काठमाडौं। दक्षिण कोरियाली कार निर्माता कम्पनी किया मोटर्सलाई भारतीय बजारमा करोडौं डलर कर छली आरोप लागेको छ। भारतमा किया मोटर्सले १५५ मिलियन डलर कर छलेको आरोप लागेको हो। तर, कियाले भने यसलाई अस्वीकार गरेको छ।
कियाको कार्निभल कार मोडल लट र कम्पोनेन्ट अलग–अलग बन्दरगाहमा आयात गरिएको पत्ता लागेपछि भारतले कर छलीको भएको बताएको हो।
सरकारको ४३२ पृष्ठको सूचनाले कियाले कार्निभल कार मोडलका लागि कम्पोनेन्ट एकल ढुवानीको रूपमा नभई छुट्टाछुट्टै लटमा आयात गरेको आरोप लागेको छ।
कियाले भारतीय कर सूचनाविरुद्ध लड्न ३२ मिलियन डलर जम्मा गरेको छ। भारतीय कर नियमले किया विवादमा ३१० मिलियन डलरसम्म वा जरिमाना र ब्याजसमेत गरी छुटेको रकम लगभग दोब्बर हुन सक्ने अनुमान गरिएको छ।
रोयटर्सका अनुसार कियामाथि कार्निभलका लागि ९० प्रतिशतभन्दा बढी पार्टपुर्जा आयात गरेको आरोप लगाइएको छ। यसले सिकेडी फारममा कार बनाएको थियो।
भारतका अप्रत्यक्ष कर प्रमुख सञ्जयकुमार अग्रवालले केही अटो निर्माताले सीकेडी शुल्क नतिरेर यसलाई उल्लंघन गरिरहेको बताएका छन्।
कियाको केस फक्सवागनसँग मिल्दोजुल्दो छ। यसलाई पूर्ण रूपमा नक डाउन वा सिकेडी फारममा एकै ढुवानीमा आयात गरिएका पार्टपुर्जामा लागू हुने ३० प्रतिशतदेखि ३५ प्रतिशतको उच्च कर छल्ने आरोप लगाइएको छ।
फक्सवागन अनुसन्धानले स्कोडा कोडियाकदेखि अडी ए३ र फक्सवागन टिगुआनसम्म १४ कार मोडलमाथि औंला उठाइएको थियो। कियाको भने कार्निभल मोडेल मात्र सम्बन्धित छ।७ सिटर कार्निभल भारतमा सबैभन्दा महँगो कारमध्ये एक हो।
कियाले विश्वको तेस्रो ठूलो अटो बजारमा हुन्डाई र मारुती सुजुकीसँग प्रतिस्पर्धा गर्दै आएको छ, जहाँ यसको वार्षिक ४ मिलियन युनिटको ६ प्रतिशत हिस्सा छ। यसका किया सेल्टोस र सोनेट एसयूभी शीर्ष बिक्रेतामध्ये छन्।
कियाले चेन्नाईका भन्सार आयुक्तद्वारा जारी कर दाबीमा प्रमाण र कागजातद्वारा समर्थित विस्तृत प्रतिक्रिया पेस गरिसकेको जनाएको छ। कियाको आन्ध्र प्रदेशमा उत्पादन प्लान्ट छ। यसको सुरुआत २०१९ मा भएको थियो।
कम्पनीले त्यसयता भारतमा एक मिलियन बढी कार बेचेको छ।–एजेन्सीको सहयोगमा