काठमाडौं। क्षेत्रीय पर्यटन प्रवर्द्धन र बहुपक्षीय सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्यले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) नेटवर्क अफ टुर अपरेटर्सको तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ।
बैठकले बिमस्टेक सदस्य मुलुकमा पर्यटक बढाउन र भ्रमण बढाएर बहुपक्षीय सहकार्यलाई बलियो बनाउने निष्कर्ष निकालेको हो।
दुई दिने बैठकमा बिमस्टेक सदस्य सातै मुलुकका टुर अपरेटर र केही देशका पर्यटन अधिकृत सहभागी थिए। बैठकले एकअर्का मुलुकबीच पर्यटनमा सहकार्य बढाउने उद्देश्यले बिमस्टेक टुरिजम मार्ट आयोजना गर्ने समझदारी बनेको छ।
यद्यपि, उक्त मार्ट कहिले र कुन देशले गर्ने भन्ने खुलाइएको छैन। त्यसैगरी बिमस्टेक मुलुकमा पर्यटकलाई सहज आउजाउका लागि प्रवेशाज्ञा (भिसा) फ्री गर्ने, मुद्रा सटहीलाई सहज बनाउनेबारे पनि बैठकले निष्कर्ष निकालेको छ।
बिमस्टेक मुलुकबीचको सहकार्यलाई फराकिलो बनाएर अन्तरदेशीय पयृटन प्रवर्द्धनका साथै आपसी हित र सहयोगलाई थप बलियो बनाउने सन्दर्भमा बैठक फलदायी भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए।
दुई दिनको बैठका तीन महत्वपूर्ण मुद्दामा उपलब्धिमूलक छलफल भयो। बौद्ध तथा क्रुज सर्किट सञ्चालन ढाँचालाई सहज बनाउने, भिसा र विदेशी मुद्रालाई सहज बनाउने र पर्यटक संख्या र भ्रमण बढाउन बिमस्टेक टुरिजम मार्ट गर्ने सकारात्मक समझदारी बनेको छ’, सीईओ जोशीले भने।
नेपाल पर्यटन बोर्डको सहजीकरण तथा समन्वयमा भएको बैठकमा बिमस्टेक सदस्य राष्ट्र नेपाल, भारत, भुटन, बङ्गलादेश, म्यानमार, श्रीलङ्का र थाइल्यान्डका पर्यटन सम्बन्धित निकाय तथा निजी क्षेत्रका सरोकारवालाको सहभागिता थियो। आगामी बिमस्टेक बैठकमा समुद्रदेखि हिमालसम्म (सिटु टु माउन्टेन) थिममा छलफल गर्ने सहमति भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह तथा बिमस्टेकका निर्देशक सी थु आङले संयुक्त रूपमा उद्घाटन गर्नुभएको बिमस्टेक टुर अपरेटर्सको बैठकमा दुबै दिन बोर्डका सिइओ जोशीले अध्यक्षता गरेका थिए।