काठमाडौं। महिला उद्यमीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर महिलालाई वित्तीय अधिकारको पहुँचभित्र लैजान सके मात्रै देशको विकास हुने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबारको भेटमा उनीहरूले देशमा आर्थिक क्रान्ति ल्याउन महिला उद्यमीको भूमिका महत्त्वपूर्ण हुने हुँदा वित्तीय पहुँच चाहिएको बताएका हुन्।
अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वको महिला उद्यमी महासंघ नेपालका पदाधिकारी र कार्यसमिति समिति सदस्यको प्रतिनिधिमण्डलले महिला संलग्न रहेको उद्योगलाई प्रोत्साहन गर्न, उद्यमीलाई दिँदै आएको सहुलियत निरन्तरता दिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए।
महिलाले मुलुकभर सञ्चालन गरेका उद्योगको अवस्था राम्रो रहेको र रोजगारी अवसर पनि प्रशस्तै रहेको जानकारी गराउँदै स्वरोजगार बन्न चाहने सबै महिलालाई आर्थिक पहुँच उपलब्ध गराउन ज्ञवालीको आग्रह थियो।
आन्तरिक उत्पादनलाई सहयोग गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै अध्यक्ष ज्ञवालीले महिला उद्यमीका लागि सरकारले दिँदै आएको सहुलियत ऋण र सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरिन्।
प्रधानमन्त्री ओलीले महिला उद्यमीका उत्पादनलाई प्रोत्साहन गर्न र उनीहरूलाई आर्थिक रूपमा सबल बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
महासंघले प्रधानमन्त्री ओलीलाई ललितपुरको सानेपामा आयोजना गर्न लागेको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको निम्तोसमेत दिएको छ। महासंघले स्वदेशी खाऔं, स्वदेशी लाऔं, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौं नारासहित आगामी चैत १४ देखि १८ गतेसम्म व्यापार मेला आयोजना गर्दै छ।