काठमाडौं। उद्योगपति चौधरीले आफ्नो वैवाहिक वार्षिकोत्सव मिथिला थालीमा मनाएका छन्। वार्षिकोत्सव मनाउन शुक्रबार साँझ गैरीधारास्थित मिथिला थाली पुगेको चौधरी परिवारलाई मास्टर सेफ सन्तोष साहले विभिन्न परिकार बनाएर खुवाएका हुन्।
मास्टर सेफ सन्तोषले सामाजिक सञ्जालमा पोष्ट गर्दै चौधरीको वर्षगाँठ अवसरमा आफूले विभिन्न परिकार बनाएर खुवाएको जनाएका छन्। उनका अनुसार वर्षगाँठ मनाउन उद्योगपति चौधरीसँगै पत्नी सारिका, छोरा निर्वाण, बुहारी तथा नातिनातिना उपस्थित थिए।
वर्षगाँठ मनाउन चौधरी परिवार शुक्रबार साँझ करिब ७ः३० बजेतिर मिथिला थाली पुगेको थियो। मास्टर सेफ सहले उनीहरूलाई विभिन्न १० वटा शाकाहारी परिकार बनाएर खुवाए।
![binod-choudhari-mithila-thali-(1)-1738993026.jpg](https://www.capitalnepal.com/uploads/posts/binod-choudhari-mithila-thali-(1)-1738993026.jpg)
चौधरी परिवारका लागि साहले तीन प्रकारका वेलकम ड्रिंक्स, क्यानापिज कोर्स, एपिटाइजर, फ्रस्ट मेन्स, मेन कोर्स, प्रि–डिजर्ट र डिजर्ट बनाए। साहका अनुसार अधिकांश परिकार बनाउन नेपाली रैथाने उत्पादन प्रयोग गरिएको हो।
‘उद्योगपति चौधरीको वर्षगाँठ अवसरमा विभिन्न परिकार बनाएर खुवाउन पाउनु मेरा लागि सम्मानको क्षण हो,’ उनले भनेका छन्। साहले छोटो समयको सूचना र तयारीबीच विभिन्न परिकार बनाएर खुवाएको बताए। ‘उहाँहरू वार्षिकोत्सव मनाउन आउने भन्ने मलाई दिउँसो २ बजेतिर मात्र खबर भयो। सुरुमा के गर्ने भनेर म आफैं अन्योलमा परें। तर, करिब ३ घन्टाको तयारीपछि उहाँहरूलाई विभिन्न परिकार खुवाउन पाइयो’, साहले भने।
चौधरी परिवारको साथ र सहयोगले मौलिक संस्कृति र पाककलामार्फत नेपालको पहिचान प्रस्तुत गर्ने आफ्नो उत्साह थप बढेको मास्टर सेफ साह बताउँछन्।
त्यस अवसरमा चौधरीसँग नेपाली खाना र यसको विश्वव्यापी प्रवर्द्धनका विषयमा समेत कुरकानी भएको उनको भनाइ छ। ‘नेपाली मौलिक खानालाई आधुनिक प्रस्तुतीकरणमार्फत विश्वव्यापी बनाउन आवश्यक छ’, चौधरीलाई उद्धृत गर्दै मास्टर सेफ साहले भने।