काठमाडौं। भारत सरकारले शुक्रबार विश्वको सबैभन्दा ठूलो धार्मिक उत्सव महाकुम्भ मेलामा ४२ करोड बढी तीर्थयात्रीले स्नान गरेको बताएको छ। आयोजक अधिकारीले कृत्रिम बौद्धिकता (एआई) र निगरानी क्यामेरा प्रयोग गरेर गणना गरिएको जानकारी दिएका हुन्।
यद्यपि अमेरिका र क्यानाडाको जनसंख्याभन्दा बढी यो अचम्मको संख्याको स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव नहुने नाम नछाप्ने सर्तमा भारतीय अधिकारी बताउँछन्। यो १ अर्ब ४० करोड जनसंख्या भएको विश्वको सबैभन्दा धेरै जनसंख्याको राष्ट्रका लागि पनि आश्चर्यजनक तथ्यांक हो।
‘त्रिवेणी संगममा ४२ करोड बढी भक्तजनले डुबुल्की लगाए’, गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगमलाई उल्लेख गर्दै सरकारको प्रेस सूचना ब्युरोले भनेको छ।
उत्तरी सहर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजना हुने प्रार्थना र स्नानको ६ हप्ता लामो हिन्दू उत्सव कुम्भ मेला अझै दुई हप्ताभन्दा बढी समय बाँकी छ। यो जुन फेब्रुअरी २६ मा समाप्त हुँदै छ।
भारतमा धर्म र राजनीति गहिरो रूपमा जोडिएका छन्। आलोचकले यो उत्सवलाई हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको साख बढाउन प्रवर्द्धन गरिएको बताउँछन्। प्रधानमन्त्री मोदीले आफैं बुधबार पवित्र स्नान गरेका थिए।
मोदीका निकट सहयोगी एवं भारतीय जनता पार्टी (भाजपा) कै आक्रामक साधु योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री छन् भने उत्तर प्रदेशमै यो उत्सव भइरहेको छ ।
आयोजकले क्यामेराको नेटवर्क र माथिबाट उड्ने ड्रोनहरू प्रयोग गरिरहेको बताएका छन्। एआई प्रणालीले भक्तजनको संख्या गणना गर्न र भीड व्यवस्थापन गर्न डाटा प्रशोधन गरिरहेका छन्।
तर, त्यसले जनवरी २९ मा भएको घातक भागदौडलाई रोक्न सकेन। उक्त भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भयो र ९० अन्य घाइते भए। मृत्युले आदित्यनाथ र उनको सरकारको कार्यक्रम उत्कृष्ट व्यवस्थापनको दाबीमाथि धब्बा लगायो।
घटनास्थलको ग्राफिक टेलिभिजन फुटेजका बावजुद अधिकारीले घन्टौँसम्म कोही पनि गम्भीर रूपमा घाइते नभएको जिकिर गरे। यो उत्सव अमृतको कलश नियन्त्रणका लागि देवता र दानवहरूबीचको युद्धसम्बन्धी हिन्दू पौराणिक कथामा आधारित छ।
तीर्थयात्रु पवित्र स्नानले मोक्ष प्राप्त गर्न मद्दत गर्ने विश्वास गर्छन्।–एजेन्सी