काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको देखिएको छ। लिमिटेडले सार्वजनिक गरेको आव २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भएको छ।
कम्पनीले चालु आवको पुससम्ममा ६५ करोड ७३ लाख ८६ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ। गत आवको सोही अवधिमा कम्पनीको कुल नाफा ४३ करोड ३६ लाख २१ हजार रुपैयाँ थियो।
कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको कम्पनीको वित्तीय विवरणअनुसार रिलायन्सको कर तिरेपछिको नाफा १३ करोड ८५ लाख रुपैयाँले बढेको छ। चालु आर्थिक वर्षको पुससम्ममा कम्पनीको करतिरेपछिको नाफाँ १८ करोड ८८ लाख ८२ हजार रुपैयाँ पुगेको छ। गत आवको पुससम्मा कम्पनीको यस्तो नाफा १ करोड ६० लाख २९ हजार रुपैयाँ थियो।
चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २२ रुपैयाँ १९ पैसा कायम भएको छ। यसअघि चालु आवको पहिलो त्रैमासमा कम्पनीको इपीएस १९ रुपैयाँ ९५ पैसा रहेकोमा दोस्रो त्रैमासमा यसले उल्लेख्य सुधार भएको हो। गत आवको पुसमा कम्पनीको इपीएस १.८८ रुपैयाँ थियो।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा रिलायन्सले ४ अर्ब ८४ करोड ३५ लाख ७२ हजार रुपैयाँको व्यापार गरेको छ। यस्तै २ करोड ३३ लाख ४० हजार रुपैयाँ अन्य आम्दानी गरेको छ। गत आवको पुससम्ममा कम्पनीले ४ अर्ब ८२ करोड ९० लाख ९० हजार रुपैया बराबरको व्यापार गरेको थियो भने सो समयमा अन्य आम्दानी ८० लाख ९६ हजार रहेको थियो।
चालू आवको दोस्रो त्रैमासम्ममा रिलायन्सले ४६ करोड ८७ लाख ५४ हजार रुपैयाँ कुल खर्च रहेको छ। गत आवको सोही अवधिमा कम्पनीको कुल खर्च ४२ करोड ५६ लाख ८८ हजार रुपैयाँ थियो। चुक्तापुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङ मिल्सको अन्य इक्विटी ५ अर्ब ५३ करोड ४५ लाख ७८ हजार रुपैयाँ पुगेको छ। गत आवको पुससम्ममा अन्य इक्विटी ५ खर्ब ३१ करोड १३ लाख ४२ हजार रुपैयाँ थियो।
रिलायन्स स्पिनिङ्स मिल्स लिमिटेड विसं। २०५४ मा स्थापना भएको कम्पनी हो। स्थापनाको २७ वर्षसम्ममा रिलायन्समा १५ अर्ब रुपैयाँ लगानी पुगिसकेको छ भने ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ।
सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ। यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ। कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा रहेको छ।