काठमाडौं । उद्यमशील युवाले नेपालमै भविष्य खोज्नुपर्ने बताएका छन्।
शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा अवसरमा नेपालमा व्यावसायिक सफलता हासिल गरिरहेका द क्लिप्स बन्जिजम्प व्यवसायी राजु कार्की, माउन्टेन हिस्टारिट्रिक नगरकोटका अध्यक्ष होटल तथा पर्यटन व्यवसायी अर्जुनसिंह ठकुरी र फ्रेन्चाइज क्यू एफएक्स सिनेमाकी प्रबन्धक तृप्ति गिरीले उक्त कुरा बताएका हुन्।
ठकुरीले आफूसँग भएको चीजको सदुपयोग गर्दै उद्यमशीलतालाई अगाडि बढाउनुपर्ने बताए। आफूले १२ रुपैयाँबाट होटल व्यवसायमा लगानी गरेकोमा अहिले ५० करोडभन्दा माथिको लगानी पुगाएको बताए।
उनले नेपालमा व्यवसाय गर्दाका हजारौं समस्या भए पनि त्यसको सामना गर्नुको विकल्प नरहेको धारणा राखे। नेपालमा देशभन्दा व्यक्ति/व्यक्तिका समस्या धेरै रहेको उनको भनाइ छ। ‘नेपालमा व्यावसायिक वातावरण छैन। यस्तो अवस्थामा आफूले पनि सहजता बनाउनुपर्छ,’ उनले भने।
यस्तै गिरीले आफूले १० वर्ष विदेशमा बसे पनि अन्तिममा उद्यमशीलताका लागि नेपाल रोजेको बताइन्। आफूले आइटीमा १० वर्ष हङकङ र आठ वर्ष अमेरिका बसेर काम गरेकोमा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएको उनले बताइन्।
‘नेपालमा रिसर्चमा धेरै सम्भावना छैन। किन फर्किएको भनेर सोध्नेहरूको ठूलो जमात छ। नेपाल छोडेर विदेश केका लागि जाने भनेर सोच्नुपर्छ। त्यहाँ के अवसर छ भनेर विचार गर्नुपर्छ’, उनले भनिन्।
गिरीले युवाले उद्यम गर्न सक्नुपर्ने बताएइन। उद्यम गर्न नसके जागिर खान नसकिने उनको भनाइ छ। केही छैन भन्दैमा निरास नहुन उनको सुझाव छ।
कार्कीले स्पष्ट योजनाका साथ काम गर्दा सहजै सफलता हासिल गर्न सकिने धारणा राखे।
‘नेपालमा अरुको सिको गर्ने चलन छ। कुनै एक व्यवसाय सफल हुँदा त्यसैको पछि लाग्छौं। यसले सफल भइँदैन। नयाँ भिजनका साथ काम गर्दा नेपालमा धेरै अवसर छ’, उनले भने।
गन्तव्यमा पुग्न केही न केही सीपमा अब्बल हुनुपर्ने धारणासमेत उनले राखे। त्यसैले कुनै न कुनै सीपमा अब्बल हुन उनको सुझाव छ।