलाई समस्या भएको छ’, अध्यक्ष कार्कीले भने, ‘सहमतिका लागि विभिन्न चरणमा वार्ता भइरहेको छ, अबको केही दिनमा समधान आउछ होला।’
एक महिनादेखि उडान रोक्दा व्यवसायिक रुपमा ठूलो घाटा हुनुको साथै अन्तर्राष्ट्रिय रुपमा नकरात्मक प्रभावसमेत परेको एक व्यवसायीले बताए। ‘निकुञ्ज र पालिकाको अवरोधपछि अहिले विदेशीले बुकिङ रद्द गर्न थालेका छन्,’ ती हेलिकोप्टर व्यवसायीले भने, ‘यसबाट हामीलाई मात्र हैन, निकुञ्ज र पालिकालाई समेत ठूलो घाटा हुन्छ।’
एक जना यात्रु खुम्बु क्षेत्रमा हेलिकोप्टरमार्फत जाँदा राज्यले ६ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको थियो। त्यो रकम निकुञ्ज र पालिकाको नाममा जान्छ। उडान अनुमति लिएर उडान गरिरहँदा पालिकाले एक्कासी उडान रोक्ने निर्णय गर्दा समस्या भएको ती व्यवसायीले बताए।
खुम्बु क्षेत्रमा अल्टिच्युड, फिस्टेल, श्री, सिम्रिक, हेली एभरेस्ट, एयर डायनेस्टी, प्रभु, कैलाश, अन्नपूर्ण, माउन्टेन, र मनाङ एयरका हेलिकोप्टरले चार्टर तथा उद्धार उडान गर्दै आएका थिए।
कोभिड कालकै अवस्था पुग्न थाले कम्पनी, कर्मचारी घटाउने सुर हेलिकोप्टरको मूख्य गन्तव्य भनेकै खुम्बु क्षेत्र हो। त्यही क्षेत्रमा उडान गर्न नपाएपछि अहिले अधिकांश हेलिकोप्टर कम्पनीको वित्तीय अवस्था खस्किँदै गएको जनाएको छ। एक महिनादेखि हेलिकोप्टर थन्किएर बसे पनि बीमा, बैंकको ब्याज, कर्मचारीलाई तलब र विमानस्थलमा पार्किङ शुल्क तिरिरहेको हुन्छ।
व्यवसायिक उडान नभएपछि अहिले हेलिकोप्टर कम्पनीको आम्दानी सुस्ताउँदा कोभिड कालकै अवस्थामा आफूहरू पुग्न थालेको व्यवसायीको गुनासो छ। अहिलेकै स्थिति कायम रहे केही दिनदेखि कर्मचारी कटौटीसँगै तलब भत्ता घटाउनेसम्ममा पुग्नुपर्ने स्थिति आउने व्यवसायीको भनाइ छ। अहिले कोभिड अघिकै जसरी कर्मचारीलाई सेवा सुविधा दिइरहेको थियो।