काठमाडौं। भारतको राजधानी प्रान्त दिल्लीमा गत बुधबार भएको विधानसभा निर्वाचनको मत गणना सुरु भएको छ। आजदेखि सुरु भएको मतगणनाको प्रारम्झिक रुझानमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले आम आदमी पार्टी (आप)लाई हराएर बहुमतको आँकड पार गरेको छ।
तीन करोडभन्दा बढी जनसंख्याको महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरबिन्द केजरीवालको आम आदमी पार्टी (आप) को शासन रहेको छ।
निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ। भाजपा अहिले ३८ सिटमा अगाडि छ भने आप २७ सिटमा अगाडि छ।
राष्ट्रिय राजधानीमा सरकार गठनका लागि बहुमतको सिट ३६ रहेको छ । आप प्रमुख केजरीवाल नयाँ दिल्ली सिटबाट पराजित भएका छन्।
ग्रेटर कैलाश सिटमा आम आदमी पार्टीका उम्मेदवार तथा दिल्लीका मन्त्री सौरभ भारद्वाज भाजपाकी शिखा रोयभन्दा ४५९ मतले पछि छन्। दिल्लीका मुख्यमन्त्री आतिशी कालकाजी सिटमा भाजपाका रमेश विधुरीलाई एक हजार १४९ मतले पछि पारेकी छन्।
आम आदमी पार्टीका अमानतुल्लाह खानको गढ मानिने ओखला सिटमा पनि भाजपा दुई हजार २६० मतको अन्तरले अगाडि छ।
दिल्लीका मन्त्री गोपाल राई बाबरपुर सिटबाट पाँच हजार ६०२ मतले अगाडि छन् भने बल्लीमारन सिटबाट इमरान हुसैन एक हजार ८२४ मतले अगाडि छन्।
कुर बस्ती सिटबाट सत्येन्द्र जैन भाजपाका कर्नेल सिंहसँग दुई हजार ९५६ मतले पछि छन्। भर्खरै बिजेपीमा सामेल भएका पूर्वआप नेता कैलाश गहलोतले बिजवासन सिटमा दुई हजार २१७ को सहज अग्रता हासिल गरेका छन्।
दिल्लीसँगै उत्तर प्रदेशको मिल्कीपुर र तमिलनाडुको इरोड सिटको उपचुनावको मतगणना पनि भइरहेको छ। ७० सदस्यीय विधानसभाका लागि फेब्रुअरी ५ गते भएको निर्वाचनमा कुल ६० दशमलव ५४ प्रतिशत मतदान भएको थियो।
आम आदमी पार्टीले लगातार तेस्रो कार्यकालको लागि जित्ने लक्ष्य राखेको छ, जबकि बिजेपीले राष्ट्रिय राजधानीमा दुई दशक बढी पछि सत्तामा फर्कने लगभग निश्चित छ।
बुधवार सार्वजनिक भएका अधिकांश एक्जिट पोलमा भाजपालाई आपभन्दा अगाडि देखाइएको थियो । यद्यपि, आप नेताहरूले एक्जिट पोलले ऐतिहासिक रूपमा पार्टीको प्रदर्शनलाई कम मूल्यांकन गरेको बताएका थिए।–एजेन्सी