लन्डन। नेपाली उद्यमीहरूले बेलायतको अल्डरसटमा रहेको वेलिङटन सपिङ सेन्टर र त्यससँगै जोडिएको सम्पत्ति खरिद गरेका छन।
झण्डै १ अर्ब ७५ करोड रुपैयाँ (१० मिलियन पाउण्ड) मा यो सम्पत्ति पीआरएन इन्भेस्टमेन्ट लिमिटेड ले प्राप्त गरेको हो।
![705e8e3d-b9bc-41e5-a87e-6920a17c7c6b-1739018862.jpg](https://www.capitalnepal.com/uploads/posts/705e8e3d-b9bc-41e5-a87e-6920a17c7c6b-1739018862.jpg)
सबैभन्दा ठूलो नेपाली लगानी
नेपाली व्यवसायीहरूले बेलायतमा गरेको यो लगानी हालसम्मकै सबैभन्दा ठूलो मानिएको छ। यस प्रोजेक्ट अन्तर्गत, ५६ वटा व्यवसायिक युनिट, ९ तले अफिस भवन (भिक्टोरिया हाउस), युनियन स्ट्रिटका ६ वटा फ्रिहोल्ड भवन खरिद गरिएका छन।
यस क्षेत्रको प्रमुख सपिङ मलमा स्पेकसेभर, म्याकडोनाल्डस, सबवे, जेडी स्पोर्टस्, पिककक, नेसनवाइड बैंक, पोस्ट अफिस, बुट्स, जिमखाना जस्ता प्रतिष्ठित ब्रान्डहरू सञ्चालनमा छन। साथै, ५ सय क्षमताको कार पार्किङ समेत छ।
![233cb1ab-9730-44ca-ab89-2027298859fd-1739018854.jpg](https://www.capitalnepal.com/uploads/posts/233cb1ab-9730-44ca-ab89-2027298859fd-1739018854.jpg)
व्यवसायी गिरीको जीवनको ठूलो खुड्किलो
पीआरएन इन्भेस्टमेन्ट लिमिटेड का संस्थापक निर्देशक पुरन गिरीका अनुसार, यो प्रोजेक्ट पूरा गर्न ६–७ महिना लागेको थियो।‘यति ठूलो प्रोजेक्ट हात पार्न धेरै संघर्ष गर्नुपर्यो। लेन्डरको कडा नियमका कारण प्रक्रिया झन् जटिल भयो,’ गिरीले भने।गिरीले बेलायतमा एम्पायर हल (२०१५) र सुसी मोटो (२०२२) सञ्चालन गरिसकेका छन। उनी बेलायतमा पहिलो नेपाली ट्याक्सी व्यवसाय सुरू गर्ने व्यक्ति पनि हुन।
नेपाली समुदायका लागि गौरवको विषय
पीआरएन इन्भेस्टमेन्ट लिमिटेडका अन्य निर्देशक राजकुमार गुरुङ र नारायण गिरी समेत रहेको टोलीले यो परियोजनालाई नेपाली समुदायकै गौरवको विषय बनाउन चाहेको बताएको छ।यस प्रोजेक्टमा फिसटेल प्रपर्टी सोलुसन ले एसेट म्यानेजमेन्टको जिम्मा लिएको छ। किङ्सगेट फाइनान्सका प्रजेश श्रेष्ठ ले फाइनान्स व्यवस्थापनको नेतृत्व गरेका छन पूर्व काउन्सिलर जीव बेल्वासे लगायत समुदायका नेताहरूको पनि महत्वपूर्ण योगदान रहेको छ।
![ffbb3f9e-b034-4542-bed8-0ba830ea0656-(1)-1739018902.jpg](https://www.capitalnepal.com/uploads/posts/ffbb3f9e-b034-4542-bed8-0ba830ea0656-(1)-1739018902.jpg)
आर्थिक प्रभाव र भविष्यका योजना
गिरीका अनुसार, यो सपिङ मलले वार्षिक २.५ मिलियन पाउण्ड ग्रस आम्दानी गर्छ, जसमा १.२ मिलियन पाउण्ड नेट आम्दानी रहेको छ। अब, प्रपर्टी व्यवस्थापन, सुरक्षा, र सरसफाइका क्षेत्रमा नेपाली समुदायका लागि रोजगारी सिर्जना गर्ने योजना रहेको छ। ‘यो लगानीले नेपाली व्यवसायीहरूको पहिचान अझ मजबुत बनाउनेछ। अब स्थानीय काउन्सिलसँग सहकार्य गर्दै रिटेल ब्रान्डहरूसँग सहकार्य गरेर अघि बढ्नेछौं,’ गिरीले भने।